जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरूमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरू अवरुद्ध भएको गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए । उनले भने, ‘सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ, वडा कार्यालयहरूसँग जोडिएका सडकहरू पहिरो र हिलाम्मे छन् ।’

वर्षाका कारण जिल्लाको पाटन–पञ्चेश्वर, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, ढोल्यामोड–पुर्चौंडी, देहीमाण्डौं–गिरेगडा, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनसेरीमाडौँ सडक, देहीमाडौँ–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक लगातारको वर्षाका कारण अवरुद्ध भएका हु्न् । यीबाहेक अन्य ग्रामीण सडकहरू पनि अवरुद्ध बनेका छन् ।

स्तरोन्नतिका काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा सवारी आवागमनमा समस्या भएको अस्थायी ट्राफिक पोस्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । उनले भने, ‘लगातारको वर्षाले सडक हिलाम्य छन्, कुनैकुनै ठाउँमा पहिरो पनि खसेको छ, गाडी चलाउन मिल्ने अवस्था छैन ।’

कच्ची सडकहरूमा वर्षात्को समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरूमा गाडी चलाउन निकै मुस्किल भएको यातायात व्यवसायीहरूले बताएका छन् । वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको जीप चालक नरेन्द्र विष्टले जानकारी दिए । उनले भने, ‘कच्ची सडक त्यसैमा लगातारको पानीले गर्दा समस्या भएको छ ।’

लगातारको वर्षाले जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ । यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेहरूलाई समेत कठिनाइ भएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न छोड्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । डाङ–कलौना जोड्ने सडक अवरुद्ध हुँदा बोकेरै खाद्यान्न ढुवानी गर्नुपरेको दोगडाकेदार–३ कलौनाका मनीराम गिरीले बताए ।

ग्रामीण सडकहरूमा गाडी नचल्दा कुनै नागरिक बिरामी भए पनि अस्पतालसम्म लैजानका लागि पक्की सडकसम्म पु¥याउनै मुस्किल हुने गरेको सुर्नया गाउँपालिकाका स्थानीय धनबहादुर विष्टको भनाइ छ । बिनास्टमेट र अनावश्यक रूपमा ग्रामीण क्षेत्रमा डोजरले खनिएका सडकहरूले यहाँका गाउँगाउँमा पहिरोको जोखिमसमेत बढाएको छ ।

प्रतिक्रिया