जिन्दगी बुझ्ने कृति सफलताको ब्लुप्रिन्टको दोस्रो संस्करण आउदै

काठमाडौं । उत्प्रेरक वक्ता तथा लेखक सन्तोष लामाले सफलताको ब्लुप्रिन्ट पुस्तकको दोस्रो संस्करण ल्याउने भएका छन । पहिलो संस्करणले पाठकबाट राम्रो हौसला पाएको बताउँदै उनले दोस्रो संस्करण ल्याउन लागेको जानकारी दिए । उनले भने, ‘पुस्तकले पाठकवर्गबाट राम्रो प्रतिक्रिया पाएको र युवा तथा सकारात्मक सोच राख्ने र जीवनमा केही गर्नुपर्छ भन्ने सोच भएका व्यक्तिका लागि यो पुस्तक अति नै लाभदायक हुनेछ ।’

लेखक लामाका अनुसार दोस्रो संस्करणमा केही महत्वपूर्ण विषयवस्तु समेटिनुका साथै विगतका कमिकमजोरीलाई विशेष ध्यान दिएको छ । उनले भने, ‘यति छोटो समयमा नै दोस्रो संस्करणमा जान सहयोग पुर्याउने गुड्विल पब्लिकेसन तथा सम्पूर्ण बिक्रेतामा आभार छ ।’ उनले आफूले युवामा सकारात्मक सोच तथा व्यवहारिक ज्ञान पस्केकोमा गर्व महशुस भएको विचार व्यक्त गरे । सफलताको ब्लुप्रिन्ट पुस्तक दोस्रो संस्करणबाट अंग्रेजीमा पनि उपलब्ध हुने लेखक लामाले जनाए । पहिलो संस्करणमा जीवन भोगाइका कुरा असफलतासँगै संघर्षका कुरा समेटिएका छन् । पुस्तकमा सफलता प्राप्त गर्न विभिन्न चरणलाई प्रस्तुत गरिएको छ । लेखक लामाले जीवनमा भइरहेको असफलताका बीच सफलता कसरी पाउन सकिन्छ भन्ने बाटो पुस्तकले देखाउन खोजेको बताए ।

पुस्तकको पहिलो संस्करणमा अध्ययनमात्र नभएर अभ्यास विषय पनि राखिएको छ । गुडविल पब्लिकेसन प्रालि प्रकाशक रहेको पुस्तकमा विश्वासको शक्ति, दृष्टिकोण, विचारको शक्ति, लक्ष्य निर्धारण, असफलताको कारक तत्व, अवचेतन मन र कल्पना, आत्मसुझाव, आत्मछवि, नेतृत्व विकास, माइन्ड प्रोग्रामिङ, जीवनको प्राथमिकता, कुशल सम्बन्ध, आकर्षणको नियम, पब्लिक स्पिकिङ, केही त सिक्नैपर्छ र कहिल्यै हरेस नखानुहोस् जस्ता १६ वटा शीर्षकमा विषयवस्तु प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया