पूर्णकलाको लोकगीत ‘जानी मायालु’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायिका पूर्णकला बिसीले नयाँ ‘जानी मायालु’ बोलको लोकगीत ल्याएकी छन् । हजारौँ गीतमा आवाज दिएर लाखौँ दर्शक–श्रोताको रोजाइमा परेकी गायिका बिसीले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै फरक खालको उक्त गीत ल्याएकी हुन् ।

आज (बुधबार) केही समयअघि मात्रै सार्वजनिक उक्त गीतमा गायिका पूर्णकलाले एकल आवाज दिएकी छन् । जय देवकोटाको मर्मस्पर्शी शब्द रचना रहेको सो गीतमा नन्दु परियारले संगीत भरेका हुन् भने सञ्जय श्रीपालीको संगीत संयोजन रहेको छ । हरेक मायाप्रेममा बाँधीने प्रेमीहरुको बेदनामा मेल खाने गरी गीत ल्याएको गायिका बिसीले बताइन् ।

त्यस्तै, उक्त गीतको भिडियोमा मोडल धनकाजी परियार, टिका जैसी र बाल कलाकार रौनिया परियारले अभिनय गरेका छन् । यी दुई मोडल धनकाजी र टिका यस गीतको भिडियोमा श्रीमान र श्रीमतीको भूमिकामा देखिएका छन् ।

गायिका बिसीको आफ्नै ‘पूर्णकला बिसी’ नामक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । दुर्गा पौडेलले भिडियोको निर्देशन र छायांकन गरेका छन् । अनिल विष्ट प्युठानीले भिडियो सम्पादन गरेका हुन् ।

केही महिना अगाडि छायांकारको रुपमा चिनिएका पौडेल पछिल्लो समय निर्देशनमा सक्रिए रहेको पाइन्छ । कोरोनाको महामारीले गर्दा धेरै कलाकार लगायत आम नागरिक यतिबेला मर्कामा परेका छन् ।

महामारी हुनुभन्दा अगाडिका वर्षहरुमा कलाकारहरुको गीत संगीत तथा तीजका गीत ल्याउनमा चहलपहल धेरै हुने गर्दथ्यो । तर, यस वर्ष भने खासै चहलपहल देखिएको छैन । यस महामारीसँगै गायिका पूर्णकला बिसीले यस वर्षको तीजमा भने अरुको गीतमा आफूले आवाज दिए पनि आफ्नै लगानी गरेर तीज गीत ल्याउने सोचमा नरहेको जानकारी दिइन् ।

प्रतिक्रिया