धनगढीमा सामान्य वर्षामा पनि डुबानको समस्या

धनगढी । बढ्दो सहरीकरणसँगै धनगढी बजार क्षेत्रका अधिकांश वडा सामान्य वर्षामा पनि डुबानमा पर्ने समस्या बढ्दै गएको छ । पानी निकासको उचित योजनाविना आफूखुसी संरचना निर्माण हुँदै जाँदा डुबानको समस्या बढ्दै गएको हो । यसबाहेक बजार क्षेत्र हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने साना ठूला खोलाको जग्गा मिचेर संरचना निर्माण गर्ने प्रवृत्ति देखिँदा पनि डुबानको समस्या बढ्दो छ । विगतमा खोलाको जग्गा मिचेर व्यक्तिका नाममा दर्ता गरिएका कारण खोलाको प्राकृतिक मार्गमा अवरोध पुग्दा पनि अहिले डुबान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

खासगरी उपमहानगरपालिकाका बजार क्षेत्रका वडा–१, २, ३, ४, ५, ७ र ८ का अधिकांश बस्तीमा डुबानको समस्या छ । ‘खोलाको प्राकृतिक मार्ग मिच्ने प्रवृत्ति बढ्दा पनि यसलाई रोक्न कसैको पहल नहुँदा अहिले डुबानको समस्या देखियो’, स्थानीयवासी भवानी भट्टले भने, ‘अग्लो भूभागमा जग्गा रहेकाले समेत पानीको निकासको व्यवस्थाविना आफूखुसी संरचना निर्माण गर्दा डुबानको समस्या थप बढेको छ ।’

खोलानाला मिचेर बनाइएका घर संरचना हटाउन नगरपालिका कार्यालयको लामो समयदेखिको पहल सफल हुन सकिरहेको छैन । उपमहानगरपालिका कार्यालयका इञ्जिनियर दिव्यराज भट्टले गुरुयोजना विनाको सहरीकरणसँगै डुबानको समस्या पनि बढ्दै गएको बताए । उनले भने, ‘विगतमा खोलानाला र तालतलैया मिचेर जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले नगरमा अहिले डुबानको समस्या बढेको हो ।’ डुबानको समस्या आउन नदिन आवश्यक गुरुयोजनासहित ठूलो लगानीको योजना चाहिने उनी बताउँछन् ।

नगरपालिका कार्यालयले सडकको स्तरोन्नति नगरेको र जमेको पानीको निकासको व्यवस्था नगरेको भन्दै धनगढी हसनपुर क्षेत्रका बासिन्दाले आफ्नो निवास अगाडिको हिलाम्मे सडकमै हालै धान रोपेर विरोध गरेका थिए । बजारको मुख्य सडकको वैकल्पिक सडकका रूपमा लिइएको क्याम्पस–चटकपुर सडक स्तरोन्नति कार्य निर्माणाधीन छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । हाल उक्त सडक हिलाम्मे भएको र ठाउँठाउँमा पानी जमेपछि आवागमन असहज बनेको छ ।

सडक दायाँबायाँ गहिरो नालीसहित निर्माण भइरहेको सो सडकको स्तरोन्नतिपछि डुबानको समस्या केही हट्ने विश्वास गरिएको छ । यस्तै उत्तर–दक्षिण हुँदै अत्तरियादेखि धनगढीको मोहना पुलसम्म ६ लेनको सडक निर्माणाधीन छ । दायाँबायाँ नाली, ‘रेलिङ’ र ‘फुटपाथ’को व्यवस्थासहित यो सडकको स्तरोन्नति तथा निर्माण कार्य भइरहे पनि सडक आसपासका बस्तीमा जमेको पानी निकासका लागि उचित ध्यान नपु¥याइएको नगरवासीको भनाइ छ ।

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्म निर्माण भइरहेको छ लेन सडकका आवश्यक ठाउँमा पुलेसा निर्माण गरी जमेको पानी निकासको व्यवस्था गर्नुपर्नेमा यस्तो नहुँदा पानी निकासमा समस्या भएको जनाइएको छ । वर्षासँगै जलमग्न भएको उपमहानगरपालिका–३ मा रहेको कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरण, विशालनगर लगायतका बस्तीको पानी निकास गर्ने पहल हुँदा तीन दिनअघि झडपसमेत भएको थियो ।

जमेको पानीको निकास खोल्न प्रहरी टोलीद्वारा गरिएको प्रयासमा अवरोध पु¥याइएपछि वडा–२ वासी र प्रहरीबीच झडप भएको थियो । झडपमा १३ प्रहरी र केही स्थानीय व्यक्तिसमेत घाइते भएका थिए । ६ लेन सडकअन्तर्गतको धनगढी बजार सडकखण्डमा रहेको पुलेसा हुँदै वडा–२ तर्फ निकास गर्नुपर्ने पानी थुन्ने प्रयास हुँदा झडपको स्थिति बनेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारी बताउँछन् ।
वर्षासँगै वडा–३ मा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा पर्ने र त्यसबाट विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने मात्र नभई विद्युत् आपूर्ति ठप्प हुने जोखिम देखिएपछि बल प्रयोग गरी जमेको पानी निकास गर्नुपरेको प्रहरीको भनाइ छ । पानी निकासपछि डुबानमा परेको वडा–२ का मिलन चोक, मालिका टोल र लिटिल फ्लावर टोलका बासिन्दाले पानी निकासको उचित व्यवस्था गर्न माग गरे पनि सुनुवाइ नगरिएको गुनासो गरेका छन् ।

‘सधैँ हाम्रो टोल डुबानमा पर्दा तालका मछाजस्तै गरी बस्नुपरेको अवस्था छ’, डुबान प्रभावित मिलन चोकका रामचन्द्र भट्टले भने, ‘टोलका धेरै परिवारका खेतसमेत जलमग्न हुँदा खेतीसमेत गर्नबाट वञ्चित बनेका छौँ ।’ पानी निकासको उचित व्यवस्था नगरी बस्तीका सडक बनाउँदा आफूहरू बर्सेनि डुबानमा पर्दै आएको उनी बताउँछन् ।

प्रतिक्रिया