ओझेलमा पर्दै कालिदह–झुले छौडे सडक

दोलखा । यतिबेला दोलखाका दर्जनौँ सडक धमाधम कालोपत्रे भइरहेका छन् भने केही सडकहरूमा कालोपत्रेको काम सम्पन्न भइसकेको छ । जिल्लाको चरिकोट–सिगटी, मुडे–शैलुङ, तामाकोसी–मेलुङ, हाँवा–च्यामा, नाम्दु–क्षेत्रपा लगायत दर्जनौँ सडक कालोपत्र भइरहँदा तामाकोसी गाउँपालिकाको मुख्य सडक कालिदह– झुले छौडे सडक भने अझै कालोपत्रे हुन सकेको छैन । कतिपय स्थानीयतहहरूले आफैं बजेट विनियोजन गरेरसमेत सडक कालोपत्रे गरिरहेका छन् ।

तर, तिनै तहका सरकारको बेवास्ताका कारण जिल्लाकै पुरानो ग्रामीण सडक रूपमा चिनिने कालिदह–गैरिमुदी हुँदै झुले छौडे जाने सडक अझै कालोपत्रेको प्रक्रियामा समेत पुग्न सकेको छैन । करिब ३० वर्षअघि तामाकोसी गाउँपालिका–१ भिरकोट बाट बैत्यश्वर गाउँपालिकाको गैरिमुदी हुँदै तामकोसी–३ कै छौडेबाट जिरीसम्म पुगिने गरी यो सडकको ट्रयाक खोलिएको थियो । कालोपत्रेका लागि पटकपटक डिपिआर गर्दै छोड्दै गरिएको यो सडकमा यतिबेला हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ ।

स्थानीय रामप्रसाद काफ्लेले बताएअनुसार यो सडकको ट्रयाक ०४२ सालमा खोलिएको थियो । यो सडकमा सार्वजनिक यातायात चल्न थालेको नै १५ वर्ष भइसकेको छ तर सडकको अबस्था भने उस्तै छ । वर्सेनि तीन तहका सरकारबाट लाखौँ बजेट विनियोजन गरिएता पनि सडक भत्काउनेभन्दा अरू कुनै काम नभएको उनी बताउँछन् । हाल पनि यो सडकमा केन्द्र सरकार र प्रदेश सरकारको बजेटबाट काम भइरहेको भएता पनि गुणस्तरीय काम नभएको अर्का स्थानीय शेखर काफ्लेले बताए ।

तामकोसी गाउँपालिकाको भिरकोट, झुले, जफे, हाँवा, च्यामा र बैत्यश्वर गाउँपालिकाको गौरिमुदी, मिर्गे, जोरमानेलाई समेटेर खनिएको यो सडक कालोपत्रे हुन नसक्दा सार्बजनिक यातायात सम्म अर्को वैकल्पिक बाटो हुँदै चल्न थालेपछि स्थानीयहरू मारमा परेका छन् । स्थानीयहरू घण्टौँसम्म सार्वजनिक यातायात कुरेर बस्ने तर यातायात व्यवसायीले मनलागि वैकल्पिक सडकबाट यातायात चलाउन थालेपछि स्थानीयहरू महँगो भाडा तिरेर प्राइभेट सवारी साधन प्रयोग गर्न बाध्य भएका छन् ।

सवारीसाधन नचलेपछि स्थानीयहरूले उत्पादन गरेका तरकारीहरू बजारसम्म पु¥याउन सकेका छैनन् । यातायात नचलेपछि विभिन्न कामले सदरमुकाम आउने स्थानीयहरू यातायातकै लागि घण्टौँ हिँड्न बाध्य भएका छन् । बैत्यश्वर गाउँपालिकाले पालिकाकै बजेट भिरकोटको गोपिखोलाबाट गैरिमुदीसम्म सडक कालोपत्रे गरेपछि सार्वजनिक सवारीका साधन सोही बाटो हुँदै चल्न थालेपछि भिरकोटका सयौँ घरपरिवार यातायात सेवाबाट वञ्चित भएका छन् । यातायातका साधनबाट वञ्चित भएपछि स्थानीयस्तरमा उत्पादन गरिएका बस्तुहरू बजारसम्म पु¥याउन कठिन भएको उनीहरू बताउँछन् । सार्वजनिक यातायातले सडक परिवर्तन सवारीसाधन चलाए पनि कारबाही गर्ने निकाय मौन बस्दा स्थानीयहरू यातायात सेवाबाट वञ्चित भएका हुन् ।

प्रतिक्रिया