प्रतिगमनका मतियारहरुप्रति सतर्क रहनु समयको माग हो : उपेन्द्र यादव

काठमाडौं । महन्थ ठाकुरको चार पृष्ठको अपिल सार्वजनिक भएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी शक्तिहरु जसपाविरुद्ध ‘फुटाऊ र राज गर’ नीति अन्तर्गत सक्रिय भएको बताएका छन्। यद्यपि, उनको विज्ञप्तिमा प्रत्यक्ष रुपमा कसैलाई लक्षित गरिएको छैन।

‘अग्रगमन नचाहने, प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरु षड्यन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी, नेपालविरुद्ध लाग्दै ‘फुटाऊ र राज गर’ नीति अनुरुप सक्रिय छन्’, यादवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता शक्ति चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवम् षड्यन्त्रकारी व्यक्तिहरु र प्रवृतिहरुप्रति सतर्क र सचेत रहनु समयको माग हो।’

उनले विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुभन्दा कुनै कारणले पार्टीबाट अगल हुन पुगेका वा अन्यत्र अलमलमा परेकाहरुलाई कतै अलमलमा नपरी जसपामै फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्न अपिल गरेका छन्।

बुधबार राति एक अपिल सार्वजनिक गरेका थिए। जहाँ उनले पार्टी एकतायताको गतिविधिको संक्षिप्त चर्चा गरेका थिए। ‘मधेसी, आदिबासी जनजाति, थारु, शिल्पी, महिला, मुस्लिम, पिछडावर्ग, उत्तपीडित खस, अल्पसंख्यक लगायत अन्य पिछडीएको क्षेत्रको जनताको अधिकार प्राप्तिको सवालमा एकल जातीय राज्यको समाप्ती तथा बहुल राष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति आन्दोलनको अपरिहार्यता महसुस गर्दै हामी हरेक मोर्चामा संघर्ष गर्न तयार छौं। त्यसप्रति हाम्रो प्रतिबद्धता, हाम्रो निष्ठा र अर्जुनदृष्टिमा कुनै विचलन आएको छैन। संघर्षप्रति हाम्रो संकल्प पनि यथावत नै छ। यसको निम्ति दृढ इच्छा शक्ति, सक्षम नेतृत्वको समूह, निष्ठावान कार्यकर्ताको ठूलो जमात र नीति कार्यक्रम जीवन्त रुपमा विद्यमान छ’, उनको अपिलमा भनिएको छ।

प्रतिक्रिया