खोजखबर

क्रमशः घट्दै कोरोना संक्रमणमुक्त हुने दर

सौर्य अनलाइन २०७८ साउन १४ गते १८:३१ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो । यही साउन ८ गते संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ ।

यही साउन ८ गते एक हजार ६७८ जना संक्रमणमुक्त भई घर फर्किएका थिए । यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले संक्रमित बढिरहेकाले संक्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, ‘संक्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो ।’

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।

उपत्यकामा ८६० जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् ।

यसैगरी कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८०७ पुगेको छ । प्रति १० लाखमा ३३०.५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

५०० भन्दा बढी संक्रमित जिल्ला ११

अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की, रुपन्देही गरी ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । दुई सयभन्दा बढी संक्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ ।

मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होमआइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय