वेस्टइन्डिजमाथि पाकिस्तानको जित

कराँची । कप्तान बाबर आजमको अर्धशतक र मोहम्मद हफिजको कसिलो बलिङको सहयोगमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ रनले पराजित गरेको छ । योसँगै चार टि२० आई खेलको सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण नजिता विहिन बनेको थियो । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । वेस्टइन्डिजका विकेटकिपर तथा उपकप्तान निकोलस पुरनले ३३ बलमा ४ चौका र ६ छक्का सहित सर्वाधिक ६२ रनको अविजित उत्कृष्ट इनिङ खेलेपनि जितको लागि पर्याप्त भने हुन सकेन ।

वेस्टइन्डिजलाई अन्तिम ओभरमा जितको लागि २० रन आवश्यक परेको थियो । पहिलो बलमा शाहिन अफ्रिदीले काइरन पोलार्डलाई दुई रन दिएपनि दोस्रो बलमा मोहम्मद वासिम जुनियरबाट १३ रनमा क्याच आउट गराएका थिए । तेस्रो र चौथो बलमा पुरनले कुनै रन नजोड्दा पाकिस्तानको जित पक्का बनेको थियो । पूरनले पाँचौ बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन । स्पिनर मोहम्मद हफिजले पहिलो ओभरको दोस्रो बलमा ओपनर आन्द्रे फ्लेचरलाई शून्यमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा हसन अलीले क्रिस गेललाई १६ रनमा बोल्ड आउट गरे । गेलले २० बलमा १ छक्का प्रहार गरे । तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरले शिम्रन हेटमायरलाई १७ रनमा बोल्ड आउट गरेका थिए । हेटमायरले १८ बलमा १ चौका प्रहार गरे । ओपनर ईभिन लुइस ३३ बलमा २ चौका र २ छक्का सहित ३५ रनमा रिटायर्ट आउट भएका थिए ।

पाकिस्तानका मोहम्मद हफिजले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिए । हफिजले १९ बल डट राखेका थिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हसन अली र मोहम्मद वासिम जुनियरले एक एक विकेट लिए । त्यसअघि प्रोविडेन्स स्टेडियम, गुयानामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५७ रन बनाएको थियो । एक समय १६ ओभरमा १३४–२ को बलियो अवस्थामा रहेको पाकिस्तानले अन्तिम २४ बलमा २३ रन जोड्दै ६ विकेट गुमाएपछि मध्यम योगफलमै समेटिएको थियो । वर्षाको कारण १६ औं ओभरपछि केहि समय खेल रोकिएको थियो । त्यसपछि वेस्टइन्डिजले उत्कृष्ट पूनरागमन गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । पाकिस्तानलाई ओपनर शर्जिल खान र मोहम्मद हफिजले ४.४ ओभरमा ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । जेसन होल्डरको बलमा शर्जिल मिडअनमा अकिल हुसैनबाट २० रनमा क्याच आउट हुन पुगे । शर्जिले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । रिजवान १५ औं ओभरको दोस्रो बलमा ४६ रनमा रन आउट हुन पुगे । दुई रन लिनेक्रममा नन स्ट्राइकरेटको स्टम्प ईविन लेविसले मिडअनबाट डाइरेक्ट स्टम्प ताकेपछि रिजवान अर्धशतक बनाउन चुकेका थिए । रिजवानले ३६ बलमा समान २ चौका र २ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि बाबर र रिजवानले ५८ बलमा ६७ रनको साझेदारी गरेका थिए । होल्डरको बलमा बाबर एज लागेर विकेटकिपर निकोलस पुरनबाट समातिन पुगेका थिए । वेस्टइन्डिजले रिभ्यु लिदै पाकिस्तान कप्तानलाई पेभिलिएन फर्काएको थियो । ड्वने ब्राभोको १८ औं ओभरको अन्तिम दुई बलमा मोहम्मद हफिज ६ र फखर जमान १५ रनमा हेडेन वाल्श जुनियरबाट क्याच आउट हुन पुगेका थिए । होल्डरको १९ औं ओभरको चौथो बलमा हसन अली शून्य र पाँचौ बलमा सहिब मकसुद ५ रनमा क्याच आउट भएका थिए । मध्यगतिका बलर जेसन होल्डरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । तेस्रो खेल आइतबार राती हुने छ ।

प्रतिक्रिया