बलात्कारका घटनामा अस्वभाविक बृद्धि

काठमाडौं । पछिल्लो समय बलात्कार र बलात्कारपछि हत्याका घटना अस्वभाविक बढेको छ । तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १७ महिलाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्याको घटना प्रदेश नम्बर १ मा धेरै भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार पछिल्लो चार वर्षमा प्रदेश नम्बर एकमा ५ महिलाको बलात्कारपछि हत्या भएको छ ।

त्यस्तै उक्त अवधिमा प्रदेश नम्बर २ मा ४, सुदूरपश्चिममा ४, गण्डकीमा २ र वागमतीमा २ महिलाको बलात्कारपछि हत्या भएको तथ्यांक छ । चार वर्षमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७५–०७६ मा ११ जनाको बलात्कारपछि हत्या भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार नेपालमा पछिल्लो २५ वर्षमा करिब १७ हजार बलात्कार र ५ हजार बढी बलात्कार प्रयासका घटना भएका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष ०५३–०५४ देखि आर्थिक वर्ष ०७७–०७८ को जेठ मसान्तसम्म १६ हजार ९ सय ८६ वटा बलात्कार र ५ हजार ८ सय ७७ वटा बलात्कार प्रयासका उजुरी दर्ता भएका छन् ।

तथ्यांकले देखाउँछ कि, हरेक वर्ष बलात्कारका घटना बढिरहेका छन् । प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयका अनुसार २५ वर्षको अवधिमा बलात्कारका घटना २० गुणाले बढेको छ । ‘२५ वर्षअघि वर्षमा १ सय १२ वटा जबरजस्ती करणी र ३४ वटा जवरजस्ती करणी प्रयासका घटना भएका थिए । अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा २ हजार १ सय ४४ जबरजस्ती करणी र ६ सय ८७ करणी प्रयासका घटना भएका छन्’, प्रहरी प्रवक्ता कुँवरले भने । पहिले जबरजस्ती करणीका घटना भए पनि उजुरी नआउने गरेको र पछिल्ला वर्षमा उजुरी बढ्न थालेको कुँवरले बताए ।

२५ वर्षमा आर्थिक वर्ष २०७५–०७६ सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । यस वर्ष २ हजार २ सय ३० वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता छन् भने ७ सय ८६ वटा करणी प्रयास भएका छन् । जसमा सबैभन्दा बढी प्रदेश १ मा ५ सय ४४ वटा जवरजस्ती करणी र २ सय ३७ वटा जवरजस्ती करणी प्रयासका घटना भएका छन् ।

लकडाउनमा झन् बढ्यो बलात्कार
कोरोनाका कारण भएको पहिलो लकडाउनको ३ महिनामा ११ प्रकारका ४ हजार ४ सय ४८ वटा महिला हिंसाका घटनामा भएका छन् । जसमा १६ प्रतिशत अर्थात ७ सय १७ वटा जबरजस्ती करणीका घटना भएका छन् । तीमध्ये प्रदेश १ मा १ सय ६९, प्रदेश २ मा ९८, वागमतीमा ८६, गण्डकीमा ५३, लुम्बिनीमा १ सय २३, कर्णालीमा ४५, सुदूरपश्चिममा ७९ र काठमाडौं उपत्यका ६४ वटा जबरजस्ती करणीका घटना भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार ७ वटै प्रदेशमा १ सय ९९ वटा जबरजस्ती करणीका प्रयासका घटना पनि भएका छन् । तीमध्ये प्रदेश १ मा ५३, प्रदेश २ मा २०, वागमतीमा २५, गण्डकीमा १५, लुम्बिनीमा ३४, कर्णालीमा१४, सुदूरपश्चिमा २५ र काठमाडौं उपत्यकामा १३ वटा जवरजस्ती करणीका प्रयास भएका छन् ।

राष्ट्रिय महिला आयोगका सचिव मनोजकुमार आचार्यले जबरजस्ती करणीका घटनालाई आयोगले गम्भीर रुपमा अनुसन्धान गर्दै आएको बताए । उनले भने, ‘आयोगले महिलाका उजुरी तथा गुनासा लिने गरेको छ । त्यसमा पनि जबरजस्ती करणीका घटना र करणी प्रयासका घटनाका उजुरी घटनालाई झन् गम्भीर रुपमा लिँदै मुद्दा चलाएको छ ।’

शान्तिका लागि साझा अभियान (कोक्याप)ले पनि बला्रत्कारलगायत विभिन्न घटनाका विषयमा नेपाल प्रहरीसँग साझेदारी गरेर अध्ययन अनुसन्धान गर्दै आएको छ । बलात्कारका घटनाबाट सबैभन्दा बढी सिमान्तकृत समुदाय प्रभावित भएका कोक्यापका अध्यक्ष रोशना खड्काले बताइन् । जसमा दलित, गरिव, अल्पसंख्यक, मधेशी तथा महिला बढी बलात्कारका घटनाबाट प्रभावित भएका उनले बताइन । बलात्कारका घटना बढीरहदाँ पनि सरकारले यसलाई रोकथाम गर्नेतिर जोड नदिएको उनको बुझाई छ । कोक्यापले रिपोर्ट संकलन गरेर सार्वजनिक गर्दै आएको छ । कोक्याप्ले कोभिड–१९ का लागि छुट्टै ड्यासबोर्ड पनि विकसित गरेको छ । जहाँ आत्महत्याको सम्बन्धमा जानकारी पनि प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया