गाउँपालिकाले किसानलाई अनुदान दिएपछि उत्साहित

सल्यान । जिल्लाको त्रिवेणी गाउँपालिकाले अनुदान उपलव्ध गराएपछि किसानहरू उत्साहित हुन थालेका छन् । गाउँपालिकाले उत्पादनका आधारमा किसानहरूलाई अनुदान उपलव्ध गराएपछि किसानहरू कृषि तथा पशु व्यवसायमा आर्कषित हुन थालेका हुन् । गाउँपालिकाले प्रति खसीबोका पाँच सय, दूधमा प्रतिलिटर पाँच रुपैयाँ र अण्डामा प्रतिगोटा ५० पैसा अनुदान दिँदै आएको छ । जिल्लामै पहिलोपटक किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिन थालेपछि व्यवसाय विस्तारसमेत गर्न थालेका छन् ।

किसानहरूलाई दिइने अनुदानको व्यवस्थाले कृषकहरूमा उत्साह मात्रै नथपेर उत्पादनमा समेत वृद्धी भएको गण्डकी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठले बताए । ‘कृषकहरूले आफ्नो उत्पादन बिक्रि गरेर आम्दानी त गर्छन् नै तर गाउँपालिकाले दिएको अनुदानले समेत हामीहरूलाई थप हौसला प्रदान गरेको छ’, श्रेष्ठले भने । लेयर्स कुखुरापालन गर्दै आएका श्रेष्ठले अन्डा उत्पादन गरेबापत तीन लाख रुपैयाँ अनुदान प्राप्त गरेका थिए ।

गाउँपालिकाको अनुदान नीतिअनुसार उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादन वृद्धि भएको त्रिवेणी गाउँपालिकका पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । ‘किसानहरूलाई अनुदान दिने नीतिले उत्पादनमा वृद्धि भएको छ भने यसले व्यवसायीकरण गर्नसमेत मद्दत पुगेको छ, यसका लागि चालु आर्थिक वर्षमा हामीले किसान अनुदान कार्यक्रमअन्तर्गत ६ लाख रुपैयाँ छुट्याएका छौँ’, रावतले भने ।

गाउँपालिकाले व्यावसायिक कृषिमा संलग्न किसानहरूको विवरण संकलन गरेर उत्पादनका आधारमा अनुदान दिँदै आएको जनाएको छ । चालु आर्थिक वर्षमा पनि अनुदान वितरणका लागि किसानहरूको तथ्यांक संकलन भइरहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै गाउँपालिका भित्रका ८२ जना कृषकहरूले उत्पादनका आधारमा ५ लाख ६२ हजार ५७ रुपैयाँ अनुदान स्वरूप प्रदान गरिएको थियो ।
गाउँपालिकाभित्र उत्पादनलाई वृद्धि गर्न तथा स्थानीयस्तरमै रोजगारीको अवसरहरू सिर्जना गर्नका लागि अनुदान वितरण गर्ने नीति लिइएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए । ‘कृषकले उत्पादन गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको अनुदान प्रदान गर्ने, उनीहरूलाई प्रोत्साहन गरी रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको छ, त्यही अनुसार हामीले किसानहरूलाई अनुदान वितरण गर्दै आएका छौँ’, अध्यक्ष डाँगीले भने ।

अनुदान नीतिले युवा पुस्ताको आकर्षणसमेत बढाएको अध्यक्ष डाँगीको दावी छ । ‘उत्पादनका आधारमा अनुदान प्रदान गर्दा साना किसानहरू लाभान्वित हुन्छन् त्यसैले पनि हामीले किसानलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरेका हौँ’, अध्यक्ष डाँगीले भने ।
गाउँपालिकाभित्र अनुदान कार्यक्रम प्रभावकारी भएकोले आगामी आर्थिक वर्षका लागिसमेत बजेट विनियोजन गरिने गाउँपालिकाले जनाएको छ । त्रिवेणी गाउँपालिका कृषिजन्य उत्पादनका आधारमा कपुरकोट गाउँपालिकापछि दोस्रो गाउँपालिकामा पर्ने गर्छ ।

प्रतिक्रिया