मत-विमत

दलका करियाहरू र तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ २०७८ जेठ ३० गते ७:०१ मा प्रकाशित

निनाम कुलुङ ‘मंगले’

राज्य वा राज्यपक्षका मान्छेहरूले यस्तो निर्णय गर्ने आँट त्यसै गरेका छैनन् । हामी आदिवासी जनजाति भन्नेहरूको पाईन देखेरै उनीहरू यस्तो आँट गरेका हुन् । जबकि त्यस अघिदेखि नै आदि अनादि कालदेखिका त्यही क्षेत्रमा उत्पत्ति भएका वा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिका ईष्ट–देवी र धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा/माङ) लाई जहिले, जसरी, जुन उद्देश्यले हिन्दूकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामांकरण गरेको भएता पनि अब पुनः लिम्बु भाषामा रहेको मुक्कुमलुङ (युमा/माङ) नामलाई नै पुनः स्थापित गर्नुपर्छ ।

हालै नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेट पेसगर्ने क्रममा ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थको नाम फेरेर रवीन्द्र अधिकारी विमानस्थल राखिएको घोषणा गरे । जो लिम्बु भाषामा रहेको ‘सुः रित तेल्लोक’बाट अपभ्रंश हुँदै ‘सुकेटार’ भएको हो । स्रोतः राम मादेनको फेसबुक । यसैगरी तेह्रथुम जिल्लाको पूर्व–दक्षिण क्षेत्रको आठराई क्षेत्रको चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम ‘आङछिरिङ शेर्पा’ राख्ने निर्णय पनि अर्थमन्त्री पौडेलले सुनाए । राज्य वा राज्यपक्षका मान्छेहरूले यस्तो निर्णय गर्ने आँट त्यसै गरेका छैनन् । हामी आदिवासी जनजाति भन्नेहरूको पाईन देखेरै उनीहरू यस्तो आँट गरेका हुन् । जबकि त्यस अघिदेखि नै आदि अनादि कालदेखिका त्यही क्षेत्रमा उत्पत्ति भएका वा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिका ईष्ट–देवी र धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा÷माङ) लाई जहिले, जसरी, जुन उद्देश्यले हिन्दूकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामाकरण गरेको भएता पनि अब पुनः लिम्बु भाषामा रहेको मुक्कुमलुङ (युमा÷माङ) नामलाई नै पुनः स्थापित गर्नुपर्छ । यसका लागि सो क्षेत्रमा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिहरूका थरगत संस्था (सयङ) हरू मिलेर ०७७ असारदेखि संगठित रूपमा विभिन्न चरणमा विभिन्न खालका संघर्ष र आन्दोलन गर्दै आएका छन् । तापनि सरकारले लिम्बु जातिको सो माग अर्थात् पाथीभरा देवीको नाम फेरेर पुनः लिम्बु भाषामा ‘मुक्कुमलुङ (युमा÷माङ) नाम’लाई नै स्थापित गर्नुपर्ने भन्ने मागलाई वास्ता गरेको छैन ।

बरु राज्यपक्षले थप कुरो लादेको छ ‘सुकेटार विमानस्थको नाम फेरेर रवीन्द्र अधिकारी’ र तेह्रथुम जिल्लाको पूर्व–दक्षिण क्षेत्रको आठराई ! क्षेत्रको चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम ‘आङछिरिङ शेर्पा’ राख्ने निर्णय लादेको छ । त्यसो हुनुमा हाम्रा भनिएका मान्छेहरू (विभिन्न राजनीतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरू) जस्तै त्यस्ता मान्छेहरूको नामै लिनुपर्दा लिम्बु जातिकै सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ सरकार पक्षीय एमालेका संसदीय दलका उपनेता नै छन् ।) तर, गाँठी कुरो के हो भने, सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’ मात्रै नभएर अन्य आदिवासी जनजाति मूलका नेताहरू पनि नेपालका ठूला भनिएका राजनीतिक दल र ती दलमा रहेका प्रभावशाली नेता भनिने हरूका ‘करिया’, ‘कमारो बुद्घि भएका’ मालिकले अह्राए/खटाएको काम मात्रै खुरु–खुरु गर्ने नोकर, ‘झोलेपोके’ र ‘लगाम लगाएको घोडा’ खालका मात्रै भएकोले गर्दा नेपालको सम्पूर्ण जनसंख्याको लगभग ३८/४० प्रतिशत जनसंख्या भएता पनि (आधिकारिक रूपमा केतविले गरेको जनगणनामा लगभग ३७ प्रतिशत) नेपालका आदिवासी जनजातिहरूले हालसम्म कागजमा बाहेक काम र व्यवहारमा केही प्राप्त गर्न सकेको देखिँदैन । देशमा धर्म निरपेक्षता लागू भएको १४/१५ वर्ष भइसक्दा पनि गाई गोरु काटेको÷मारेको आरोपमा ५०/६० हजारसम्म नगद जरिवाना र दुई/तीन वर्षसम्म जेल परिरहेकै छन् । यसरी हेर्दा नेपालमा बडो गजब्बको लोकतन्त्र छ, मानवअधिकार छ, धार्मिक स्वतन्त्रता छ, धर्म निरपेक्षता छ ।

तर, राज्यपक्षबाट यस्तो काम कारबाही तबसम्म रहिरहनेछ, जबसम्म हाम्रा भनिएका मान्छेहरू, सुवास नेम्बाङ, डाक्टर विजय सुब्बा, डाक्टर शिवमाया तुम्बाहाङ्फे, नरेन्द्रविक्रम नेम्बाङ, वसन्तकुमार नेम्बाङ, कुलबहादुर (केबी) गुरुङ, इन्द्रबहादुर (आईबी, उनी राजनीतिबाटै हराए !) गुरुङ, डाक्टर जगमान गुरुङ, परशुराम मेघीगुरुङ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, धनराज गुरुङ, रामबहादुर थापा ‘बादल’ , रामबहादुर थापा ‘हुस्सु’ रामबहादुर थापा ‘कुहिरो’ (अल्कोनका अध्यक्ष), वर्षामान पुन ‘अनन्त’, नन्दबहादुर पुन ‘पासाङ’, शेरधन राई, राजेन्द्र राई, पासाङ शेर्पा ,ओनसरी घर्ती लगायत आउरेबाउरे र हनुमानहरू रहेसम्म समस्या समाधान हुने अवस्था छैन । नेपालका आदिवासी जनजातिहरूले कागजमा बाहेक काम र व्यवहारमा हालसम्म केही प्राप्त गर्न सकेको देखिँदैन, धार्मिक हक, सांस्कृतिक हकलगायत अन्य मौलिक हक–अधिकार आदिको त कुरै नगरौँ । त्यसैले त देशका शासक जात, वर्ग वा समूहका मान्छेहरू ‘नंगा–नाच !’ नाच्छन् । ‘ताप्लिजोङ÷ताप्लेजुङ’ जिल्लामा वा क्षेत्रमा मात्रै होइन पूरै पूर्वी भेग लिम्बुवान क्षेत्रका ठूला–बडा र जान्ने–सुन्ने हौँ भन्नेहरू मात्रै होइन ती क्षेत्रका स–साना नानी–बाबुहरूले पनि ती दुई जना (‘रवीन्द्र अधिकारी’ र ‘आछिरिङ शेर्पा’) को हुन् ? उनीहरूले उक्त क्षेत्रमा के–के योगदान गरे जो कोहीले जवाफ दिन वा भन्न सक्छन् ?

हुन त एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीब्ररूपले चलिरहेको छ । स्थान नामहरूका सम्बन्धमा पनि यो कुरा लागू भएको पाइन्छ । नेपालमा राज्य र राज्य पक्षका मान्छेहरूले केवल मुक्कुमलुङ (युमा/माङ) को नाम फेरेर पाथीभरा देबी बनाउने कुरोमा मात्रै सीमित रहेको छैन, नेपालका अधिकांश स्थानहरूको स्थानीय नामहरू पनि खस/नेपाली भाषा र अन्य बाह््य भाषाका नामहरूले द्रुत गतिमा अतिक्रमण गरेको देखिन्छ । यसरी आदि अनादि कालदेखि रहेका स्थानीय गाउँ, ठाउँ र स्थान नामहरू अतिक्रमित हुने क्रममा विषेशतः हिन्दू देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नामलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरी रहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरू भने, आप्नो मौलिक नामबाट, ऐकार, ऊकार, एकार, एकार आदि मात्रै पनि बिगारेर/बिग्रिएर पनि अपभ्रंशित हुँदै गई रहेको अवस्था पनि देखिन्छ ।

उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको सन्दकफुलाई नै लिऊँ । ‘सन्दकफु’लाई हाल सन्दकपुर बनाइएको छ । उता अन्तुडाँडाको नाम पूरै परिवर्तन गरेर ‘दीपेन्द्र’ (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर बनाइएको छ । तर, आजभोलि अन्तुडाँडाको नयाँ नाम दीपेन्द्र शिखरभन्दा पनि अन्तुडाँडा भनेरै चिनिन थालेको छ । निश्चय नै यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । हुन त यी नामहरू लाप्चा आदिवासी जातिको मातृभाषामा रहेको (कसैकसैले मगर भाषामा रहेको नाम हो भने तापनि पाँचथर र ईलाम, खासगरी इलाममा परापूर्व कालदेखि बस्दै आएको जाति भनेको लाप्चा जाति भएकोले लाप्चा जातिको भाषामा नै रहेका नामहरू हुन्, ती) स्थानीय स्थान नामहरू हुन् । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रसित भएर ‘म्याङलुङ’ भएको छ । यतिसम्म कि तेह्रथुम जिल्लाको सदरमुकाममा केही वर्षअघि स्थापना गरिएको ‘मेयङ लुङ’ (बिरालोको प्रतिमा) मा लेखिएको÷कुँदिएको ‘मेयङ लुङ’ अक्षरबाहेक तेह्रथुम जिल्लाभरिको होर्डिङ बोर्डहरूमा ‘म्याङलुङै’ ‘म्याङलुङ’ मात्रै लेखेको देखिन्छ । साथै तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंवा खोला भनिन्छ), झरनाको पनि नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । तेह्रथुमकै ‘सुम्दोवा’ गाउँ हाल ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ ।

स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिबटार/कृष्णटार भएको छ । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका/रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । यसरी आदिवासी जनजातका भाषामा रहेका तर, अरू भाषाबाट अतिक्रमित भएका स्थान नामहरू धेरै रहेता पनि, पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेबि’ज फल्स’ भएको छ । भनिन्छ, डेबी नामक स्विस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर बेपत्ता भएपछि÷मरेपछि ! ‘पाताले छाँँगो’ ‘डेबि’ज फल्स’ भएकी हुन् !

राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति आदि भनी चिनाउने र, लगभग ८/१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत सहजै स्वीकार गर्न सकेको देखिँदैन भने, कुलुङलगायत १६ खम्बुका सन्तानलगायत नेपालका प्रायः सबै किरातीहरूको उत्पत्त–थलो भनी मुन्धुम (कुलुुङ जातिले मुन्धुमलाई रीदूम भन्छन्) मा आउने (बखानिने/पुकारिने) खुवालुङलाई फुटाएर पानी जहाज चलाउँछु भन्नु कुन ठूलो कुरो भयो र ? किनभने, राज्य पक्षका मान्छेहरूहरूका लागि त खुवालुङ भनेको फगत एउटा ढुंगो न हो । त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नामसमेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ–म्यानमार’ भइसकेको छ । त्यस्तै भारतको बम्बई सहर हाल मुम्बई भएको छ भने, मद्रास सहर चेन्नाई भएको छ । कलकत्ता सहर कोलकाता भएको छ । बर्माको राजधानी सरह रंगुन पनि ‘याँगु–यांगुन’ भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय