अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नगर्नू : तीन पूर्वप्रधानमन्त्री

काठमाडौं । कोटेश्वरमा बसेको तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् । सोमबार साँझ विपक्षी गठबन्धनका नेतासमेत रहेका तीन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफलमा बसेका थिए ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा–छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गरेको स्रोतले बताएको छ । त्यस्तै बैठकले आपसी सम्बन्धबारे पनि छलफल गरेको छ । सोमबारको बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो ।

सोमबारको बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको बताइएको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल गरेको र अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

राज्यका कतिपय अङ्ग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका उत्पन्न भएकाले निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराइएको ती नेताको भनाइ छ । ती नेताले निर्वाचन आयोगकको भूमिकातर्फ सङ्केत गरे । आइतबार मात्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टीको दुवै समूहको निर्णयलाई आधिकारिकता दिन अस्वीकार गरेको थियो । दलसम्बन्धी विवाद निरूपण गर्न खोजेको भए राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार आउन भनेको थियो । त्यस्तै बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरेको नेताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया