चक्रघट्टा गाउँपालिकाद्वारा ५० करोड ४४ लाख ९३ हजार रुपैयाँको बजेट विनियाेजन

सर्लाही । चक्रघट्टा गाउँपालिकाको आठौं गाउँ सभा बिहीबार  सम्पन्न भएको छ । चक्रघट्टा गाउँपालिकाको आठौं गाउँसभामार्फत आव २०७८/७९ को वार्षिक निति, कार्यक्रम र वजेटको सार्वजनिक गरिएकाे छ । गाउँ सभाबाट गाउँ विकासका लागि चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५० करोड ४४ लाख ९३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले गाउँपालिकाको आठौं गाउँ सभामा चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५० करोड ४४ लाख ९३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । अध्यक्ष यादवका अनुुसार, आ.व. २०७८/८९ को लागि नेपाल सरकारतर्फ वित्तिय अनुदान रकम रु. १० करोड ४३ लाख, सम्पूरक अनुदान रकम रु. १ करोड, विशेष अनुदान रकम रु. १ करोड ५० लाख, सशर्त अनुदान रकम रु. १२ करोड ५७ लाख, सशर्त (पूँजिगत) अनुदान रकम रु. १ करोड २२ लाख, समाजिक सुरक्षा तथा बालपोषण भत्ता अनुदान रकम रु. १० करोड ५० लाख र प्रदेश सरकारतर्फ वित्तिय अनुदान रकम रु. ७१ लाख ७९ हजार, सशर्त पूँजिगत अनुदान रकम रु. ८० लाख, विशेष अनुदान रकम रु. ३० लाख, सम्पूरक अनुदान रकम रु. २० लाख तथा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र गतसालको अनुमानित अल्या रकम रु. ११ करोड २१ लाख १४ हजार गरि जम्मा कुल आय रकम रु. ५० करोड ४४ लाख ९३ हजार अनुमान गरिएको अध्यक्ष यादवले जानकारी गराएका छन् ।

त्यस्तै आ. व. २०७८/७९ को लागि व्ययतर्फ चालू शिर्षकमा रु. ७ करोड २६ लाख ४५ हजार, वित्तीय अनुदान रकम मध्ये पूँजिगत शिर्षकमा रु. १५ करोड ९ लाख ४८ हजार, नेपाल सरकार सशर्त चालुमा रु. २३ करोड ७ लाख र नेपाल सरकार सशर्त पूँजिगततर्फ रु. ५ करोड २ लाख गरि जम्मा रु. ५० करोड ४४ लाख ९३ हजार रकम विनियोजित गरिएको अध्यक्ष यादवले बताए ।

आठौं गाउँसभाबाट पुर्वाधार विकास निर्माण कार्य, बित्तिय व्यवस्थापन र सुशासन, सामाजिक बिकास, आर्थिक बिकास, सामाजिक सुरक्षा, वातावरण खानेपानी तथा सरसफाइ, सिचाइ, स्वास्थ्य, शिक्षा, कृषि, यातायात, संस्थागत बिकास तथा सेवा प्रवाह लगायतका कार्यक्रम शीर्षकको लागि बजेट विनियोजित गरिएको छ ।

चक्रघट्टा गाउँपालिकाको प्राङ्गणमा बिहीबार सम्पन्न आठौं गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले भने, गाउँपालिकाको बिकास गर्दा साझा समस्या सम्झेर काम गर्नु पर्ने र त्यस अभियानमा सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । ‘गाउँ भित्र जसले जहाँ विकास गरे पनि गाउँबासीलाई फाईदा हुने काम गर्नुपर्दछ,’ अध्यक्ष यादवले भने ।

उनले गाउँपालिकाका सबै वडामा समानुपातिक रुपमा विकास गरेर अगाडी बढ्न र कुनै पनि राजनीतिक दलका आधारमा नभई साझा गाउँबासीको भावनालाई कदर गर्दै बिकास निर्माण अभियानमा लाग्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गरे । गाउँपालिकाले आठौं गाउँ सभाको अवसरमा गाउँ सभामा उपस्थित सम्पुर्णलाई सम्मान समेत गरेको थियो ।

गाउँपालिका अध्यक्ष बिक्रम यादवको अध्यक्षता तथा पालिकाका उप प्रमुख वसोधा कुमारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका सम्पुर्ण कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु, अवकाश प्राप्त शिक्षकहरु, नागरिक समाजका अगुवा, मानव अधिकारवादी, बुद्धिजीवि, किसान वर्ग, सुरक्षाकर्मी, युवा वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो । भने कार्यक्रमको उद्घोषण पालिकाका योजना शाखा प्रमुख राम सिंहासन रामले गरेका थिए ।

प्रतिक्रिया