गफ मात्रै बने, ‘तुइनमुक्त’ मुलुक

चमिना भट्टराई

हुन त पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारको प्रगति विवरण सुनाउँदा नेपालमा तुइनलाई विस्थापित गरेको फेहरिस्त सधैं सुनाउथे । उनले भने झैँ नेपालमा तुइनको विस्थापन भएको भए सायद महाकालीमा एक युवा बेपत्ता हुनुपर्ने थिएन र उनको परिवारले एक अभिभावक गुमाउनु पर्थेन । शुक्रबारको घटनाले पूवप्रधानमन्त्री ओलीले भने झैँ नेपाल ‘तुइनमुक्त’ छैन तुइनकै कारण मान्छेले अनाहकमा ज्यान गुमाउँदै छन् । चार वर्ष लगातार तुइन विस्थापनको गफ दिए उनले तर, भने झैँ काम भने गरिएन ।

शुक्रबार बिहान दार्चुलाको व्यासबाट भारतको उत्तराखण्ड पिथौरागढ जाने क्रममा व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी तुइनसँगै खसेर ज्यान गुमाएका छन् । उनी तुइनबाट महाकाली नदिनमा खस्नु स्वभाविक दुर्घटना नभएर भारतीय एसएसबीले तुइनको तार काटिदिएका कारण भएको भनिएको छ । यदि त्यसो हो भने यो घटनालाई सामान्य रूपमा लिन सकिँदैन । एक छिमेकी सुरक्षा निकायले अर्को मुलुकको सामान्य नागरिकलाई गरिएको जघन्य हत्या हो यो ।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान भइरहे जनाएको छ । तर, घटनाको विवरण कस्तो आउँछ भन्न सकिन्न । नेपालको दुर्गमका जनता अहिले पनि विवश रूपमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अत्यन्तै डरलाग्दो यात्रामा गन्तव्य पुग्ने भर हुँदैन र पनि तुइनको यात्रा उनीहरूका लागि बाध्यता हो । स्थानीयका अनुसार शुक्रबारको घटना दुर्घटनाभन्दा सुनियोजित रूपमा घटनाइएको घटना हो । तुइनमा मान्छे भएको थाहा पाउँदापाउँदै डोरी काट्नु भनेको जानीजानी महाकालीमा बगाउनु हो । यसमा सरकारले नागरिकको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । सरकार जिम्मेवारी भएर यसबारेमा भारतसँग कुरा गर्नुपर्छ ।

हुन त पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारको प्रगति विवरण सुनाउँदा नेपालमा तुइनलाई विस्थापित गरेको फेहरिस्त सधँै सुनाउँथे । उनले भने झैँ नेपालमा तुइनको विस्थापन भएको भए सायद महाकालीमा एक युवा बेपत्ता हुनुपर्ने थिएन र उनको परिवारले एक अभिभावक गुमाउनु पर्थेन । शुक्रबारको घटनाले पूर्वप्रधानमन्त्री ओलीले भने झैँ नेपाल ‘तुइनमुक्त’ छैन तुइनकै कारण मान्छेले अनाहकमा ज्यान गुमाउँदै छन् । चार वर्ष लगातार तुइन विस्थापनको गफ दिए उनले तर, भने झैँ काम भने गरिएन । समृद्धिको गफ दिएर मान्छे भुलाउने उनको स्वभावले तुइन विस्थापन हुन सकेन । शुक्रबार दार्चुलामा तुइनबाट नदीमा खसेर एक नेपाली युवक बेपत्ता भएको खबर सुनेकै हुनपर्छ उनले । सो घटनाका बारेमा उनको प्रतिक्रिया आएको छैन ।

बेपत्ता भएका धामीसँगै गएका चार युवाले तुइन पार गरिसकेपछि जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिएको स्थानीयको आरोप छ । यदि आरोप आरोप मात्रै नभएर सत्य हो भने, यसबारेमा सरकारले भारतसँग जोडदार कुरा गर्नुपर्छ । घटना भएको भनिएको स्थानमा रहेको तुइनको तार काटिएको अवस्थामा फेला परेको नेपालको स्थानीय प्रहरीले बताएकाले पनि आरोप लगाएअनुसार घटना भएको देखिन्छ । यो घटना दुई देश र दुई देशका नागरिकका लागि सामान्य होइन । पश्चिम नेपालको दार्चुलाका नागरिक महाकाली नदी वारपार पर्दा ज्यानको बाजी लगाएर तुइनको भर पर्दै आएका छन् । तुइनको जोखिम यात्रा र भारतीय प्रवृत्तिको अन्त्य हुनपर्छ ।

तराई होस् वा भारतसँग सिमाना जोडिएका पहाडका जनताले भारतीय एसएसबीबाट सास्ती खेप्दै आएका छन् । भारतीयका कारण नेपालीले ज्यान गुमाउनु, आफ्नो भूमि गुमाउनु वा सास्ती पाएको यो पहिलो घटना होइन् तर, अन्तिम हनुपर्छ । सिमानामा बस्ने नागरिक कहिलेसम्म भारतीय सुरक्षा निकायको आतंकमा बस्ने ? वर्षौंदेखि सिमानमा बस्ने नागरिकले उनीहरूको गाली, कुुटपिट गर्ने र धम्की खेप्दै आएका छन् । शुक्रबारको घटनाले उनीहरूको ज्यादतीको पराकाष्ठा नाघेको छ । यो एसएसबीले गरेको अकल्पनीय र अमानवीय घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्छ ।

घरको बिग्रदो आर्थिक अवस्था सुधार्न रोजगारीको खोजीमा हिँडेका जय अनाहकमा महाकालीमा बिलाए । एकातिर गरिबी अर्कोतर्फ भौगोलिक विकटताले एक युवाले ज्यान गुमाएका छन् । यो सिंगो मुलुकका लागि दुःखद् कुरा हो । अन्य सास्ती खेप्ने अझै धेरै छन् । नेपाल भारतका बीचमा खुल्ला सिमाना छ । चाहेको बेला मान्छे आउजाउ गर्नसक्छ । पारिबाट नेपाल आउन वा यताबाट उता जान कसैको अनुमति लिनु पर्दैन । तर, भारतीयहरू अनेक वाहनामा नेपालीलाई दुःख दिन पछि पर्दैनन् । महाकालीमा तुइन तरेर भारतीय भूमि टेक्नेले पनि उसैको केही न केही हित गरेकै हुन्छ । एक कप चिया खाएर, एक खिल्ली चुरोट किनेर वा अन्य आवश्यक सामग्री किनेर उसैको व्यापार गरिरहेका हुन्छन् । त्यो हामी नेपालीको वाध्यता हो । यस्ता कार्यलाई समेत उनीहरू बुझेर वा नबुझे झैँ गरी दुःख दिन्छन् ।

शुक्रबारको घटनालाई एक युवा बगेको रूपमा मात्रै लिएर हुँदैन । महाकाली नदीमा लामो समयदेखि परेको भारतीय गिद्दे दृष्टि फेरी देखिएको छ । महाकाली हाम्रो सीमा नदी हो । तर, भारत त्यसलाई सीमाका रूपमा भन्दा आफ्नो ठान्छ । त्यसको उदाहरण हो शारदा ब्यारेज, टनकपुर र पूर्णागिरिमा बाँधिएको एक पक्षिय बाँध । हाम्रा अग्रज नेतृत्वले गरेका त्रुटीको भागीदार हामीले कहिलेसम्म भोग्ने हो ? कालापानी र लिम्पियाधुरमा रहेका उसका फौज कहिले फिर्ता हुने हो ? यस्तै यस्तै कारण शुक्रबार एक युवाले ज्यान गुमाए । उनको परिवारमा परेको दुःखद् अवस्थाको क्षतिपूर्ति कुनै पनि हालतमा पूरा हुन सक्दैन । तर, यो अपराधमा संलग्नले सजाय भोग्नैपर्छ । यसमा भारत सरकारले जवाफ दिनुपर्छ । राज्यले अब भारतसँग रहेका नेपालका सबै प्रकारका समस्याका सामाधान गरी असमान सन्धीहरूको पुनरावलोकन गर्ने र तराइमा गुमेका भूमि फिर्ता लिनुपर्छ ।

महाकाली नदीमा पुुल बन्न न सक्ने र त्यहाँका नागरिकले भारतीय ज्यादती कहिलेसम्म भोग्नुपर्ने हो ? दार्चुला जिल्ला र भारतको पिथौरागढलाई महाकाली नदीले छुट्टाएको छ । त्यही महाकाली नदी पार गर्नका लागि मानिसहरूले अस्थायी प्रकृतिका तुइनहरू बनाउने गरेका छन् र त्यसैको भरमा वारपार गर्छन् । यो उनीहरूका लागि अनिवार्य वाध्यता हो । यसलाई सरकारले न्यायोचित रूपमा सामाधान गर्न सकेको छैन । बेला बेला बल्झने समस्यको सामाधान गर्न सकिएन भने यस्ता घटना दोहोरी रहन सक्छ ।

महाकाली नदीमा एक युवा मात्रै बेपत्ता भएका छैनन्, उनीसँगै उनका अनगिन्ती सपना र परिवारका भविष्य बगेको छ । केही काम गरी परिवारलाई सुखी र खुसी बनाउने उनको चहना शुक्रबार बिहानै महाकालीमा बगेको छ । जिँउदो मान्छेलाई बगाएर मार्नु सामान्य अपराध होइन । जय र उनको परिवारलाई कसले दिने न्याय र क्षतिपूर्ति ? श्रीमान गुमाएको श्रीमती र पिता गुमाएका सन्तानका लागि कुनै पनि चिजले क्षतिपूर्ति हुन सक्दैन । शुक्रबारको घटना चुनावी एजेन्डा होइन, दुई देशका बीचमा बेलाबेलामा हुने समस्याको एकमुष्ठ समाधान बन्नुपर्छ । आउने दिनमा त्यहाँका जनताले भारतीयलाई छलेर वा उनीहरूको निगाहमा होइन, दुई देशका नीतिअनुसार ढुक्कले वारपार गर्न पाउनुपर्छ ।
दार्चुलाका जनता आफ्नै सदरमुकाम आउन भारतको भूमि टेक्न विवस छन् । यदि महाकाली नदीमा झलुंगे पुलसम्म बनेको भए उनीहरू सहजै आवतजावत गर्थे । जयले पनि शुक्रबार त्यही गरे, नेपालको बाटो हुँदै सदरमुकाम पुग्न एक÷दुई दिन लाग्ने भएकाले तुइन तरेर भारत हुँदै दुई घण्टामा खलंगा पुग्न जोखिम मोल्दा उनी आज बेपत्ता छन् । उनी बेपत्ता भन्दा पनि बेपत्ता बनाइएको छ । यदि तुइनको डोरी न काटिएको भए उनीसँगै गएका अरू जस्तै उनी पनि आज जीवित रहन्थे ।

घटना भएको स्थानमा रहेको तुइनको ठाउँमा दुई वर्ष पहिलेदेखि झोलुंगे पुल बनाउने काम सुरु भएको रहेछ । तर, ठेकेदारको लापरबाहीले समयमा पुल सम्पन्न हुन सकेन । पहुँचका भरमा ठेक्का लिने र समयमा काम नगर्ने प्रवृत्तिका कारण सर्वसाधारण नागरिकले दुःख बेहोर्नु परेको छ । यी सबैको समाधान गर्ने जिम्मेवार निकाय सरकार हो । नागरिकले दिएको मतलाई नागरिककै हितमा काम गर्नुपर्छ त्यो सरकारको दायित्व हो । यसकारणले पत्राचार गरे र वा भारतले के भन्ला भनेर बस्ने बेला होइन, एक नागरिकले विनाकारण ज्यान गुमाएका छन् त्यसलाई गम्भीर रूपमा लिइयोस् । छिकेकी मुलुकका वा उसका कुनै निकायका कारण नेपालीले ज्यान गुमाउने वा सास्ती खेप्नुपर्ने दिनको अन्त्य होस् ।

प्रतिक्रिया