कोदालोले हानेर श्रीमतीकाे हत्या, श्रीमान् पक्राउ

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन्। बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले ३६ वर्षीया श्रीमती तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए। घाइते नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको हो।

अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरीसमेत दिएका छन् । सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । मृतक नेपालीका दुई छोरी र तीन छोरा छन्। आमाको हत्या गरी बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ । रासस

प्रतिक्रिया