चीनले गर्यो नेटोको ‘प्रणालीगत चुनौति’ को दावी अस्वीकार

ब्रसेल्स । चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले ‘प्रणालीगत चुनौतीहरू’ प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा ‘शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता’ रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

यूरोपेली यूनियन (ईयू) का लागि चिनियाँ नियोगका प्रवक्ताले एक विज्ञप्तिमार्फत भने, ‘चीन प्रतिरक्षा नीतिप्रति प्रतिबद्ध छ, जुन प्राकृतिक प्रतिरक्षा हो, चीनको रक्षा र सैनिक आधुनिकीकरणको कार्य न्यायसङ्गत उचित, खुला र पारदर्शी रहेको छ ।’

सन् २०१९ पछि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को पहिलो बैठकमा चीन छलफलको केन्द्रबिन्दु थियो । सोमबार जारी विज्ञप्तिमा नेटो नेताहरूले चीनको ‘अडान’बारे चासो व्यक्त गर्दै बेइजिङको जबरजस्त नीतिप्रति चिन्ता व्यक्त गरेका साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।

युरोपेली र उत्तर अमेरिकी ३० देशहरुको नेटो गठबन्धनले चीनले प्रणालीगत चुनौती पेश गरेको र बेइजिङले सिर्जना गरेको प्रभाबको प्रतिरोध गर्ने प्रतिवद्धता जनाएका छन् ।

शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने, ‘चीनले ‘धेरै हतियारहरू र अत्याधुनिक परिष्कृत, प्रक्षेपण प्रणालीको साथ आफ्नो परमाणु शस्त्रागार द्रुत रूपमा विस्तार गरिरहेको छ साथै रूससँगको सैन्य सहकार्य बढाएको छ भन्ने पुष्टि भएको छ ।’

‘नेटो नेताहरूले चीनसँग उसको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई समर्थन गर्न, अन्तरिक्ष प्रणाली, साइबर र समुद्रिक क्षेत्रलगायतका अन्तर्राष्ट्रिय प्रणालीमा जिम्मेवार भई कार्य गर्नका लागि प्रमुख शक्तिको रूपमा आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्,’ स्टोल्टनबर्गले भने । साउथ चाइना मर्निङ पोस्टका अनुसार ७९ बुँदे कथनमा तीन अनुच्छेद र १० लाई चीनप्रति समर्पित गरिएको छ ।

नेटोका महासचिव स्टोल्टनबर्गको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गर्दै चीनले कुनै पनि बेला र कुनै पनि परिस्थितिमा आणविक हतियारहरूको प्रयोग नगरेको पहिलो सिद्धान्तको पालना गर्दछ र गैर आणविक हतियार नभएका राष्ट्रहरूलाई आणविक हतियार मुक्त क्षेत्र घोषणा गर्दै उनीहरूविरूद्ध आणविक हतियारको प्रयोग गर्ने वा धम्की नदिने बताएको छ ।

‘म यो प्रश्न सोध्न चाहन्छु कि शान्ति, सुरक्षा र स्थायित्वको लागी प्रयास गरिरहेका नेटो र त्यसका सदस्य राष्ट्रहरुले पनि के चीन जत्तिकै प्रतिबद्धता व्यक्त गर्न सक्छन्’, नियोगका प्रवक्ताले प्रतिप्रश्न गरेका छन् ।

प्रतिक्रिया