‘ती आँखामा’ को कभर गायनमा ११ जोडी

काठमाडौं । दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा’ को कभर गायन प्रतियोगिता चलिरहेको छ । दिवंगत गायक प्रधानप्रति समर्पण गर्दै प्रतियोगिता आयोजना गरिएको हो । यो गीतका लागि १७३ जनाले भिडियो पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी प्रतियोगी चयन भएको आयोजक एसियन म्युजिकले जानकारी दिएको छ ।

एसियन म्युजिकका अध्यक्ष ईश्वर गुरुङका अनुसार हालसम्म प्राप्त भएका गायन भिडियोबाट निणर्यक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको छ । यस प्रतियोगिताका लागि चयन भएका ११ जोडी गायक गायिकामा युनिशा शेर्पा देशार र सुमित श्रेष्ठ, सिर्जन गुरागाईं र उमेश राउत, आयुष्मा महर्जन र सविन महर्जन, कुमारी बिसी र सन्दीप केसीको जोडी चयन भएका छन् । यस्तै, अन्य जोडीमा सरिता शाही र मनिक शाही, सरल महर्जन र प्रिजा मिश्र, राजिव योगल श्रेष्ठ र कल्पना श्रेष्ठ, अमोगाबीर बज्राचार्य र रेजिना बज्राचार्य, जनक घिमिरे र रोनी राजभण्डारी, अस्मिता राई र सुरज शाही, सरस्वती मानन्धर र सुरज मानन्धरको जोडी रहेका छन् ।

‘ती आँखामा’ गीतमाथि कभर गायन प्रतियोगिताको परिणाम आगामी २१ साउनमा घोषणा गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेता जोडीलाई एसियन म्युजिकले एउटा गीत गाउने अवसर दिनेछ । सो गीतको म्युजिक भिडियो तयार गरेर एसियन म्युजिककै युट्युब च्यानलबाट रिलिज गरिने भएको छ । तीन महिनाअघि दिवंगत भएका अग्रज गायक प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक गुरुङले बताए । डब्बु क्षत्रीको रचना र जुगल डंगोलको संगीतमा तयार भएको यो गीतलाई पाँच वर्षअघि सार्वजनिक गरिएको थियो । गीतलाई गायक प्रधान र केन्जुमा सुब्बाले गाएका हुन् । जसलाई एसियन म्युजिकबाट रिलिज गरिएको थियो ।

प्रतिक्रिया