एमालेको केन्द्रीय कमिटी बैठक : संविधान संशोधन गर्नु पर्ने निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिँदा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वास जनाएका कारण दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला गरेको थियो । सर्वोच्चको यही फैसलाका आधारमा एमालेको निर्देशन विपरीत माधवकुमार नेपालसहित २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

एमालेले भने सर्वोच्चले अति न्यायिक सक्रियता देखाएर २८ असारको फैसला गरेको र यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको अवस्थालाई खलबल्याएको, संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको बताएको छ । केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पारित गरेको चारबुँदे विशेष प्रस्तावमा यो फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको निश्कर्ष निकालिएको छ । फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि नै प्रहार भएको भन्दै एमालेले यो फैसलाको साइड इफेक्टको संवैधानिक माध्यमबाट समाधान गर्ने बताएको छ ।

यो फैसलाप्रति आफूहरुको गम्भीर असहमति, तर कार्यान्वयन गर्ने भन्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’ यस्तै ४१ महिने ओली सरकारको समीक्षा गर्दै सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै त्यसबारे दोस्रो प्रस्ताव बैठकले पारित गरेको छ । विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ । यस्तै अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यस्तै सिंगो पार्टी पङ्क्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कम ब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौथो प्रस्ताव पनि बैठकले पारित भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । तर आन्दोलनलाई घात गर्ने प्रवृत्तिलाई भने कुनै पनि हालतमा सफल हुन नदिने अध्यक्ष ओलीको भनाई रहेको ज्ञवालीले बताए । बैठक बिहीबार ३ बजे पुनः बस्ने जनाइएको छ ।

माधवलाई दोस्रो अध्यक्षको प्रस्ताव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् । ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’ १० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ थियो । उनले थपे, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे ।

मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’ पार्टीबाट आफूहरुलाई निकाल्न केन्द्रिय कमिटीमा बहुमत खोजिएको भन्दै ओलीले त्यसो हुन नदिइने बताए । ‘ढुक्क हुनुस् कामरेडहरु, त्यसो हुन दिइने छैन,’ उनले भने ।

प्रतिक्रिया