सन्तोषी सुब्बा हत्या प्रकरण : यौन सम्पर्क राख्न नपाउँदाको आक्रोश

काठमाडौं । असार ५ गते सन्तोषी सुब्बा फर्पिङस्थित एक गेस्ट हाउसमा बसिन् । अरु बेला पनि फर्पिङ–दक्षिणकाली पुगिरहने उनी ६ बिहान ११ बजेतिर गेस्ट हाउसबाट निस्किइन् । अलि टाढा रहेको दक्षिणकाली नजिकै रहेको एक खाजा घरमा पुगिन् । त्यही खाजा पसलमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकालीमा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनासँग चिनजान भयो । मदिरा सेवन गरिरहेका सुरेशसँग उनको निकै लामो कुराकानी भयो ।

सन्तोषीले आफू विभिन्न जनावरको आवाज निकाल्न सक्ने र आफ्नो युट्युबमा भिडियोहरू पनि रहेको बताइन् । दुवैजनाले युट्युबमा भिडियो पनि हेरे । त्यही खाजा घरको भेटबाट उनीहरु नजिकिए । सन्तोषीले खाजा पनि खाइन् । उनले आफूसँग पैसा नभएको बताएपछि सुरेशले आफ्नो गाडीमा बस्ने र खाने व्यवस्था मिलाइदिन्छु भन्दै त्यहाँबाट लिएर गए ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु खाजा पसलबाट रातिको ७ बजेपछि निस्किएका थिए । बाहिर निस्किएपछि सुरेशले यौन प्रस्ताव राखे । दक्षिणकाली झर्ने क्रममा गफिँदै दक्षिणकाली बसपार्कसम्म पु¥याए । बसपार्कबाट नजिकै रहेको पिकनिक स्पट हुँदै शौचालयसम्म लगे ।

‘त्यहाँ पुगेपछि शारीरिक सम्पर्कको विषयमा विवाद भयो । विवाद बढ्दै गएपछि सुरेशले सन्तोषीको घाँटी सलले कसे । बेहोस भएपछि ढुंगाले अनुहारमा हिर्काएर क्षतविक्षत बनाए,’ एसएसपी खापुङले भने । घटनाको प्रकृति तथा घटनास्थलमा फेला परेको प्रमाण हेर्दा यौनसम्पर्क समेत भएको जस्तो देखिएको उनले बताए । ‘सन्तोषीको शव अर्धनग्न अवस्थामा देखिएको छ । सन्तोषीले लगाएका कपडा वरपर फालिएको अवस्थामा थिए । भित्री वस्त्रसमेत छिया–छिया परेको अवस्थामा देखिएको छ,’ एसएसपी खापुङले भने, ‘यसले कतै यौनसम्पर्क पनि भयो जस्तो लाग्छ । फरेन्सिक ल्याबको रिपोर्ट आएपछि थप कुरा खुल्छ ।’

उनले त्यो क्षेत्रका अधिकांशले सन्तोषीलाई चिन्ने भएकाले शव नचियोस् भनेर क्षतविक्षत पारेको बयान दिएका छन् । शौचालयमा अर्धनग्न अवस्थामा शव देखिएको भन्दै प्रहरीलाई खबर आयो । खबर आएसँगै प्रहरी परिचालन भयो । अनुसन्धान गर्दैै जाने क्रममा शवको पहिचान भयो । पहिचान भएसँगै प्रहरीले अभियुक्तबारे सोधीखोजी गर्न थाल्यो । त्यही क्रममा सन्तोषी बसेको गेस्ट हाउस पत्ता लाग्यो । गेस्ट हाउससम्म उनको साथमा दोस्रो व्यक्ति थिएन । त्यहाँबाट केही पर पुगेपछि प्रहरी टोली खाजा पसलसम्म पुग्यो । खाजा पसलबाट भने दोस्रो व्यक्ति पनि उनीसँगै देखियो ।

खाजा पसलमा देखिएको दोस्रो व्यक्तिबारे प्रहरीले सोधपुछ गर्न थाल्यो । सन्तोषीसँग रहेको व्यक्ति बसको सह–चालक रहेको पत्ता लाग्यो । उनले कहिलेकाहीँ काम गर्ने वर्कसपबाट उनको पहिचान भयो । त्यहीँबाट उनको फोन नम्बर पत्ता लाग्यो । तर, उनको फोन अफ थियो ।
दक्षिणकाली बसपार्कबाट उनी ट्याक्सीमा चढेर हिँडेको पत्ता लाग्यो । प्रहरीले उनको फोन नम्बरमार्फत उनको लोकेसन ट्रेस गरेर उनी बसेको ठाउँ पत्ता लगायो । उनी असन क्षेत्रमा बसोवास गर्दै आएको पहरीले पत्ता लगायो । प्रहरीले सन्तोषीको पहिचान खुलेको २४ घण्टाभित्र नै सुरेशलाई पक्राउ गर्न सफल भयो ।

बिहीबार बिहान सुरेशको कोठामा पुगेको प्रहरीले घटनामा प्रयोग भएको कपडासमेत फेला पारेको थियो । ‘सुरुमा उनले इन्कारी बयान दिए । उनको विपक्षमा थप प्रमाण जुट्दै गएपछि हत्या स्वीकार गरे,’ एसएसपी खापुङले भने । उनको हत्या बलात्कारपछि भएको हो वा अकस्मात् भएको हो भन्ने विषयमा फरेन्सिक ल्याबको रिपोर्ट आएपछि मात्र भन्न सकिने एसएसपी खापुङले बताए ।

सन्तोषी लामो समयदेखि कालोपुलनजिकै धनबहादुर तामाङसँग बस्दै आएकी थिइन् । धनबहादुरले सन्तोषीलाई धर्मछोरीको रूपमा पालनपोषण गर्दै आएका थिए । विभिन्न जनावरका थरीथरीका आवाज निकाल्ने सन्तोषी सामाजिक सञ्जाल र युट्युबमा चर्चामा थिइन् । दिनभर सँगै बसेका सुरेशले आफूलाई थरीथरीका आवाज सुनाएकी सन्तोषीको रात परेपछि हत्या गरिदिए । प्रहरीले कर्तव्य ज्यान मुद्दाअन्तर्गत कसुरमा अनुुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया