‘वृक्षासन’ को विश्व रेकर्ड दाबी गर्दै विक्रम

काठमाडौं । नेपालका योग प्रशिक्षक विक्रम खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेका छन् । यससँगै उनले विश्व रेकर्डको दाबी पेश गरेका छन् । हाल वृक्षासनको विश्व रेकर्ड टर्कीका बुलट क्वाइलान क्यालिसले १ घण्टा १४ मिनेट ४३ सेकेण्डसम्म बसेर गिनिज बुकमा नाम लेखाएका छन् । नेपालमा भने विक्रमले उक्त कार्यक्रम न्यु लाइफ आयुर्वेद गोंगबु काठमाडौंमा ५ साउन मंगलबार गरेका थिए । विक्रमले विश्व रेकर्डका लागि ट्रि पोजमा बिहान ६ः३० मा सुरू गरेर १०ः२० बजेसम्म एउटै खुट्टाले मात्र टेकेर एउटै आसनमा बसेका थिए ।

खड्काले एक दशकदेखि योग सिकाउँदै आइरहेका छन् । उनले ट्रि पोज योगको अभ्यास विगत १ वर्षदेखि गर्दै आएको र विश्व रेकर्ड राख्नको लागि रातदिन मिहिनेत गरेको बताए । उनले लामो समयसम्म एउटै आसनमा बस्दा गाह्रो भए पनि यसलाई सहजै सामना गर्न सकेको सुनाए । उनले भने, ‘गाह्रो त अति नै हुन्छ । खुट्टा दुखेर के गरौं कसो गरौं हुन्छ । त्यस्तै, खुट्टा पोल्ने, दुखेर बिचबाटै छोडदिउँकि जस्तो विचार पनि आएको थियो । दुई घण्टा पुगेपछि खुट्टाले काम गर्नै छोडेजस्तो पनि भयो । अनि मनमनै आत्मसुझाव दिएर मैले जसरी नि रेकर्ड राख्नैपर्छ भन्ने विचारले जितेपछि सफलता हासिल गर्न सकिएको हो ।’ उनले आत्मबल दह्रो पार्दै आफूले ३ घण्टा ५० मिनेट ट्रि पोज गरेको बताए ।

गएको वर्ष विक्रमले ३ घण्टा ३६ मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व रेकर्ड बनाउने प्रयास गरेका थिए । गिनिज बुकमा विश्व रेकर्ड राख्नका लागि गिनिज बुकलाई सम्पूर्ण डकुमेन्ट पठाएको तर त्यतिखेर विविध कारणले गर्दा गिनिज बुकले रेकर्डलाई अस्वीकार ग¥यो । यसपाली गिनिज वल्र्ड रेकर्डको सम्पूर्ण नीति नियम पु¥याएर कार्यक्रम गरेको विक्रमले बताए ।

प्रतिक्रिया