लगानी बोर्डको ४७ औं बैठक : ९७ अर्बको लगानी स्वीकृति

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४७औं बैठकले विभिन्न आयोजनाका गरी करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । माथिल्लो तमोर जलविद्युत परियोजना र तल्लो मनाग मस्याङदी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृत गरेको हो । बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मस्याङदी जलविद्युत परियोजना गरी दुई वटाको लगानी स्वीकृत गरेको हो । यी आयोजनको क्षमता क्रमश २ सय ८५ मेगावाट र १ सय ३९ दशलमव २ मेगावाट रहेको छ ।

बैठकले सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क ‘चाइना नेपाल फे्रन्डसिप इन्डस्ट्रियल पार्क’ को विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता सँग गरिने समझदारी–पत्र को मस्यौदा स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि २०७८ स्वीकृत भएको छ । उक्त अवसरमा प्रधानमन्त्रीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

त्यसैगरी उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । बैठकमा माननीय उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

प्रतिक्रिया