आर्थिक समृद्धिका लागि गाँजा क्रान्ति

हिक्मतजंग मल्ल

गाँजाको दानामा गुणस्तरीय र उच्च मात्रामा प्रोटिन पाइने भएकाले यसलाई भेजिटेरियनहरूको प्रोटिन पाउडरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । प्रति सय ग्राममा ३१ दशमलव ५६ ग्राम प्रोटिन हुन्छ । हाम्रो शरीरलाई आवश्यक प्रायः सम्पूर्ण अमिनो एसिड, फ्याट्टी एसिडहरू, ओमेगा–३ र ओमेगा–६ को सन्तुलित अनुपात (१ः३) पाइने हुँदा यसको लोकप्रियता झनै बढेको छ । यसबाहेक यसको दानामा भिटामिन ए, वी, सी, इ र विभिन्न मिनरलहरू (प्रमुखः पोटासियम, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम) प्रशस्त पाइन्छन् ।

नेपालले अल्पविकसित मुलुकहरूको सूचीबाट एक सिँढी उक्लेर विकासशील मुलुकको सूचीमा आपूmलाई उभ्याएको भर्खरभर्खरै हो । तर, कोरोना महामारीले दुई वर्ष यता नेपालको आर्थिक वृद्धिदरमा ह्रास आइरहेको छ । बेरोजगारी को संख्या दिनप्रतिदिन बढ्दो छ, सरकारसँग न कुनै दीर्घकालीन लक्ष्य छ न त रोजगारी सिर्जना गर्ने माध्यम नै । प्रधानमन्त्रीदेखि मुख्यमन्त्री रोजगार कार्यक्रम आसेपासेको दुनो थाप्ने माध्यम बनेको छ । प्रत्येक वर्ष रोजगारीका लागि खाडी मुलुक र भारतका सहरमा नेपाली युवा शक्ति जाने क्रम बढ्दो छ । युवा शक्तिलाई रोक्न र रोजगारीमा परिचालन गर्न अबको आवश्यकता भनेको ग्रिन रेभोलुसन अर्थात हरित (गाँजा) क्रान्ति हो ।

बिनोद चौधरी को एक वर्ष पहिलेको आम्दानी एक बिलियन डलर थियो अहिले करिब दुई बिलियन डलरको हाराहरीमा पुग्दैछ । यसको मतलब यो हो कि धनी पँुजिपतिहरू झन्झन् धनी भइरहेका छन । यो आर्थिक विकास हो तर आर्थिक समानता कदापि होइन । उदाहरणका लागि एक ब्यक्तिसँग एक हजार रुपैयाँ हुनु र १० जना ब्यक्तिसँग सय रुपैयाँ हुनुमा धेरै अर्थ लाग्छ । जब समाजमा आर्थिक समानता हुँदैन तबसम्म देशले समृद्धि र समाजवादको बाटो पहिल्याउँदैन ।

फरक–फरक उचाइ र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक भए पनि विविध प्रकारका हावापानी पाइन्छन् । उष्ण मनसुनी हावापानी, न्यानो समशीतोष्णदेखि हिमाली हावापानी हाम्रो विशेषता हो । गाँजा तराईका फाँटदेखि हिमालका काखसम्म सजिलै उत्पादन गर्न सकिने बनस्पति अझ भन्नु पर्दा जडीबुटी हो । पाँगो माटो, बलौटे माटोदेखि तलैया माटोसम्म कम लगानीमा सहजै उत्पादन गर्न सकिन्छ । देशअनुसार यस वनस्पति विभिन्न नामले प्रचलित भएता पनि अंगे्रजीमा भने यसलाई प्रायः हेम्प (औद्योगिक प्रयोजन) र मेरिवाना मनोरञ्जन र औषधिजन्य प्रयोजन दुई नामले बढी चिनिन्छ । अहिलेको हाम्रो नेपाली समाजमा भने गाँजालाई धुवाँको बिम्बका रूपमा मात्र परिभाषित गर्ने प्रचलनले गर्दा त्यस पछाडिका अपार सम्भावनाहरू कुण्ठित हुन पुगेका छन् ।

दोस्रो विश्वयुद्धका कारण अमेरिकामा जापानलगायत अन्य मुलुकहरूबाट आयात गरिने कच्चापदार्थहरूमाथि रोक लाग्न थालेपछि त्यहाँका उद्योगहरूमा मुख्यतः फाइबरको अभाव सिर्जना हुन थाल्यो । त्यसपश्चात अमेरिकी कृषि विभागले सन् १९४२ मा हेम्प फर भिक्ट्री नामक वृत्तचित्र सार्वजनिक गरी किसानहरूलाई यसको खेतीतर्फ प्रोत्साहन गर्न खोजेको पनि पाइन्छ ।

हिजोका नेपाली समाजहरूमा शासक वर्ग, राजा, महाराजाहरूबाहेक अधिकांश आमनागरिकहरूले उपभोग गर्ने लत्ताकपडा, जुत्ता चप्पल इत्यादि प्रायः सामग्रीहरू केरा, सिस्नो, गाँजा, जुट आदि वनस्पतिहरूको प्रयोगमार्फत नेपालभित्र नै निर्माण गर्ने गरिन्थ्यो । जसले नेपाली समाज र गाँजाबीच निकै पुरानो सम्बन्ध रहेको कुराको पनि झल्को दिन्छ । सन् १९६० को दशक यता नेपालमा हिप्पी संस्कृतिलाई अवलम्बन गर्ने पश्चिममा मुलकका जमातहरूको बाक्लो उपस्थिति भयो । यो सँगै गाँजाजन्य वस्तुहरूको मागको बढ्दो क्रम देखेर नै तत्कालीन राजा महेन्द्रले सन् १९६१ बाट गाँजा बेचबिखनका निम्ति व्यापारी, किसानहरूलाई लाइसेन्स अनिवार्य गरी त्यसमाथि कर व्यवस्थाको पनि थालनी गरे । त्यसै दशक यता नेपालमा गाँजा र हिप्पी संस्कृतिको विषयलाई लिएर पश्चिमा मुलुकहरूले (मुख्यतः अमेरिका) गाँजा प्रतिबन्धतर्फ इच्छा वा दबाब सिर्जना गरेको भन्ने एउटा चर्चा पनि बाहिरी रूपमा देखा पर्न आउँछन् ।

नवउदारवाद र विश्वबजारीकरणको नाममा दलाल पुँजीवादी प्रवृत्तिसहित नेपाल प्रवेश गरेका बहुर्राष्ट्रिय कम्पनीहरूले नेपालका विभिन्न उद्योगहरूजस्तै हेटौँडा कपडा उद्योग, भृकुटी कागज उद्योग, जनकपुर चुरोट कारखाना, चिया उद्योग, रबर उद्योगलगायत अन्य थुप्रै उद्योगधन्दाहरूलाई विस्थापित गर्दै पतनको संघारसम्म पनि पु¥याएको कुरा जगजाहेर नै छ । कारण जुनसुकै भएता पनि ,सन् १९७३ जुलाई १६ मा नेपालमा गाँजा बेचबिखनमाथि प्रतिबन्ध लगाई सम्पूर्ण लाइसेन्सहरू पनि खारेज गरियो । जसकारण, त्यसबेला सरकारलाई झन्डै एक लाख डलर महसुल घाटा बेहोर्नुपरेको थियो । क्रमशः सन् १९७६ मा लागुऔषधसम्बन्धी नीति ल्याई गाँजामाथि नेपालले पूर्ण रूपमा प्रतिबन्धको घोषणा ग¥यो । संयोगवस पनि हुन सक्दछ, सन् १९८६ देखि नै नेपालमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चुरोटलगायत अन्य सामग्रीहरूको बिक्रीवितरण सुचारु ग¥यो । यो कम्पनी मुख्यतः बेलायती र अमेरिकी लगानीमा आधारित कम्पनी हो । आज पनि प्रतिवर्ष लाखौँ डलर बराबरको नेपाली मुद्रा यसै कम्पनीमार्फत विदेशीको खल्तीसम्म पुग्ने गरेको छ ।

साधारण रूपले व्याख्या गर्दा, यस बनस्पतिमा मुख्यतः दुई किसिमका कम्पाउन्डहरू पाइन्छन् टिएचसि (नशाजन्य गुण भएको) र सिबिडी (औषधिजन्य गुण भएको) । औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने हेम्पमा टिएचसी एकदमै न्यून (शून्य दशमलव शून्य ३ प्रतिशत) पाइन्छ भने सिबिडीको मात्रा बढी हुन्छ, मेरिवानामा भने ठीक यसको विपरीत सिबिडी कम र टिएचसी बढी (५–३५ प्रतिशत) मात्रामा पाइन्छ ।
नेपाली समाजमा प्रायः गाँजाका दानालाई अचार बनाएर प्रयोगमा ल्याउने प्रचलन रही आएको छ । कुखुरा, चराचुरुंगीहरूलाई आहाराको रूपमा पनि खुवाइने यसका दाना, मानिसको लागि पूर्ण पौष्टिक आहारको स्रोतका रूपमा लिने गरिन्छ । गाँजाको दानामा गुणस्तरीय र उच्च मात्रामा प्रोटिन पाइने भएकाले यसलाई भेजिटेरियनहरूको प्रोटिन पाउडरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । प्रति सय ग्राम, यसमा ३१ दशमलव ५६ ग्राम प्रोटिन हुन्छ । हाम्रो शरीरलाई आवश्यक प्रायः सम्पूर्ण अमिनो एसिड, फ्याट्टी एसिडहरू, ओमेगा–३ र ओमेगा–६ को सन्तुलित अनुपात (१ः३) पाइने हुँदा यसको लोकप्रियता झनै बढेको छ । यसबाहेक यसको दानामा भिटामिन ए, बी, सी, इ र विभिन्न मिनरलहरू (प्रमुखःपोटासियम, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम) प्रशस्त पाइन्छन् ।

दानालाई प्रशोधन गरी त्यसबाट तेल निकालिन्छ भने त्यसको बाइप्रोडक्टमा पनि विभिन्न पौष्टिक तत्व पाइने हुँदा जनावरहरूलाई खुवाउने गरिन्छ । कोलेस्ट्रोलरहित पोषणयुक्त तेल उत्पादन हुने हुँदा यसलाई खानेकुरा पकाउनका निम्ति प्रयोग गर्न सकिन्छ । तेलमा सिबिडीको मात्रा बढी हुने हुदा यसलाई विभिन्न मेडिकल प्रयोगहरूमा समेत समावेश गर्न सकिने कुरा विभिन्न तथ्यद्वारा पनि प्रमाणित भइसकेको छ । अनेकौँ औषधिजन्य गुण र पौष्टिक तत्वहरूको स्रोत भएको तेल, यदि प्रशोधन गरी नेपाली बजारसमक्ष पु¥याउने वातावरणको सिर्जना हुने हो भने ठूलो नेपाली अर्थतन्त्र विदेशीको खल्तीमा जानबाट जोगाउन सकिने सम्भावना देखिन्छ । नेपालले प्रतिवर्ष झन्डै २२ अर्ब (०७५÷७६) रुपैयाँ बराबरको सूर्यमुखी, सोयाबिन र तोरीको मात्र दाना तथा तेल आयात गर्ने गरेको छ ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको उद्देश्य यसको खेती खुल्ला गरी गाँजा खेतीलाई प्रोत्साहन गर्ने र त्यसलाई नियमन गर्दै गैरकानुनी खेती तथा विक्री वितरणलाई नियन्त्रण गर्नु रहेको छ । विधेयकमा गाँजालाई यसको बोट, बिउ, फूल वा फल र गाँजा जातको भाङ वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट निस्कने खोटो, चोब आदि भनी परिभाषित गरिएको छ । हरेक घर परिवारले घरायसी प्रयोजनका लागि ६ वटासम्म बोट रोप्न पाउने विधेयकमा उल्लेख छ । त्यस्तै कपडा बनाउन वा औद्योगिक प्रयोजनका लागि वा खाद्य पदार्थको रूपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन र विक्रि वितरणका लागि भाङको खेती गर्न अनुमति लिनु नपर्ने प्रस्ताव विधेयकमा छ ।

आर्थिक तथा औद्योगिक विकास तर्फको युगमा यस्ता मुद्दाहरू लाई मुखावृती गर्नु अपरिहार्य बनेको छ। देशलाई आर्थिक समृद्धि तिर लैजान हरित क्रान्ति सगै यसमा लागेका प्रतिबन्धको फुकुवा हुनपर्छ।

(मल्ल अनेरास्ववियु केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया