सफलताको सिँढी चढ्दै रुविशा–एलिशा

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय प्रतिभा देखाउने फोरम फराकिलो बन्दै गएको छ । प्रतिभाका विविध क्षेत्रलाई प्रविधि र सञ्चारको विकासले आममानिसको पहुँचमा पुर्याउन निकै सहज बनाएको छ । यसले कलाकारको जमात बढ्दै पनि गएको छ ।

कलाकार बन्नकै लागि होडबाजी पनि चलिरहेको छ । देशको पहिचान स्थापित गर्न र मनोविनोद प्राप्त गर्न कला र संस्कृतिको विशिष्ट भूमिका रहन्छ । नृत्य र गायन लगायतका विभिन्न क्षेत्रबाट कलाकारले समाज र देशलाई चिनाउन र आममानिसलाई मनोरञ्जन प्रदान गर्दै आइरहेका छन् । यिनै विभिन्न माध्यम र विधाबाट कलाकारले यति मात्रै नभएर गिनिज बुकमा नाम लेखाएर विश्वरेकर्ड नै राख्न सफल भएका छन् । यसैबीच नृत्यमार्फत नेपाललाई विश्वसामु चिनाउन कलाकार रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ सफल भएका छन् ।

उनीहरुले लगातार ४१ घण्टा ५ मिनेटसम्म नृत्य गरेर विश्वरेकर्ड राख्न सफल भएका हुन् । उनीहरुले लामो समय एकसाथ नृत्य गरेर गिनिज बुक (वल्र्ड रेकर्ड) मा नाम राखेका हुन् । चन्द्रागिरी नगरपालिका ५ निवासी रुविशा र एलिशा दिदीबहिनी हुन् ।

त्यसभन्दा अगाडि अमेरिकाका दिदीबहिनीले ३८ घण्टा ३० मिनेट लगातार नृत्य गरेर रेकर्ड राखेका थिए । रुविशा र एलिशाले त्यो रेकर्डलाई तोडेर दुई वर्षअघि यो ४१ घण्टा ५ को विश्वरेकर्ड राखेका थिए । रेकर्ड कायम गरेपछि उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

आगामी दिनमा अहिलेको रेकर्डलाई पनि तोडेर डबल ८० घण्टा नृत्य गरेर अर्को रेकर्ड राख्ने लक्ष्य रहेको रुविशा र एलिशाले बताए । नृत्यकार रुविशाले भनिन्, ‘कलाकारिताबाट धनसम्पत्ति जोडेर मात्रै सफलता मिलेको जस्तो लाग्दैन, नेपाललाई विश्वसामु चिनाउनु नै देशको शान भन्ने लाग्छ । हाम्रो लागि यो नै ठूलो सफलता हो ।’ उनले बुवा चलचित्रकर्मी तथा नृत्य प्रशिक्षक भएकाले बुवाकै प्रेरणाले यो स्थानमा पुगेको सुनाइन् ।

रुविशाले सानैदेखि कलाकारितामा रुचि राखेको बताउँदै आफू पढ्ने विद्यालयमा अरुलाई नृत्य सिकाउँदै अघि बढेको सुनाइन् । उनी विभिन्न नृत्य कार्यक्रमको प्रतिस्पर्धामा भाग लिँदै आफूलाई नृत्य क्षेत्रमै समर्पित गर्दै आएकी बताइन् । विश्वरेकर्ड राखेपछि उनीहरुलाई म्युजिक भिडियोमा अभिनय गर्न मोटो रकम दिएर अवसर आइरहेको छ ।

त्यस्ता अवसरको प्रस्ताव आफूहरुलाई भन्दा बढी बुवालाई आउने भएकाले बुवाकै सल्लाह र सहयोगमा दुवै दिदीबहिनीले म्युजिक भिडियोमा नृत्य गर्दै आएको रुविशाले बताइन् । उनीहरुले नृत्य गरेका भिडियो युट्युबमा लाखौँ दर्शकस्रोताले मनपराएर हेरेका छन् । रुविशाले भनिन् ‘बुवाले चलचित्र निर्माण र नृत्य प्रशिक्षकको काम पनि गर्नुहुन्छ । बुवाले नै हामीलाई सल्लाह दिएर भिडियोमा नृत्य गर्न पठाउनुहुन्छ । उहाँको सल्लाहविना हामीले केही निर्णय गर्दैनौँ ।’

मिहिनेत र लगनशीलतामा अघि बढे यस क्षेत्रमा उज्ज्वल भविष्य भएको उनीहरुको बुझाई छ । गीतको शब्द र भिडियोको कथाले मागेको पहिरनमा आफूहरुले नृत्य गर्दै आएको रुविशाले जिकिर गरिन् । विकृति र विसंगतिको प्रसंगमा उनले भनिन्, ‘विकृति भन्ने चिज आफूमा भर पर्ने कुरा हो, आफूले जे सोच्यो त्यही हुन्छ । कलाकार भनेको देशको एक अभिन्न अंग पनि हो ।’ उनले गीत संगीतको माध्यमबाट देशलाई संगीतमय कलाकारले नै बनाउने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गरिन् ।

रुविशाले भनिन्, ‘कलाकारले नै नकरात्मक चिज भित्र्याएर फोहोर बनाउनेलाई कसरी कलाकार भन्ने ? कलाकार भनेको स्वच्छ र वातावरणीय हुनुपर्छ, देशमा थप चमक ल्याएर सबैको स्यावासी पाउनु पर्छ ।’ अहिले उनीहरुले नेपालकै टप डान्स र्यालिटी सोहरुमा पनि मुख्य निर्णायकको भूमिका निभाउँदै आएको सुनाए । अहिले उनीहरुलाई भ्याइनभ्याई छ । यो पनि आफूहरुले ठूलै सफलता प्राप्त गरेको दुवै दिदीबहिनीको अनुभव छ । ‘र्यालिटी सोहरुमा पनि हामीलाई धेरै नै अवसर आइरहेका छन् । बहिनी र म दुवै जनाले मिहिनेत गरेर जज गरिरहेका छौँ । दर्शक स्रोताबाट राम्रै प्रतिक्रिया आइरहेको छ,’ रुविशाले सुनाइन् ।

सानैदेखिको रुचि र भविष्य पनि यही क्षेत्रमा देखेका उनीहरुले आफैँले डान्स ¥यालिटी सो सञ्चालन गर्ने लक्ष्य राखेका छन् । नृत्यकार रुविशा र एलिशा भनेर आफूहरुलाई स्थापित गराउने चाहना भएकाले अझै सिक्न बाँकी रहेको उनीहरुले बताए । ‘यो क्षेत्रमा आफूले सिक्दै र अरुलाई पनि सिकाउँदै अघि बढ्ने हो, शिक्षा कहिल्यै पनि टुंगिदैन, नृत्यमा अझै हाम्रो सिक्ने समय बाँकी छ, आफ्नै नृत्य कक्षा सञ्चालन गरेर सिक्ने र सिकाउने दुवै जनाले योजना बनाइरहेका छौँ’, रुविशाले भनिन् । एलिशा भने नृत्यकारसँगै गायिका रुपमा समेत परिचित छन् । उनले केही गीत बजारमा ल्याइसकेको बताइन् । आफैले आवाज दिएको गीतमा आफै नृत्य गरेको समेत एलिशाले सुनाइन् । आफ्नो चाहनानुसार सकेसम्म अनुभव लिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया