प्रदीप गिरीको कम्युनिस्ट विरोधी गिदी

प्राडा बद्रीविशाल पोखरेल

विराटनगरस्थित भारतीय सैन्य क्याम्प ओलीको कूटनीतिक क्षमताका आधारमा हटाउँदा प्रदीप गिरीको टाउको द्ुःखेको हो ? नेपालको संविधान जारी नगर्न एस जयशंकरमार्फत् भारतीय सरकारको प्रचण्ड दबाबलाई अटेर गरेर संविधान जारी नभएको भए नेपाली नेताको र देशको के अवस्था अहिले कस्तो हुन्थ्यो ? गिरीको गिदीले अलिकति पनि सोच्न सक्छ ?

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले केही दिनअघि ऋषि धमलासितको एक वार्ताका क्रममा कम्युनिस्ट पार्टीको स्थापना नै कांग्रेसको विरोध गर्नका लागि हो भने । राजनीति सुरु गर्दा ताका कांग्रेस पार्टीमा आवद्ध भएका पुष्पलाल नेका नेताहरूको चरम हैकमवादी र हेपाहा बेहोराबाट वाक्क दिक्क भएर कम्युनिस्ट विचारतिर उन्मुख हुनुभएको थाहा हुन्छ । त्यसैगरी पुष्पलाल नेकाजस्तो नेताप्रधान पार्टी परित्याग गरी नीतिप्रधान पार्टी कम्युनिस्ट पार्टीको स्थापना गर्न लाग्नुभएको हो स्पष्ट हुन्छ तर नेका पार्टीलाई सत्तोसराप गर्न कम्युनिस्ट पार्टी खोलेको होइन भन्ने कुरा गिरीले सदा सम्झिनुपर्छ ।

कम्युनिस्ट पार्टीहरूसित, कुनै सिद्धान्त विचार नै छैन भनेर फलाको गर्ने गिरी जनताको बहुदलीय जनवादलाई वाइह्यात भनेर बौद्धिक दरिद्रता प्रदर्शन गर्दै थिए । यतिसम्म गिरेर कुनै एमाले वा कम्युनिस्टले नेकाको विरोध गरेको यस लेखकले सुनेको छैन । १३ जना मानिसलाई जिउँदै इँटाभट्टाको चिम्नीमा जलाउने आफताभ आलमलाई सच्चा, सही र मानवतावादी कांग्रेस मान्ने गिरीले नेकाजस्तै एमाले पार्टी नभएकामा एमालेको उग्र र अराजक रूपमा विरोध गरेको हो भने केही भन्नु छैन ।

राष्ट्रपति विद्या भण्डारीलाई समेत पार्टी आवद्धताको पृष्ठभूमिलाई उधिनेर कम्युनिस्ट भएर महँगा, गाडी, घोडा चढ्ने र सुखसयलमा रमाउनेजस्ता तुच्छ टिप्पणी गिरी गर्दै थिए । यसरी टिप्पणी नै गर्ने हो भने पूर्वराष्ट्रपतिका कैयौँ कमजोर विषय छन् तर गणतन्त्रमा लागेर प्राप्त उपलब्धिप्रति चरम वितृष्णा जगाउने काम बुद्धि भएका जीवले नगर्लान् । एमालेलगायत कम्युनिस्टलाई भारतको विरोध मात्र गर्न जन्मिएका भन्ने गिरीको अति सामान्य ज्ञान पनि कमजोर भएको देख्दा दया लाग्यो । के नेका पार्टी अध्यक्ष देउवा वा गिरी आफैँ सहितका कांग्रेसी नेतालेझैँ ओलीले भारत प्रायोजित अत्यन्त अमानवीय नाकाबन्दीलाई नाकाबन्दी भन्नु हुँदैन थियो ?

देउवाले झैँ ओलीले मोदीका सामु लम्पसार परेर हात जोड्दै हजुरहरूले भनेझैँ संविधान संशोधन गर्छु भन्नुपथ्र्यो ? वर्षौंदेखि म बनाउँछु र मै बनाउँछु भन्दै हुलाकी राजमार्ग नबनाई अलपत्र पार्ने भारतीय सरकारलाई हटाएर आफैँ बनाउन थालेर हिजोका दिन सम्ममा ८० प्रतिशत सडक निर्माण गर्नु ओलीको अपराध हो ? विराटनगरस्थित भारतीय सैन्य क्याम्प ओलीको कूटनीतिक क्षमताका आधारमा हटाउँदा प्रदीप गिरीको टाउको दुःखेको हो ? नेपालको संविधान जारी नगर्न एस जयशंकरमार्फत् भारतीय सरकारको प्रचण्ड दबाबलाई अटेर गरेर संविधान जारी नभएको भए नेपाली नेताको र देशको के अवस्था अहिले कस्तो हुन्थ्यो ? गिरीको गिदीले अलिकति पनि सोच्न सक्छ ? १ सय ४० वटा तुइनमध्ये १ सय २५ तुइन विस्थापित भए तर भारतीय शाषक र कतिपय प्राविधिक कारणबाट केही तुइन विस्थापित हुन नसकेको जटिल अवस्थालाई अनदेखा गरेर एकाध तुइन देखाएर फेक मिडियाबाजीमा रमाउन गिरीलाई सुहाउँछ ?

सुप्रसिद्ध, देशभक्त लेखक तथा विश्लेषक सौरभले यिनै गिरी र डा. सुन्दरमणि दीक्षित, प्रा.कृष्ण खनाल, श्याम श्रेष्ठजस्ता अत्यन्त कमजोर बौद्धिकमाथि व्यंग्य गर्नुभएको थियो । सौरभका अनुसार नेपालमा कुनै दूरदर्शी दृष्टिकोण भएका बुद्धिजीवीहरू नै छैनन् उनका अनुसार नेपालमा ९९ दशमलव ९५ प्रतिशत बुद्धिजीवी बुद्धिहीन छन् ।

राजनीति भनेको काम लिने कला हो भन्दै ‘काम स¥यो भाँडो, आफल तेरो ठाँडो’ भनेझैँ प्रदीप गिरी नेपाल र दाहालको खुब तारिफ गर्दै थिए । आफ्नै घरमा आगो सल्काएर खरानीमा रमाई नेकाको पुच्छर भएका देशद्रोही माधवकुमार नेपालको आरती उतार्ने गिरीको नेपालबारेको भोलिको बोली यस लेखकलाई राम्ररी थाहा छ । छँदाखाँदाको सुन्दर र सुखी घरबार बिगारेर पोइल वा जोइल गएको जोइ वा पोइलाई कसले कतिदिन पत्याउँला र ? यसको मतलव नेपाललाई सकेसम्म फकाइ फुल्याई उपयोग गर्ने र आखिरमा गलहत्याउने स्पष्ट विचार गिरीले राख्तै थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई छियाछिया पारेको भन्ने गिरी जनादेश विपरीत राष्ट्रपतिको एउटा मात्र सही सत्य तथ्यका आधारमा गरिने स्वविवेकीय अधिकारलाई समेत अदालतले अमर्यादित रूपमा ठाडो हस्तक्षेपसहित चुनौती दिने निर्दलीय चरित्रको फैसलालाई गिरी सही छाप लगाउँदै थिए । संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले भनेझैँ नेका पार्टी लगायतलाई ह्विप लाग्ने तर एमालेलाई ह्विप नलाग्ने जस्तो गोरु ब्याउने फैसलाको कन्दनी कसेर प्रदीप गिरी समर्थन गर्दै थिए तर भोलि त्यो कन्दनी खुस्केपछि गिरी के भन्लान् ? हेर्नुछ एक माघले जाडो जाँदैन ।

अदालतको परमादेशबाट निर्मित टिके प्रधानमन्त्रीको समर्थनमा गिरी सम्पूर्ण शक्ति लगाउँदै थिए । सौरभकै भनाइअनुसार यो संसारमा अहिले र पछि पनि कसैले कहिल्यै पनि गर्न नसक्ने उत्तर छिमेकी चीनसित ओली सरकारले पारवहन तथा वाणिज्य सन्धी गरेको बताउनुभएको छ ।
यत्ति कुरा त अध्ययनशील भनिएका गिरीले सुनेकै हुनुपर्ने हो । गिरी राष्ट्रपति भण्डारीलाई समेत बारबार लाञ्छित गर्न मजा मान्दा रहेछन् । उनले अन्तर्वार्ताका क्रममा राष्ट्रपतिले देउवाको आफू प्रधानमन्त्री बन्ने विश्वसनीय आधार भनेर प्रस्तुत प्रतिनिधिसभाका सदस्यहरूको दोहोरो नामनामेसी र सही भएको जाली कागजलाई स्वीकृत नगरेकामा चरम असन्तुष्टि व्यक्त गरेको देखियो । ओली र देउवा द्ुवैका दोहोरो दावीमा दोहोरो नामदेखेपछि राष्ट्रपतिको स्वविवेकले दुवै दावी बदर गरेको स्पष्ट हुन्छ । अझ ओलीले देउवाले भन्दा पहिले प्रस्तुत गरेको दाबी सही हुनुपथ्र्यो र त्यसैका आधारमा प्रधानमन्त्री चयन गर्नुपथ्र्यो । यो कुरा कुनै एमालेजन पनि बोल्दैनन् । यो चाहिँ अचम्म देखिन्छ ।

संवैधानिक प्रक्रियाअन्ुसार ओलीले काम गर्दा मेरो नागरिक अधिकार खोस्न सक्नुहुन्छ, भनेर पाखुरा सुर्कने गिरीउपर दया मात्र गर्न सकिन्छ । कहाँको कुरा कहाँ लगेर जोडेको छ र सामान्य कर्यकर्तालाई उत्तेजित र अराजक बनाउने काम गिरी जत्तिको नेतालाई सुहाउँछ ? तर सुहाउँदो रहेछ । विजय गच्छदार र खुमबहादुर खड्काप्रति गौरव बोध गर्ने गिरीले विरोधी पार्टी र त्यसमा पनि कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीलाई गाली गर्नु त उनको धर्मै भयो ।

कसैको टोक्ने धर्म हुन्छ कसैको आफैँलाई टोक्नेलाई बचाउने धर्म हुन्छ । गिरी आफ्नो पार्टीले पाएको मतलाई बहुमत वा लोकतन्त्रभन्दा रहेछन् तर एमालेले पाएको बहुमतचाहिँ लोकतन्त्र होइन दलतन्त्र, संख्यातन्त्र भनेर मिडियाबाजी गर्न रुचाउँदा रहेछन् । गिरीको पार्टी वा दलचाहिँ दलीय एमालेको पार्टीचाहिँ दलतन्त्र भन्ने गिरीजस्ता भाष्यकार भएपछि कांग्रेस उँधो लाग्न बेर लाग्दैन । संविधानको मर्म र भावना विपरीत भए पनि नितान्त पार्टीगत स्वार्थअनुसार फैसला गर्ने सर्वोच्च अदालतलाई र यस्ता पुनित कार्यमा अपूर्व सहयोगी नेपाल र दाहाललाई धन्यवाद दिने गिरीलाई आगामी संगीन सन्निकट अवस्थाको बोध हुनुपर्ने हो । लोकतन्त्र भनेको बहुमतको शासन होइन भन्ने गिरीसित अब तर्कले काम गर्दैन । प्रदेशलाई प्रहरी अधिकार दिन हतारिने गिरीको चाहना के हो ? कहिले नेपाललाई भारतले लिइदिए हुन्छ भन्ने, कहिले सकेको दिन भारतले नेपाललाई सिक्किम बनाइदिन्छ भन्ने गिरी नेपाली हुन् कि भारतीय ? उनी आफैँ बोलून् र मुख खोलून् ।

ओलीले केही गरेनन् भन्ने गिरीले धरहरातिर हेर्दै नहेर्नु र नचढ्नू, रानीपोखरीतिर नजर नलागाउनू, मेलम्चीको पानी नपिउनु, तुइन विस्थापित गरेर बनाइएको पुल ओहोरदोहोर नगर्नु र अब बिजुलीबाट खाना नाना सबैथोक हुनेवाला छ त्यो पनि नगर्नु, अनि सदा घुर तापेर र धुनी जगाएरै बस्नु् र बाचुन्जेल ओलीलाई सरापिरहनु । एमालेलाई यस्तै विरोधी हुँदा पनि बेफाइदा छैन । तर, अलि लुर, बल र तागत भएको पार्टी भए प्रतिस्पर्धा गर्न मजा आउँछ । लड्नै परेपछि लुराल्याङ्ग्रा पार्टीसित के लड्नु ?

पूर्व पाँच वा पञ्च प्रधानमन्त्रीहरू त एक्लो ओलीसित भिड्दा लखतरान परे । चुच्चे नक्सालाई नक्सास्त्र भन्ने गिरीलाई नेकाका देशभक्त युवा नेता डा.चन्द्र भण्डारी र एनपी साउदले राम्ररी पढाउनुपर्ने देखियो । भण्डारीले नेका र एमाले दुवै पार्टीमा भारतीय राजदूतावासबाट महँगो भत्ता खाएर नेपाल विरुद्ध लागिपर्ने धेरै नेता छन् भनेका थिए । अब यसको राम्ररी खोजी गर्ने दिन आयो ।

गिरी नेका पार्टीलाई सच्याउने र सुधार्ने भन्दा विकृति र विसंगतिको खाडलमा हाल्न उद्यत देखिन्छन् । पार्टीका तमाम विकृतिलाई स्वीकार र सलाम गरेपछि पार्टी पार्टी रहँदैन । नेकाको पार्टी विधानमा नीतिभन्दा नेतृत्व हावी र प्रभावी भएको देखिन्छ । विधानको प्रस्तावनामा पार्टीको नीतिगत कुरा एक थोपो पनि पाइन्न । त्यहाँ त बिपी कोइरालादेखि हालका देउवा सम्मका सबै पार्टी अध्यक्षहरूको स्तुति प्रशंसा र आरती उतारेको देखिन्छ । गिरीले लोकतन्त्रको पाठ एमालेसित पढ्नुपर्छ लोकप्रिय सरकार कसरी चलाउनुपर्छ त्यो पनि एमालेबाट नै सिक्नुपर्छ । एमालेको विगत नौ महिने अल्पमतको सरकार र निकट विगतको ओली सरकारको लोकप्रिय सरकारबाट सरकार कसरी सञ्चालन गर्नुपर्दो रहेछ भनेर राम्ररी अध्ययन गरे हुन्छ ।

तथापि कम्युनिस्टहरू र अझ एमाले नेकाको नीति सिद्धान्तप्रति कुनै दुराग्रह नराखी तथ्यपरक आलोचना गर्दछ तर पाँडे गाली कहिल्यै गर्दैन । गिरीचाहिँ एमाले ओली र जबजचाहिँ केही नै होइन र वाइह्यात हो भन्ने दुस्साहस कसरी पलायो । २२औँ शदीमा पनि यस एमालेजस्तो लोकतान्त्रिक पार्टीप्रति अत्यन्त निषेधात्मक खालको विचार राख्ने गिरी मौका परे कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने सम्मको षड्यन्त्रमा लाग्दैनन् भन्न सकिन्छ ? आफूलाई लोकतान्त्रवादी भन्ने गिरीलाई उपर्युक्त अत्यन्त अलोकतान्त्रिक विचार व्यक्त गर्न सुहाउने कुरा हो ?
नेका पार्टीले ओली जत्तिको नेता पाएको भए अत्यन्त सम्मानपूर्वक पार्टीमा विराजमान गराउने थिए र त्यसमा गौरव बोध गर्ने थिए । आफूले बोलेको आफैँ नबुझ्ने र बोल्दा पनि ऊ गरेर ऊ ग¥यो भन्ने र बोल्दा ठसठस कन्ने नेतालाई नेका पार्टीले देवत्वकरण गर्नुपर्ने टीठलाग्दो अवस्था हो ।

दक्षिण एसियामा नै ओली जत्तिको नेता आजका दिनमा कोही पनि छैन तर आफूलाई कम्युनिस्ट भन्नेहरू नै अतिसामान्य वर्ग चरित्र विपरीत एमाले जबज, मदन र ओलीलाई शत्रु झैँ कटाक्ष गर्छन् । व्यक्ति र पार्टीका मित्रहरूले खराबीको आलोचना गर्छन् र तिनलाई सच्याउने भरमग्दुर प्रयत्न गर्छन् तर गिरीहरू नेका पार्टीका गम्भीर कमजोरीलाई लुकाएर पार्टी समाप्त पार्ने दाउमा देखिन्छन् । अक्सर सत्य नबोल्नेहरू नै असत्यका पक्षपोषक हुन्छन् । विदेशी दातृ संस्थाहरू माटोका भाउमा बेच्ने नेका नेता महान् ? गिरिजा कोइरालाको सरकारका पालामा जनताले एक थोपो पनि राहत, सेवा र सहुलियत नपाएको अवस्थामा ओली सरकारका यतिका उपलब्धि प्रत्यक्ष देखेर गिरी आत्तिएको स्पष्ट हुन्छ ।
के गिरिजा, देउवा वा भट्टराईले प्रधानमन्त्री हुँदा तुहिनबाट ज्यान जोखिममा पारेर ओहोरदोहोर गर्ने दूरदराजका जनताको पीडा देखेका थिएनन् ? जनताको दुःख देख्ने र समाधान गर्ने जनताको सरकारले मात्र यस्ता दुःखदर्द देख्ने हो र ओली सरकाले देखेको हो यस्ता समस्या ।
सरकारमा टास्सिन र लेपास्सिन उधुम रहर गर्ने तर देश र जनताको उत्थानमा भिजन, मिसन र क्रिएसन केही नहुने समस्याका बारेमा गिरी भलिभाँती जानकार छन् ।

गिरीले आजका मितिसम्म एउटा जाबो मन्त्रालय कामकाजी रूपमा सम्हाल्ने सुर देखाउन सकेको देखिएको छैन । संस्कृतको एक सूक्तिअनु्सार पण्डितको पण्डित्याइँ अरूलाई उपदेश दिन मात्र काम लाग्छ भनेझैँ अवस्था गिरीको देखिन्छ । ओलीलाई मात्र गाली गरेर नेका पार्टी सप्रिन्छ भन्ने मति गिरीको हो भने हामीलाई केही भन्नु छैन । गिरीले नेकाको अत्यन्त दुराग्रही दुच्छर कित्तामा उभिएर एमालेसित बहस गर्न खोजेको भने हामी वा विशेष गरेर म एमाले कित्तामा उभिएर तर्कपूर्ण रूपमा बोल्छु र लेख्छु । तर, यो लेखक कालो कांग्रेस र एमाले भएर किमार्थ बोल्ने लेख्ने गर्दैन । एमालेकै पनि छट्टु स्यालहरूका विरुद्ध यो लेखक हर्दम उभिन्छ । र तिनलाई सच्याउने गरी मुख र कलम चलाउँछ र पार्टीलाई भट्टीमा गालेर र पगालेर अकबरी सुन बनाउन सदा उद्यत रहन्छ । यस्तै इमान, जमान र कमाण्ड भएका एमाले, नेका, कम्युनिस्ट छन् भेटिन्छन् पाइन्छन् भने हातेमालो गर्दै देशको महँगो नुन वा पेन्सनपट्टा खाएको यो लेखक देश र जनताको हितका लागि केही गर्ने अठोट लिएको छ ।

बहुदलीय प्रणालीमा नेका एउटा मात्र एमालेसित सबै हिसाबले जुध्न, भिडन, प्रतिस्पर्धा गर्न लायक र सुहाउने सबल पार्टी बनोस् भन्ने एमाले चाहन्छ । तत्कालीन कृषि मन्त्री झलनाथ खनाल बहिर्गमन गरेपछि नेका नेतृ शैलजा आचार्यले कृषि मन्त्रलायको जिम्मेवारी सम्हाल्दा कम्युनिस्ट बसेको कुर्सी भनेर कुर्सीमाथि आक्रोस पोखेको जस्तै कम्युनिस्टप्रति अत्यन्त असहिष्णु हुने समय हो र गिरीजी । यतिका वर्षको राजनीतिक सहकार्यबाट गिरीले सिकेको गति र मति यही हो त ? गिरीको वार्ता आफैँमा परस्पर विवादित रहेको देखिन्छ । गिरीले भनेझैँ क्रूरतम रूपमा जन हत्याहिंंसाबाट गिरिजाले प्रचण्डलाई सुधारेको भनेकामा उनै प्रचण्ड बोल्लान् तर एमाले वा जननेता मदन भण्डारीलाई गिरिजाले लोकतान्त्रिक धारमा ल्याएको उडुवा कुरा फेरि पनि गरे भने त्यसको जवाफ गिरीले थाम्नै र थेग्नै नसक्ने गरी यस लेखकबाट पाउनेछन् यो चेतावनी र चुनौती दुबै हो ।

सच्चा एमालेहरू पार्टीका नाममा भएभरका ¥याल सिँगान र सोत्तरलाई हरहर बास्ना भन्दै सिरमा शिरोपर गर्दै हिँड्दैनन् । इतिहास, दर्शन, ज्ञान, विज्ञान र राजनीतिक विषयका देश विदेशका तमाम पात्र, प्रवृत्ति, घटना र परघटनाहरू कण्ठाग्र भन्नु मात्र बौद्धिक र वैचारिक हुनु होइन । ती घटना, पात्र र प्रवृत्तिबाट के सिकियो भन्ने र त्यसअनुसार परिचालित हुनुचाहिँ बौद्धिकता हो । वेद बुझेर र नबुझी पढ्ने दुई थरि हुन्छन् । गोपी कृष्ण कहु त जसले पनि भन्न सक्छ । खुब पढेका भनी देश र विदेशमा पनि नाम कहलिएका प्रदीप गिरीको बौद्धिकता प्रतिनिधि सभाको बहसका क्रममा प्रधानमन्त्री ओलीको एक जवाफमा कायल र घायल भएको त गिरीकै मुखारविन्दबाट सुनियो । आजको सन्दर्भमा गठबन्धन ठीक भन्दै जनादेश विपरीत परामादेशमार्फत् बनेको टिके, कन्फर्टेबल अर्थात् भारतीय शाषक अनुकूलको सरकार बनेकामा गिरी असाध्य खुसी देखिन्थे । यस्ता खु्सी र हाँसो समय क्रममा रुन्चे हाँसोमा बदलिन्छन् । देश त मानवको जुनी र जिन्दगीभन्दा निक्कै लामो र दीर्घतम आयुको हुन्छ ।

प्रतिक्रिया