चलचित्रकर्मीलाई खोप उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । चलचित्रकर्मी छिट्टै कोभिडको खोप उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्यमन्त्री तामाङले यही सातामा आउने नयाँ खोप उपलब्ध गराउने बताएका हुन् । चलचित्र विकास बोर्डले गत शुक्रबार तीन हजार चलचित्रकर्मीलाई कोभिड खोप उपलब्ध गराउन मन्त्रालयसँग माग गरेको थियो । कोरोना संक्रमणको दोस्रो लहरका कारण अहिले चलचित्र उद्योग ठप्प छ भने हजारौं बेरोजगार बनेका छन् ।

सरकारले कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै चलचित्र निर्माण, प्रदर्शन र वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । कोरोनाको पहिलो लहरपछि लगाइएको बन्दाबन्दी खुलेपछि सिनेमा हल खोल्न तथा छायांकन अनुमति दिएको थियो । यसपछि चलचित्र निर्माण र प्रदर्शन हुन थालेका थिए । यहीबीचमा पुनः संक्रमणको जोखिम बढेसँगै चलचित्रका सबै काम रोकिएका छन् । चलचित्रका कामलाई सहज रुपमा अगाडि बढाउन अहिलेदेखि नै चलचित्रकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक रहेको जनाउँदै बोर्डले सरकारसँग पहल गरेको थियो ।

प्रतिक्रिया