जसपामा मन्त्री छान्ने अधिकार तीन नेतालाई, रेशम  चौधरीले पनि छाडे ठाकुरको साथ 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट सरकारमा मन्त्री पठाउन बारेमा निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ । जसपा नेपालले सरकारमा सहभागी हुने यसअघि नै निर्णय गरिसकेको छ । मन्त्री चयनको मापदण्डका बारे आज कार्यकारिणी समितिको बैठकमा छलफल भएको थियो । छलफलमा समानुपातिक समावेशी, नयाँ अनुहारलाई ग्राहयता, विषयवस्तुका अनुभवी, पार्टी तथा आन्दोलनमा योगदान दिएका जस्ता विषयवस्तुका आधारमा मन्त्री चयन गर्नुपर्ने सुझाव सदस्यहरुले दिएको बताइएको छ ।

जसपाबाट मन्त्री बन्ने आकांक्षी धेरै भएका हुनाले त्यसका बारेमा निर्णय गर्ने अधिकार संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बैठकमा सहभागी एका कार्यकारिणी सदस्यले बताए । उनीहरुले मापदण्ड पुरा गरेर मन्त्रीको नाम चयन गरी सरकारलाई पठाउने बताइएको छ ।

प्रचार विभागका प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले मन्त्री कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको बताए । ‘मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो । तर व्यक्तिका विषयमा कुनै छलफल भएन,’ उनले भने ।
आजको बैठकले पार्टीको नियमावली पारित गरेको उनले बताए । यसैगरी, जसपाको केन्द्रीय समितिलाई अध्यावधिक गर्ने अधिकार मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव, रमेश यादवलगायतलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यहरु चयन भएपनि पार्टी कार्यालयमा सबैको नागरिकतालगायत अन्य कागजात प्राप्त नभएको कारणले त्यसलाई चाँडै अध्यावधिक गर्ने निर्णय भएको छ ।

रेशम  चौधरीले पनि छाडे ठाकुरको साथ 

रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेका हुन् । पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे बुधबार पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । बैठकमा सहभागी जसपाका एक कार्यकारिणी समिति सदस्यले भने, ‘वहाँले म जसपामा नै रहेको जवाफ दिनुभयो ।’

रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको ती सदस्यको भनाइ छ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कारवाहीको प्रक्रिया थालेका छन् ।

प्रतिक्रिया