कोरोना संक्रमण–अनुभव र व्यवहार

पाल्पाको रामपुर नगरपालिका–३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उनका परिवार, इष्टमित्र सबै खुसी छन् । घरमै आइसोलेसनमा करिब २२ दिन उच्च आत्मबल र अनुशासनका साथ बसेका न्यौपानेको अनुभव यतिखेर बालबालिकादेखि वृद्धसम्म सबैका लागि प्रेरणाको स्रोत बनेको छ । उमेरले नौ दशक काटेका न्यौपानेले कोरोना पोजेटिभ देखिएपछि अनुशासनमा रहेर सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्नुका साथै औषधोपचार, खानपानमा राम्रै ध्यान दिएकाले कोरोना जित्न सफल भएको अनुभव सुनाए । जनस्वास्थ्यका मापदण्ड अपनाएर अनुशासनमा बसेमा कोरोना सहजै जित्न सकिने उनको अनुभव छ ।

‘कोरोना केही होइन भनेर जथाभावी हिँडडुल गर्ने, खानपानमा ध्यान नदिने, स्वास्थ्य सुरक्षा नअपाउँदा जोखिम बढेको छ, मलाई लाग्छ कोरोना हाउगुजीजस्तै हो, अनुशासनको पालना गरौँ, कोरोना भन्दैमा नआत्तिऔँ, आत्मबल बढायौँ भने कोरोना जितिन्छ,’ उनले भने । कोरोना जित्न उनले घरायसी तथा आधुनिक औषधि पनि सेवन गरे । कोरोना रोग जितेपछि उनी अहिले घरभित्र बाहिर मज्जाले हिँडडुल गर्न थालेका छन् । गत वैशाख १२ गतेदेखि उनलाई स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । बुबाले कोरोना जितेको देख्दा घर परिवार सबै हर्षित बनेको छोरा विष्णु न्यौपानेले बताए ।

‘बुबालाई कोरोना पोजेटिभ देखिएपछि उहाँको रेखदेखमा हामी सबै परिवार सतर्क भएर लाग्यौँ, बुबाले आइसोलेसनमा रहँदा केही दिन होस नपाउने, आत्तिने गर्नुहुन्थ्यो, रेखदेख उपचार निरन्तर गरिरहँदा २२ दिनपछि कोरोना जित्नुभयो,’ उनले भने । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने दोवराज तिवारी पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि २२ दिन घरमै आइसोलेसनमा बसे । उनलाई सुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । तैपनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि आपूm, परिवार, आफन्त र छिमेकीको सुरक्षाका लागि घरमै बसे ।

उनी आइसोलेसनमा रहँदा सरकारले निर्देशन गरेका स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित औषधोपचार, स्वास्थ्यकर्मीसँगको परामर्श तथा सल्लाहमा रहे । उनले भने, ‘पिसिआरमा पोजेटिभ रिपोर्ट आयो तर आपूmलाई सुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण कुनैपनि देखिँदैन, कोरोना हो या होइन भन्ने दोधार पनि भयो, बीचमा भने सामान्य अप्ठ्यारो महसुस भयो, तर कोरोना लाग्यो भनेर मलाई कत्तिपनि डर भएन ।’
उनलाई संक्रमण देखिएको खबर सुनेपछि आफन्त, साथिभाई भेटघाटका लागि जाँदा उनी आफँैले अरूलाई संक्रमणबारे सजग रहन सिकाउने, आत्मबल बढाउनेजस्ता सल्लाह दिने गर्थे । अहिले उनी आइसोलेसनबाट कोरोनालाई पराजित गरेर निस्केपछि संक्रमितका घरघरमा स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्ने र संक्रमित र उनका परिवारलाई आत्मबल बढाउन प्रेरित गर्दै छन् ।

पाल्पाको सामूदायिक रेडियो रामपुरका स्टेसन प्रबन्धक छबिलाल खनालले दुई÷दुईपटक कोरोनासँग लडाइँ लडे । खनाललाई गतवर्ष र यसवर्ष कोरोना संक्रमणको भाइरसले आक्रमण ग¥यो तर उनी भने कोरोनासँग कत्ति पनि हतोत्साहित हुने, डराउने र बिचलित हुने गरेनन् ।
आफूुलाई संक्रमण देखिए पनि हिम्मत गरे, आत्मबल बढाए र दुईपटकसम्म कोरोनालाई जिते । उमेरले ५८ वर्ष पुगेका खनालमा गतवर्ष पहिलोपटक कोरोना संक्रमण देखिँदा ढाड धेरै दुख्ने, स्वाद, गन्ध थाहा नपाउने, सामान्य ज्वरो आउने समस्या थियो । पहिलोपटक संक्रमित हुँदा उनले २६ दिन घरमै आइसोलेसनमा बसेर कोरोना जिते । दोस्रोपटकको कोरोनाले आक्रमण गरेपछि १६ दिन घरमै आइसोलेसनमा बसेर कोरोना जित्न सफल भएका छन् उनी ।

‘पहिलोपटक पोजेटिभ देखिँदा कोरोनासँग मिल्दोजुल्दो केही समस्या देखिएको थियो, दोस्रो पटकको कोरोना देखिँदा एक÷दुई दिन रुघाखोकी लाग्नेबाहेक खासै समस्या भएन, आफूमा कुनै समस्या नभए पनि पोजेटिभ देखिएपछि सतर्क भएर घरमै बसेँ अहिले निको भएपछि आफ्नै दैनिक कामकाजमा लागेको छु,’ उनले भने । अहिले उनी पनि कोरोना संक्रमितलाई आत्मबल बढाउन आफ्ना अनुभव सुनाउने गर्छन् । उनले आपूmमा पोजेटिभ संक्रमण देखिएपछि नियमितरूपमा बेसारपानी, तेजपत्ता, तुलसीपत्र लगायतका विभिन्न घरायसी जडिबुटी, स्वास्थ्यकर्मीले दिएका औषधि र सल्लाह तथा परामर्शलाई निरन्तर अबलम्वन गरेको बताए ।

रामपुर नगरपालिका–३ रजघरा बस्ने ७९ वर्षीय केशमाया कँडेलले भने रामपुर अस्पतालको कोभिड अस्पतालबाट कोरोना जितेका छन् । अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कँडेलले १० दिन बसेर कोरोना जितेका हुन् । ‘कोरोना पोजेटिभ देखिएपछि सुरुमा धेरै डर लागेको थियो, केही दिन घरमै आइसोलेसनमा बसेँ, स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भएँ, मेरो उपचारमा डाक्टरले धेरै खटेर सञ्चो बनाउनुभयो, अहिले म आपूmलाई बिरामी हुँ जस्तो पनि लाग्दैन,’ उनले खुसी हुँदै भने । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उनले धन्यवाद दिएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहेका कँडेल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा आएका थिए । उनको स्वास्थ्यमा अलि बढी समस्या देखिएपछि कोभिड अस्पतालमा भर्ना गरेर राखियो । उनी अस्पताल भर्ना हुन आउँदा आत्तिएका थिए, स्वास्थ्यकर्मीको निरन्तर औषधि उपचार र रेखदेखले छिट्टै निको बनाएर घर पठाइएको कोभिड फोकल पर्सन डाक्टर बासुदेव सुवेदीले बताए । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन निमिक्त मेडिकल सुपरिटेन्डेन डाक्टर विजय परियारले अनुरोध गरेका छन् ।
हाम्रो समाज अझै पनि पुरानो सोच र मान्यतामा नै जकडिएको छ । अहिले पनि यहाँको अवस्था हेर्दा कोरोना संक्रमित रोगलेभन्दा पनि बढी सामाजको तिरस्कारले पीडित छन् भन्दा पनि हुन्छ । गाउँमा एक जना छिमेकीको घरमा कोरोना संक्रमण पुष्टि भयो भन्ने खबर आएपछि छरछिमेक, आफन्त सबैले हेर्ने नजर नकारात्मक छ ।

संक्रमित र उनका परिवार सतर्क रहेर बसेपनि छिमेकी, आफन्तले आवतजावत बन्द गर्ने, मेलापात, कुराकानीदेखि टाढा रहने गर्दा संक्रमितलाई रोगले होइन समुदायले गर्ने नराम्रो व्यवहारले स्वास्थ्यमा थप समस्या पार्ने गरेको छ । कोरोना संक्रमितको घरको नजिकैको बाटो भएर हिड्ने छिमेकी पनि संक्रमण देखिएको दिनदेखि नै कतिपयले बाटो नै परिवर्तन गरेको संक्रमितका परिवारको अनुभव छ । निको भए पश्चात पनि समाजले उनीहरूलाई राम्रो नजरले हेर्दैनन् । बाटोमा हिँड्ने क्रममा भेटिए सञ्चो बिसञ्चो सोध्नुको सट्टा उल्टै बाटो नै तर्किएर हिड्ने, एैँचोपैँचो, मेलापातजस्ता कार्यमा पनि कतिपय छिमेकी टाढिने गरेको संक्रमितको गुनासो छ ।

संक्रमितका परिवार भन्छन्, ‘हामी कोरोना रोग लाग्यो भनेर डर त्रासमा छैनौँ, तर छिमेकी, आफन्त, साथीभाई टाढिने, नराम्रो सोँच्ने व्यवहारले आइसोलेशनमा बस्दा पनि खिन्नता लाग्ने बनायोँ, तर पनि हिम्मत हारेनौँ, आत्मबल बढायौँ, कोरोना जित्यौँ ।’ दोस्रो पटक देखिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणले गाउँ गाउँमा प्रभाव पारेको छ । गतवर्ष गाउँका केही परिवारमा एक/दुई जना सदस्यलाई मात्रै कोरोना पोजेटिभ देखिएको थियो भने यसवर्ष कुनै कुनै परिवारका सबैजसो सदस्य कोरोनासँग जुधिरहेका छन् ।

नेपालका विभिन्न शहर, भारतलगायतका विभिन्न मुलुकमा बसोबास गरेका नागरिक निषेधाज्ञाको समय जारी भएपछि गाउँ भरिदा पनि उनीहरूबाट संक्रमण फैलिएको छ । कतिपयले कोरोनाको कहर अवस्था सामान्य नहुँदै विभिन्न शहरमा घुमघामका लागि जाँदा पनि संक्रमण गाउँमा भित्रिएको छ । कतिपयले त अझैपनि कोरोना के हो र ? भन्ने हेलचेक्र्याइले स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण बढेको हो ।
अर्कोतर्फ परिवारका कुनै सदस्यलाई संक्रमण देखिएपनि समाज, छिमेकी र आफन्तले गर्ने नराम्रो व्यवहारका कारण घरमै बस्दा पनि परिवारका अन्य सदस्यमा संक्रमण हुने गरेकोे पाइएको छ ।

पहिलो चरणको कोरोना संक्रमणबाट पाल्पामा ०७७ चैत २९ गतेसम्मको विवरणअनुसार २ हजार ९ जना संक्रमित छन् । जसमा ५ सय ८० महिला र १ हजार ४ सय २० पुरुष छन् । त्यस अवधिमा ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । समुदायस्तरमा १ हजार १ सय ९७ जनामा संक्रमण फैलिएको थियो । पाल्पा जिल्लामा ०७८ जेठ २४ गतेसम्मको स्वास्थ्य कार्यालय पाल्पाको विवरणअनुसार पिसिआर प्रविधि र एन्टिजेन प्रविधिबाट ६ हजार १ सय ७७ जना संक्रमित रहेका छन् । जसमा ४ हजार ९ सय ७० पिसिआर प्रविधि र १ हजार २ सय ७ एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएको हो ।

०७८ वैशाख यता जेठ २४ गतेसम्मको प्राप्त रिपोर्टअनुसार ४ हजार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ९४ जना (पहिलो र दोस्रो चरणमा गरी जेठ २४ गतेसम्मको विवरणअनुसार) को कोरोनाका कारण निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । विभिन्न अस्पतालमा ५७ जना बिरामी उपचारतमध्ये आइसियुमा दुई र एचडियुमा २६ जना, होम आइसोलेसनमा ८ सय २६ जना छन् । जिल्लामा हालसम्म कोरोनाबाट ५ हजार २ सय निको भएका छन् ।

प्रतिक्रिया