विश्व

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित

सौर्य अनलाइन २०७८ असार ६ गते १३:५५ मा प्रकाशित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित भएका हुन् ।

यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६।२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड–१९ परीक्षण गरिएको छ ।

ती मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो । त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय