हेलचेक्राइँले जाँदैछ ज्यान

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पिसिआर परीक्षणका लागि स्वाब दिए । स्वास्थ्य समस्याले सताइरहेकै थियो र उनी अस्पताल गएनन् । पिसिआरको रिपोर्ट तीन दिन बित्दा पनि आएन । सिकिस्तै बिरामी परेपछि जेठ ६ गते दिउँसो उनलाई पाँचथर जिल्ला अस्पताल पु¥याइयो । कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीले सोधीखोजी गर्दा उनले स्वाब दिएको पत्ता लाग्यो । हत्तपत्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनको रिपोर्टबारे खोजी भयो । रिपोर्ट पोजेटिभ रहेको पाइएपछि जिल्ला अस्पतालकै अस्थायी कोभिड कक्षमा भर्ना गरियो ।

उनको शरीरमा अक्सिजनको उपलब्धता कमजोर रहेको र फोक्सोमा समस्या देखिएपछि तत्कालै थप उपचारका लागि झापा पठाइयो । तर, अस्पताल पुग्न नपाउँदै बीच बाटोमै उनको मृत्यु भयो । ‘स्वास्थ्यमा समस्या देखिए पनि ढिला गरी अस्पताल आएकाले उनलाई रिकोभर गर्नसक्ने सम्भावना अत्यन्तै कम थिए,’ उनी भर्ना भएका बखत आकस्मिक कक्षको ड्युटीमा रहेका अहेब दीपक अधिकारीले भने, ‘बिरामीको लापरवाहीका कारण गम्भीर समस्या ल्याइसकेकाले केही गर्न सक्ने अवस्था रहेन ।’ फोक्सोमा समस्या रहेका ती संक्रमितलाई मद्यपानले सबैभन्दा बढी समस्या पारेको देखियो ।

तेह्रथुमको आठराई गाउँपालिका घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको अप्पर ग्यास्ट्रोइन्टेस्नल ब्लिडिङ (युजिआई)का कारण जेठ २८ गेत पाँचथर जिल्ला अस्पतालमा मृत्यु भयो । जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यसमेतमा कोरोना भाइरस देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् तर एक्कासि मुखबाट रगत बान्ता गर्ने समस्या देखिएपछि आफन्तले उनलाई अस्पताल पु¥याए । अस्पतालमा उपचारको प्रयास हुँदाहुँदै उनको ज्यान गयो ।

पाँचथर जिल्ला अस्पतालका सिनियर अहेब उमेश शाहका अनुसार युजिआई ग्यास्ट्रिकको अल्सर भई आन्द्रामा प्वाल परेर नाक वा मुखबाट रगत वान्ता हुने समस्या हो । कोभिड–१९ को संक्रमणजस्ता जटिल स्वास्थ्य समस्या हुँदा यसप्रकारका रोगले ज्यानै जान सक्छ । नियमित स्वास्थ्य परीक्षण नगर्ने, खानपान नियमित नहुने, औषधि सेवन नगर्ने, अत्यधिक मद्यपान गर्ने जस्ता कारणले कोरोना भाइरस संक्रमण देखिए पनि मृत्युको कारण अर्कै हुने गर्छ । मृतक महिलामा पनि यसै प्रकारका समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका स्वास्थ्य समस्या भए पनि जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ का ६३ वर्षीय पुरुषले परीक्षण गर्न मानेनन् । मृतकका आफन्तले उनकै कारण परिवारका अन्य सदस्यसमेतमा संक्रमण फैलिएको भन्दै उनकोे परीक्षणका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधि समेतलाई गुहारे । परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मीसमेतको आग्रह नमानेका उनलाई ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै जेठ १६ गते घरमै मृत्यु भयो ।

कोभिड–१९ का लक्षणसँग मिल्ने लक्षण देखिएकाले मृत्युपश्चात उनको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । ‘बिरमीले स्वास्थ्य समस्या नै नबताई, परीक्षण नै नगरी उपचारमा लैजाने कुरा भएन,’ फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले भने, ‘परीक्षण गर्नै नपाई उनको ज्यान गयो ।’ परिवारका सदस्यदेखि स्वास्थ्यकर्मी समेतको आग्रह अस्वीकार गरी कोरोना भाइरसको संक्रमणलाई सामान्य रुघाखोकी ठान्ने प्रवृत्तिले उनको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । धेरैको हेलचेक्राइँका कारण ज्यान गइरहेको छ ।

यस्तै फिदिम नगरपालिका–७ र ८ रानीटारमा कोरोना भाइरस संक्रमण निकै फैलिइरहेको थियो । विवाह, भोजलगायतका कार्य रोकिएका थिएनन् । संक्रमण दर उच्च थियो । सबैले परीक्षण गराउन नमान्दा संक्रमण नियन्त्रणमा आएको थियो । समयमा परीक्षण नगराएका फिदिम–८ का ६० वर्षीय पुरुष सिकिस्त बिरमी भई असार १ गते जिल्ला अस्पतालमा भर्ना भए । तुरुन्तै एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो र साँझ ६ः३० बजे नै उनको मृत्यु भयो ।

सोही वडाका दुई जना पुरुषको कोभिड–१९ को लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण ज्यान गयो । स्थानीय ६२ र ७२ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भयो । उद्यपि उनीहरूमा कोरोना भाइरस संक्रमणको परीक्षण भएकोे थिएन् । वडा कार्यालयले संक्रमण व्यापक भएको भन्दै परीक्षण गराउन आह्वान गरेको थियो तर सबै स्थानीयवासी यसमा तयार भएनन् ।

‘गाउँमा संक्रमण फैलिँदै गएपछि सबैलाई परीक्षण गराउन अपील गरेको भए पनि सबैको परीक्षण हुन सकेको थिएन’, फिदिम–८ का वडाध्यक्ष शेरबहादुर नेम्वाङले भने, ‘गाउँमै स्वास्थ्यकर्मीको टोली बोलाएर परीक्षणको प्रबन्ध गरेको थिएँ ।’ परीक्षण नभई एकै दिन एकै वडाका दुई जना पुरुषको मृत्यु भएको घटना सार्वजनिक भयो । कोभिड–१९ का लक्षण देखिए पनि वडाले परीक्षणका लागि गरेको आह्वानमा मृतक सहभागी थिएनन् । मृत्युको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि तनाब भने वडाध्यक्षलाई आइप¥यो । ‘उहाँहरूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएन् तर कोरोना भाइरससँग मिल्ने लक्षण भने थिए,’ वडाध्यक्ष नेम्वाङले गुनासो गर्दै भने, ‘परीक्षणका लागि प्रबन्ध गर्दागर्दै उहाँहरूको दुःखद् निधन भयो । मृत्युको कारण अर्कै भएको हुनसक्ने भए पनि समाचार आएपछि हामीले अनावश्यक तनाव भोग्नुप¥यो ।’

वडा कार्यालयले स्थानीयस्तरमै परीक्षणको प्रवन्ध गर्नुका साथै फिदिम गएर परीक्षण गराउन सवारी साधनको प्रबन्धसमेत गरेको थियो । मृतकमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता स्वास्थ्य समस्या थिए । लापरवाही र हेलचेत्र्mयाइका कारण ज्यान गएका यस्ता कैयौँ उदाहरण छन् । यहाँका गाउँगाउँमा संक्रमण तीव्र गतिमा फैलिए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको अवस्था निकै कमजोर छ । कतिपयले अझसम्म मास्कको प्रयोग गर्न, भौतिक दुरीको पालना गर्न, भिडभाड नगर्न तथा भिडभाडमा नजान मानिरहेका छैनन् । यसकारण एक÷दुई जना संक्रमितका कारण गाउँभरि नै संक्रमण फैलिएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा आयोजना गरिएका दुई वटा विवाहबाट फैलिएको संक्रमणले उक्त वडाका १ सय ५६ जना तथा वडा–३ का १९ जनामा संक्रमण पुष्टि भयो ।

लक्षण देखिएका कतिपयले मद्यपान गर्ने, कोरोना भाइरस संक्रमणलाई मौसमी रुघाखोकीका रूपमा लिनेजस्ता समस्याले समयमा संक्रमण फैलने र त्यसैका कारण मृत्यु हुने घटना दोहोरिरहेका छन् । यहाँका बजार तथा ग्रामीण भेगका कैयौँ सर्वसाधारणले अझैपनि कोरोना परीक्षण गर्न मान्दैनन् । ‘सबैलाई परीक्षणका लागि तयार बनाउन सकिएको छैन्,’ हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक चन्द्रप्रसाद घिमिरेले भने, ‘समुदायमा ब्यापकरूपमा फैलिएको संक्रमण सबैको परीक्षण नगरी नियन्त्रण गर्न सकिँदैन ।’ परीक्षण गर्न नमानेकाको कोरोना भाइरसको लक्षणसँग मिल्ने समस्याबाट मृत्यु भएका घटनासमेतबाट पनि कतिपयले पाठ सिकेका छैनन् ।

यस्तै परीक्षण गर्न नमानेका तथा संक्रमण पुष्टि भएकाको आवागमन नियन्त्रण हुन सकेको छैन । जसकारण संक्रमण नियन्त्रण हुन सकेको छैन । लामो समयदेखि निषेधाज्ञा जारी रहे पनि संक्रमित थपिने क्रम रोकिएको छैन । ‘चेन ब्रेक हुन नसक्दा संक्रमण नियन्त्रणमा आएको छैन,’ मानव अधिकारकर्मी मंगल बेघाले भने, संक्रमण नियन्त्रणका लागि अझै प्रकावकारी चालेर जिल्लावासीको जीवन रक्षा गर्नुपर्छ ।’

मुख्यतः लापरवाहीकै कारण संक्रमण नियन्त्रणमा आउन सकेको छैन । जिल्लाका आठ वटै स्थानीय तहले पिसिआर तथा एन्टिजेन परीक्षण गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न विभिन्न प्रकारले प्रचारप्रसार गरी सचेतना फैलाउने प्रयास गरिरहेका छन् तर सरकारी निकायका प्रयासलाई सार्थक बनाउन नागरिक स्तरबाट सहयोग भएकोे छैन । नयाँ भेरिअन्टको कोरोना भाइरस संक्रमणको दोस्रो लहर जिल्लामा सुरुआतमै देखिएको याङ्वरक गाउँपालिकामा करिब तीन दर्जन स्थानीयमा संक्रमण देखिएपछि एक हप्तासम्म संक्रमित देखिएनन् । गाउँपालिकाले प्रचारप्रसार र परीक्षणलाई नियमित बनाइरहेकै थियो तर जेठ तेस्रो सातादेखि संक्रमण व्यापक भयो । याङ्वरकमा मात्रै १ सय ६० बढी संक्रमित देखिए ।

यहाँ निषेधाज्ञा जारी हुँदा जम्मा ५७ जना संmक्रमित थिए तर निषेधाज्ञाकै बीच ४० दिनपछि सो संख्या बढेर १ हजार ७ सय ४८ पुगेको छ । निषेधाज्ञाका समयमा दैनिक औषत ४२ जनामा संक्रमण पुष्टि भइरहेको छ । हालसम्म जिल्लामा संक्रमण पुष्टि भएका २२ जनाको मृत्यु भएको छ भने मृत्यु दर १ दशमलव २५ पुगेको छ । ‘मेरो सूचनामा निषेधाज्ञामा बजार र सवारी मात्रै बन्द भए । फिदिममा तासका जमघट भए,’ नागरिक अगुवा प्रेम ओझाले भने, ‘सबै ठाउँ परीक्षणको दायरा बढाउनुपर्ने जरुरी छ । नागरिक स्वयं सचेत नभई महामारी नियन्त्रणमा आउन सक्दैन ।’ ओझाका कुरामा स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीको पनि समर्थन छ । ‘सरकारी निकायका प्रयासले मात्रै महामारी नियन्त्रण हुन सक्दैन,’ सुवेदीले भने, ‘यसका लागि नागरिक सचेत हुनुपर्छ ।’ अधिकांश मृत्युका घटनासमेत लापरवाहीकै कारण भएको भन्दै उनले सचेततापूर्वक सामूहिक प्रयासबाट संक्रमण नियन्त्रण र मृत्युका घटना रोक्नुपर्ने बताए ।

प्रतिक्रिया