आमा यांग्री रिसाउँदा

अञ्जु कार्की

विचरा मेलम्चीलाई दोष दिनु हुन्न । मेलम्ची नदी आफैं पहिरोको संकटमा परेकी हुन् । आफूलाई पहिरोले पुरेपछि विचरा मेलम्चीले गरुन के ? आफूमाथि बज्रिएका ढुंगा माटोहरूलाई समाहित गर्दै निरन्तर बगिरहनु त नदीको धर्म नै हो । बास्तवमा मेलम्ची रिसाएकी होइनन्, आफ्नो धर्म निर्वाह गरेकी मात्रै हुन् । रिसाएकी त आमा यांग्री हुन् ।

काकाकुल बनेको काठमाडौं उपत्यकालाई खानेपानी उपलव्ध गराएर ४० लाख जनतालाई प्राण र त्राण दिएकी मेलम्ची नदीले यतिबेला ठूलो कष्टमा परेकी छिन् । आफ्नो कष्ट साम्य पार्न छटपटिने क्रममा मेलम्चीले आसपासको क्षेत्रलाई लपेटेकी छिन् । असिम पीडाले मेलम्ची छटपटिने र मडारिने क्रममा यस क्षेत्रमा के कति क्षति पुगेको छ ? भन्ने एकिन तथ्यांक आएको छैन, जे होस यति ठूलो पीडा र छटपटीमा मेलम्ची अहिलेसम्म पुगेकी थिइनन् । कसै कसैले मेलम्ची रिसाएर यो वितण्डा मच्चाएकी हुन् कि भन्ने टिप्पणी पनि गरेका छन् । काठमाडौंमा पानी झरेपछि मेलम्ची नदीको पूजाआजा गर्नुपर्ने थियो, तर पूजा–आजा गर्न चुकेका कारण यो वितण्डा मच्चाएको टिप्पणी पनि गरेका छन् ।

विचरा मेलम्चीलाई दोष दिनु हुन्न । मेलम्ची नदी आफैं पहिरोको संकटमा परेकी हुन् । आफूलाई पहिरोले पुरेपछि विचरा मेलम्चीले गरुन् के ? आपूmमाथि बज्रिएका ढुंगा माटोहरूलाई समाहित गर्दै निरन्तर बगिरहनु त नदीको धर्म नै हो । बास्तवमा मेलम्ची रिसाएकी होइनन्, आफ्नो धर्म निर्वाह गरेकी मात्रै हुन् । रिसाएकी त आमा यांग्री हुन् । आमा यांग्री हिमालबाट जन्मेकी हुन् मेलम्ची । आमा यांग्रीले मेलम्ची मात्रै होइन, तिम्ल्याह सन्तानका रूपमा लार्के र यांग्रीलाई समेत जन्माएकी छिन् । हेर्दा दुरुस्त देखिने यी तिम्ल्याह दिदीबिहिनी मध्ये मेलम्ची जेठी हुन्, यांग्री माहिली हुन्, लार्के कान्छी हुन् । यी तीन बहिनी एकै ठाउँमा जम्मा भएपछि इन्द्रावतीको साझा नामले पुकारिन्छन् । इन्द्रावतीले सुनकोसी, सप्तकोसी बन्दै गंगा बन्दासम्म धेरैको तीर्खा मेटाइरहेकी छिन् । जेठी मेलम्चीले काठमाडौं उपत्यकावासीको तीर्खा मेटाउन नसकेको हामी तयार छौँ भन्दै माहिली लार्के र कान्छी यांग्री तम्तयार भएर बसेका छन् ।

गत वैशाख यता जेठी मेलम्चीले काठमाडौंवासीको तीर्खा भरपुर रूपमा मेटाउन थालेकी छिन् । मेलम्ची संकटमा पर्दा राजधानी काठमाडौंवासीले आफ्नो कर्तव्य निर्वाह गर्न कत्ति पनि चुक्नुु हुन्न । राहत र उद्धारका लागि तत्काल जुट्नु काठमाडौं उपत्यकावासीको धर्म हो । अहं कर्तव्य पनि हो । यो धर्म र कर्तव्य निर्वाह गर्न काठमाडौं उपत्यका भित्रका पालिकाहरू तत्काल जुट्नुपर्छ । वार्षिक १६ अर्ब रुपैंया बजेट त काठमाडौं महानगरपालिकाको मात्रै छ । मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्याकाका सबै महानगरपालिका तथा नगरपालिकाको गरी वार्षिक बजेट ५० अर्ब रुपैंयाभन्दा माथि छ । उपत्यकाका ४० लाख जनताले मेलम्चीको पानी उपभोग गर्छन् । यिनै ४० लाख जनताले तिरेको कर हो यो ५० अर्ब रुपैयाँ वार्षिक बजेट । ५० अर्ब रुपैयाँ वार्षिक बजेट भएको ठाउँले इच्छाशक्ति देखाउने हो भने आमा यांग्री जलाधार क्षेत्रमा रहेका करिब १० हजार जनसंख्यालाई प्राकृतिक स्रोतको दोहन नै नगरी उनीहरूले चाहकै स्थानमा सुखी र खुसीका साथ पाल्न सकिन्छ ।

आमायांग्री जलाधार क्षेत्रको संरक्षणका लागि काठमाडौं उपत्यकाले आफ्नो जिम्मेवारी बिर्सनु हुन्न । मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने क्रममा गल्ती कहाँनिर भयो ? भन्ने प्रश्नको उत्तर स्पष्ट नै छ । मेलम्चीको पानी काठमाडौंमा ल्याउने आयोजना निर्माणका क्रममा आमा यांग्री जलाधार क्षेत्रका सिधासधा बासिन्दालाई एनजीओकर्मी तथा विचौलियाहरूले धेरै नै उचाले । पानी लैजाने भए विकासका लागि उल्लेख्य बजेट चाहिने माग गरे । करिब ४० अर्ब रुपैयाँ लागतको मेलम्ची खानेपानी आयोजनाले स्थानीय क्षेत्रको विकासका लागि उल्लेख्य बजेट दियो । मागेजति नै बजेट दियो । तर, त्यो बजेटको अधिकांश हिस्सा सडक निर्माणमा खर्च भयो । सडक निर्माणलाई बाहेक अरू कुरालाई स्थानीयवासीले विकास देखेनन् । गल्ती यहीँनिर भएको हो ।

पहिरोले यति ठूलो वितण्डा मच्चाउनुको मुुख्य कारणतर्फ हेलम्बुवासी सचेत हुनै पर्छ । कमजोर भू धरातल भएका भिराला पहाड डोजरले खोपेर सडक निर्माण गर्ने गल्ती हेलम्बुवासीले गरेकै हुन् । मेलम्ची खानेपानी आयोजनाले हेलम्बु क्षेत्रको विकासका लागि धेरै ठूलो रकम प्रदान गरिसकेको छ । यति ठूलो रकमले केबुलकार निर्माण गर्न सकिन्थ्यो । तर ५० परिवारको बसोवास भएका गाउँहरूमा १२ किलोमिटर पहाड खोपेर सडक निर्माण गरियो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पक्की सडकको निर्माणपछि नदी आसपासका बस्तीहरू स्वभाविक रूपमा बजारको रूपमा विकास हुन थाले । माथिका गाउँहरूका मानिसहरू बेँसी झर्ने लहर चल्यो । गाउँहरू खाली हुँदै गए । प्रचुर पर्यटकीय तथा कृषिको संभावना बोकेका गाउँहरू खाली हुँदै जानु आफैँमा दुःखद् परिघटना थियो । यी गाउँहरूलाई फेरी गुल्जार बनाउन सकिन्छ कि भन्ने धेयले बेँसीबाट गाउँसम्म डोजर लगाएर धमाधम सडक निर्माण गर्न थालियो । सडक निर्माणका लागि मेलम्ची खानेपानी आयोजनाबाट चाहिए जति बजेट पाउन सकिने अवस्था छँदै थियो । मेलम्ची किनारका करिब एक दर्जन बेँसीबाट गाउँसम्म पुग्ने एक दर्जन सडक निर्माण गरियो । ती सडकहरू प्रत्येकको लम्बाइ १२ देखि १६ किलोमिटरसम्म छ । यसैगरी पहाडका एक गाउँदेखि अर्को गाउँ जोड्ने सडक निर्माण गरियो । यसै त हिमाली क्षेत्रको भुवनौट कमजोर छ । सुक्खा सिजनमा समेत यत्तकै पनि पहिरो गइरहन्छ । त्यसमाथि पनि भिरालो पहाड डोजर लगाएर खोप्दा र नदीबाट ढुंगा तथा बालुवा निकाल्दा हालत के होला ? मेलम्चीले वितण्डा मच्चाउनुको मुख्य कारण यही हो ।

आमा यांग्रीलाई महान वौद्ध गुरु पद्मसंभवले यसै पूजनीय भनेका थिएनन् । हिमाली क्षेत्रको भ्रमण गर्ने क्रममा पद्मसंभव करिव पाँच वर्ष हेलम्बु क्षेत्रमा तपस्या गरेर बसेको वौद्धधर्म ग्रन्थमा उल्लेख छ । उनले नै हेलम्बु क्षेत्रको हिमाललाई आमा यांग्रीको नाम दिएर पूजा–आजाको प्रचलन बसाएका हुन् । ती महामनावले आमा यांग्रीको पूजा गर्ने प्रचलन यसै बसाएका थिएनन् । यस क्षेत्रको भू–धरातल कमजोर र संवदेशनशील भएकोले संरक्षणका लागि आमा यांग्री नामाकरण गरिदिएका थिए ।

यस क्षेत्रमा हज्जारौँ वर्षको इतिहास बोकेका प्राचिन गुम्बाहरू धेरै छन् । यस क्षेत्रको सबैजसो जग्गा तिनै गुम्वाको गुठीका नाममा छ । स्थानीय बासिन्दाले त भोग चलन गर्ने मात्रै हो । जग्गाको स्वामित्व उनीहरूका नाममा छैन । यो तपोभूमी भएका कारण यो परम्परा कायम गरिएको हो । तर पछिल्ला दिनमा यो तपोभूमी डोजरले भत्काउन थालियो । मेलम्ची खानेपानी आयोजनाले स्थानीय क्षेत्रमा विकास बजेट प्रवाह गर्नुअघि यस क्षेत्रको भूधरातलीय यथार्थतालाई अध्ययन गर्नु पथ्र्यो । किन पद्मसंभवले तपोभूमिका रूपमा यस क्षेत्रको पूजा गर्ने प्रचलन बसाएका थिए होलान् ? भन्नेतर्फ मुलुकका नीति निर्माताहरूले ध्यान दिनुपथ्र्यो । स्थानीय बासिन्दाहरूले पनि यो मामिलामा ख्याल गर्नुपथ्र्यो ।

जे नहुनुपर्ने थियो, त्यो भइसकेको छ । उद्धार र राहत तत्कालिन आवश्यकता हो । दीर्घकालका लागि भने केही सोच्नै पर्छ । निर्माण भइसकेका सडकहरूलाई पहिरो रोकथाम हुने प्रविधि अपनाएर मर्मत गर्नु बाहेक अर्को विकल्प छैन । थप सडकहरू निर्माण गर्न यस क्षेत्रमा अब आवश्यक छैन । प्रचुर पर्यटकीय संभावना बोकेका गाउँहरू छन् यस क्षेत्रमा । काठमाडौं उपत्यकाबाट धेरै नजिक छ । पर्यटन मात्रै होइन राणाकालमा राजधानी काठमाडौंलाई यस क्षेत्रले भरपुर स्याउ खुवाएको थियो । अहिले यस क्षेत्रमा स्याउखेती लोप भइसकेको छ, तर स्याउका विशाल बगैँचा देख्ने बुढापाकाहरू हेलम्बु क्षेत्रमा अझै पनि छन् । विगतमा जस्तै प्रचुर स्याउ खेती प्रवर्धन गर्न सकिन्छ । यसैगरी वर्षा सिजनमा यस क्षेत्रमा प्रचुर तरकारी उत्पादन हुने संभावना छ । बेमौसमी तरकारी उत्पादन गरेर यस क्षेत्रले काठमाडौं उपत्यका पाल्न सक्ने ताकत पनि राख्छ । यस क्षेत्रलाई यसै आमा यांग्रीको नामले पुकारिएको होइन । काठमाडौं उपत्यकावासीले समेत अब आमालाई जस्तै यस क्षेत्रप्रति आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । आमा यांग्रीले पनि आफ्ना सन्तानहरू प्रतिको कर्तव्य अवस्य निर्वाह गर्नेछिन् ।

प्रतिक्रिया