गौशालामा कागज उद्योग स्थापना हुँदै

महोत्तरी । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि सोमबार शिलान्याश भएको छ । आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् ।

अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले सोमबार संयुक्त रूपमा उद्योप स्थापनाको शिलान्याश गरेका हुन् । आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम सुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए । आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेस्ट सुगर एन्ड केमिकल इन्ड्रस्ट्रिज सञ्चालनमा छ ।

प्रतिक्रिया