राजको जमानत अस्वीकार

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यवसायी राज कुन्द्राको जमानत याचिकालाई अदालतले अस्वीकार गरेको छ । मुम्बई प्रहरीको क्राइम ब्रान्चले राजलाई १९ जुलाईमा फेब्रअरीमा दर्ता भएको अश्लील चलचित्रसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइदिएको थियो । उनको जमानत याचिकामा बुधबार निणर्य गर्ने बताइएको थियो ।

मंगलबार राज मुम्बई उच्च अदालत पनि पुगेका थिए तर अदालतले उनको रिहाइका बारेमा तत्काल आदेश जारी गर्न अस्वीकार गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार राजका वकिलले उच्च अदालतमा प्रहरीले कानुनी प्रक्रियाको पालन नगरेको र उनलाई पक्राउ गर्नुपूर्व सूचना नदिएको जिकिर गरेका थिए । तर, सरकारी वकिलले उनीहरुको दाबीलाई चुनौती दिँदै हिरासतमा लिनुअघि राजलाई सूचना दिएको बताएका थिए ।

उच्च अदालतले सरकारी वकिललाई यसबारे एक शपथपत्र पेश गर्न भनेको थियो । राजका वकिलले अदालतमा अन्तरिम आदेश दिन माग गरेका थिए जसलाई न्यायाधीश गडकरीले पहिला अभियोजन पक्षको याचिकाको जवाफको मौका दिने भन्दै खारेज गरिदिएका थिए । प्रहरीले भने यस प्रकरणका मुख्य अभियुक्त राज नै भएको जिकिर गर्दै आएको छ । राजमाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले यो मामिलामा राज सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राजले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले जनाए अनुसार उनको घरमा छापा मार्दा ५१ अश्लील चलचित्रसमेत फेला परेको छ । गत सोमबार पक्राउ परेका राजलाई प्रहरी हिरासतमा राखिएको थियो । उनीसँगै अर्का रायन थार्पलाई समेत अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया