खोपपछि लयमा फर्कंदै अमेरिका

 

विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तव्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरू खोप लगाएपछि घरबाट बाहिर निस्केर बजार व्यापार तथा जमघटहरूमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरूमा अमेरिकाका विभिन्न सहर तथा बजारहरूमा पनि चहलपहल बढेको छ भने व्यापारिक प्रतिष्ठानहरूले आफना कारोवारमा वृद्धि भएको बताएका छन् । अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्युयोर्क, फ्लोरिडा, क्यालिफोर्नियाजस्ता राज्यका ठूला रेस्टुरेन्टहरूमा पनि ‘लाइभ कन्सर्ट’ हरू सुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरूको चहलपहल बढ्न थालेको छ । मनोरञ्जनका लागि समुद्री किनारमा जाने मानिसहरूको संख्या बढ्दै गएको छ ।

यतिखेर यहाँका कतिपय पसल, होटल एवं व्यापारिक प्रतिष्ठानहरूले ‘यदि तपाईं पूर्ण रूपमा खोप प्राप्त व्यक्ति हुनुहुन्छ भने मास्क लगाइरहन पर्दैन’ भनेर सूचना टाँसेका देखिन्छन् । यी सूचनाहरूले अमेरिकीहरूलाई खुसी तुल्याएको उनीहरू अनूभूति गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट युरोप हँुदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकाले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको थियो । भाइरसको संक्रमणले १६ महिनाको अवधिसम्ममा विश्वभरिमै सबैभन्दा बढी त अमेरिका प्रभावित भयो । अहिलेसम्म पनि अमेरिका नै सबैभन्दा धेरै प्रभावित देशको पहिलो सूचीमा छ र भाइरसका कारण विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने देशको सूचीमा अमेरिका परेको छ ।

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरूले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको छ । अहिले अमेरिकामा फाइजर कम्पनी र मोडर्ना कम्पनीका गरी दुईओटा खोप प्रदान गरिन्छ भने जोन्सन एन्ड जोन्सनको एक डोज खोप प्रदान गरिन्छ । यी तीन वटै खोपलाई आपतकालीन उपयोगको लागि भन्दै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको हो । कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेपछि अमेरिकाका पचासै वटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरूलाई पनि लचिलो बनाइएको छ भने कति राज्यहरूले त यस्ता प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाइसकेका छन् ।

जुन महिनाको दोस्रो सातासम्ममा स्थानीय राज्यका गभर्नरहरूले खोप पर्याप्त उपलब्ध भएकाले खोप लगाउन प्रेरित गर्दै मानिसहरू जम्मा हुन पाउने व्यवस्थालाई खुकुलो बनाएका छन् । सबैभन्दा बढी प्रभावित भएको राज्यमध्येको एक न्युयोर्कले कोरोना भाइरस विरुद्धको प्रतिबन्ध हटाएको घोषणा गर्न विशेष कार्यक्रम नै गरेको थियो । राज्यका ७० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएपछि राज्य सरकारले लगाएको विभिन्न प्रतिबन्धहरू हटाइएकोे थियो ।

कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरूलाई कोरोना भाइरस लागेको खण्डमा उनीहरूमा सामान्य लक्षण देखापर्ने र कम फैलन सक्ने नयाँ तथ्य समेत प्रकाशित गरिएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन् सेन्टरले डिसेमबर १३ देखि अप्रिल १० सम्म गरेको अध्ययनमा यो तथ्य फेला परेको हो । यी खोपहरूले ९१ प्रतिशतसम्म कोरोना भाइरस विरुद्ध लड्नसक्ने क्षमता प्रदान गर्ने अनुसन्धानबाट पाइएको छ ।

कोरोना भाइरसविरुद्ध लडने उद्घोषका साथ राष्ट्रपतिको निर्वाचनमा होमिएका जो वाइडेनले निर्वाचनमा विजय भएर जनवरी २० मा शपथ लिएसँगै लिएका रणनीतिले अमेरिकामा सफलता हासिल गर्न सम्भव भएको हो । वाइडेन प्रशासनले एक सय दिनको लक्ष्यसहित दश करोड जनालाई खोप र मास्कको वाध्यकारी व्यवस्था गरेकाले छ महिनामा नै अमेरिकाको जनजीवन सामान्यतर्फ उन्मुख हुन सम्भव भएको हो ।

वास्तविकता के हो भने वाइडेन प्रशासनको नीतिकै कारण १ सय ५० दिनमा ३० करोड अमेरिकीले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएका छन् । अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेटसमेत निकासा दिन सफल भएको थियो ।

अहिले अमेरिकी राज्य सरकारहरूले कोरोना विरुद्धको खोप लगाउने आफनो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । यसरी घोषणा गरिएका राज्यहरूमा न्युयोर्क, क्यालिफोर्निया, मेरिल्यान्ड, मेनलगायतका रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रूपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २ सय २३ जनसंख्या छ । त्यसमध्ये ५६ दशमलव ९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

अमेरिकामा कार्यरत चिकित्सक तथा एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटाले तत्कालको लागि खोपले काम गरेको स्पष्टसँग देखिएको बताए । सापकोटाका अनुसार संक्रमितको दर घट्दै गएको र खोप लगाउनेको संख्या पनि प्रतिदिन बढ्दो रहेकाले आगामी दुई÷तीन महिनाभित्रै निकै सहज अवस्था हुने देखिएको छ । ‘अहिले लिएको खोपले तीन महिनादेखि ६ महिनासम्म काम गर्छ, त्यसपछिको लागि आधिकारिक निकायहरूले थप अनुसन्धान पश्चात रणनीति सार्वजनिक गर्ने नै छन्,’ उनले भने । महामारीबाट पूर्ण रूपमा मुक्त भएको घोषणा गर्न थप समय चाहिने भएकाले कहिले सम्ममा खोपको उपलब्धता र नागरिकसम्म खोपको पहुँच हुन्छ त्यसमा निर्भर रहने सापकोटाले बताए । अमेरिकामा १२ वर्षमाथि उमेर समूहकालाई समेत खोप दिइएकोले विद्यालयहरूमा पठनपाठनसमेत सुरु गरिएको छ । सिडिसीले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई लगाउन अनुमति दिएपछि कोरोना भाइरस विरुद्धको खोप अभियानमा अर्को सफलता हात लागेको थियो ।

अमेरिकामा होटलको ‘अकुपेन्सी’ दर ५९ दशमलव ३ प्रतिशत रहेको थियो र यो दर जुन महिनाको दोस्रो सातामा ६६ प्रतिशत पुगेको छ । यसबाट मानिसहरू खोप लगाएपछि छुट्टीमा निस्किएका छन् भन्ने मजवुत आधार मान्न सकिन्छ । अमेरिकामा रियल स्टेट तथा सेवाका क्षेत्रमा लगानी गर्दै आएका रयाड पण्डित विस्तारै होटलहरूको कोठा भरिन थालेको बताए । पण्डितले भने, ‘खोप पश्चात अमेरिकीहरूमा यात्रा गर्ने प्रवृत्ति वढेको छ, यसले होटल क्षेत्र बढी चलायमान भएको छ ।’

अझै पनि कर्पोरेट रूपमा वार्षिक सभा, सम्मेलन हुन भने सकेको छैन । अमेरिकामा हुने सभा सम्मेलनले होटल, एयरलाइन्स् र यातायात क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । टेक्सासमा होटल ला क्वान्टा एन्ड स्वीट्मा लगानी गरेका विकासराज न्यौपाने पनि अमेरिका पुरानै लयमा फर्किन कोसिस गरेकोमा खुसी छन् । उनले भने, ‘पछिल्लो दुई महिनाको आँकडा हेर्दा व्यवसायले विस्तारै आफ्नो लय समात्न थालेको अनुभूति भएको छ । होटलका कोठाहरू लिने दर बढदै गएको छ ।’

न्यौपानेका अनुसार टेक्सासमा खोपको उपलब्धता बढेसँगै रिटेल व्यवसाय, रेस्टुरेन्टलगायत होटल व्यवसायमा वृद्धि भएको छ । अमेरिकाले आफनो स्वतन्त्रता दिवस आगामी दुईसातामा मनाउँदै छ । उक्त दिन अमेरिकामा मानिसहरू ग्रीष्मकालीन रूपमा छुट्टी मनाउनका लागि हिँड्ने गर्छन् । यो समयलाई ग्रीष्मकालीन समयको एउटा चाडकै रूपमा समेत मनाएर मानिसहरूले खानपिन, जमघट र यात्रामा आफूलाई अत्याधिक व्यस्त राख्ने गर्छन् । जुलाई ४ अमेरिका स्वतन्त्र भएको दिन हो । यसलाई यहाँको सरकार र नागरिकले पनि उच्च प्राथमिकताका साथ मनाउने गरेका छन् ।

अमेरिका पुरानै लयमा फर्कने कोशिस गरिरहेको भए पनि पछिल्ला दिनहरूमा मानव संशाधनमा निकै चुनौती थपिएको छ । संघीय सरकारले वेरोजगार भत्ता बापतको रकममा दिँदै आएको अनुदान, ‘ईबिटी’ कार्ड बापतको रकमको वृद्धि तथा बालबालिकाका सुविधाअन्तर्गत मासिक रुपमा दिने रकमका कारणले पनि होला नागरिकहरू काममा फर्कन त्यति उत्साहित भएको भने देखिएको छैन । यसले गर्दा व्यवसायको वृद्धि हुने मौसममा जनशक्तिको अभावले साना तथा मझौला व्यवसायमा भने चुनौती थपिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन्ले दिएको तथ्यांकअनुसार आइतबारसम्ममा अमेरिकामा १४ करोड ९६ लाख ६७ हजार ६ सय ४६ अमेरिकिले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा ६५ प्रतिशत वयस्क नागरिकले एक मात्रा (डोज) खोप लिएका छन् भने ८७ प्रतिशत ज्येष्ठ नागरिकले कम्तिमा पहिलो खोपको डोज लिइसकेका छन् ।

विश्वमा धेरै नागरिकहरूले खोप प्राप्त गर्नेहरूको सूचीमा जिब्राल्टर, माल्टा देशका ७० प्रतिशत नागरिकले खोप प्राप्त गरेका छन् । यसैगरी कुवेत ६७ दशमलव ३ प्रतिशत, क्यानाडा ६५ दशमलव ४, इजरायल ६३ दशमलव ४, बेलायतका ६१ दशमलव ७ प्रतिशत नागरिकले खोप पाएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमण ३ करोड ३५ लाख ४१ हजार ९ सय ८६ जना नागरिकमा देखा परेकोमा हालसम्म यस संक्रमणका कारणले मृत्युवरण गर्नेको संख्या ६ लाख १ हजार जना पुगेको छ ।

अमेरिकामा रहेका स्वतन्त्र विश्लेषकहरू र अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट्) ले कस्तो असर गर्छ भन्ने कुरामा चनाखोपूर्वक विश्लेषण गर्न सुझाव दिइरहेका छन् । उनीहरू कोरोना भाइरस पूर्ण नियन्त्रणमा आयो भनेर भनिहाल्ने अवस्था छैन भनिरहेका छन् । यसलाई सुझवुझका साथ स्वास्थ्य मापदण्डहरूको ख्याल गर्दै नागरिकहरूलाई आफ्ना काम गर्न घुमफिर गर्न र जमघटहरूमा सामेल हुन उनीहरूले अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया