एमाले केन्द्रीय कमिटी आज पनि

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ । साउन ४ गतेदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । हिजोको बैठकमा सात वटै प्रदेशका अध्यक्षले पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए । उनीहरुले कार्यकर्ताहरूलाई प्रशिक्षण संचालन गर्नुपर्ने, पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार प्रसार गर्नुपर्ने, प्रतिकुल राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी गराउनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदको कारबाहीका विषयमा पनि छलफल गर्ने तयारी छ । उनीहरुलाई सोमबारको बैठकले २४ घण्टे स्पष्टीकरण सोधे पनि कारबाही गरिसकेको छैन । यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै छन् । छलफलमा पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल गरी साझा धारणा तय गरिने बताइएको छ ।

प्रतिक्रिया