तीजको नाममा छाडा गीत नल्याउन सम्बन्धित कलाकारलाई प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीजको नाममा छाडा गीत नल्याउन सम्बन्धित कलाकारहरुलाई आग्रह गरेको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज बर्खामा पर्ने गर्दछ । हिन्दु परम्परा अनुसार तिथि–मिति फेरदल हुँदा अघिपछि तीज सर्ने गर्दछ भने यस वर्ष आगामी भदौ महिनाको २४ गते बिहीबार हरितालिका तीज परेको छ ।

तर, केही कलाकारहरुले भने तीज आउनुभन्दा दुई–तीन महिना अगाडिबाट नै तीज गीत ल्याउन सुरु गर्छन् । सोही अनुसार असार सुरु भएलगत्तै प्रतिष्ठानले यस्तो आग्रह गर्दै एक अपिल पत्र सार्वजनिक गरेको हो ।

विगतका वर्षहरुमा तीज गीतको नाममा केही कलाकारहरुले बिकृति तथा अपाच्यजन्य गीत सार्वजनिक गरेपछि सम्पूर्ण दर्शक–स्रोताबाट गुनासो आएको हुँदा प्रतिष्ठानले ध्यानार्कषण भएको जनाउँदै यस वर्ष पनि त्यस्ता गीत बजारमा ल्याएर समाज नभड्काउन यससँग सम्बन्धित कलाकारहरुलाई आग्रह गरिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

अध्यक्ष बिजीसँगै महासचिव सुवास केसी र बिकृति विसंगती न्यूनीकरण कार्यदलका संयोजक शिव शमालले आज (मंगलबार) हस्ताक्षर गरी सार्वजनिक गरेको अपिल पत्रमा भनिएको छ, ‘नेपाली मौलिक लोकगीत संगीतअन्तर्गत पर्व गीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुपमा लिइन्छ ।

हरेक वर्ष उल्लेखीए मात्रामा तीज गीतहरु कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न पाइन्छ, यो शुखद पक्ष पनि हो । तथापी कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसंगती, अभद्र, श्रव्यदृश्यहरुप्रति समस्त दर्शक श्रोताहरुको गुनासो वर्षेनी आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यानार्कषण भएको छ ।

तसर्थ सम्पूर्ण श्रष्टा, सर्जक, गायक–गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा सामाजिक सद्भावमा खलल् पुर्याउने एवं अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगरिदिनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौँ ।’

साथै, प्रतिष्ठानले विकृति विरुद्धको चासो, गुनासो र सुझावको लागि समस्त शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया