युक्रेनको जसीले क्रुद्ध बन्यो रुस

पेरिस । युक्रेन फुटबल टोलीको जर्सीका कारण यतिबेला रुस क्रुद्ध बनेको छ । युरो २०२० का लागि बनाइएको उक्त जर्सीमा युक्रेनको नक्सा देखाइएको छ जसमा रुसले एकीकरण गरेको क्रिमियालाई पनि समावेश गरिएको छ । रुसले सन् २०१४ मा क्रिमियालाई आफ्नोमा गाभेको थियो । रुसका एक सांसदले यसलाई ‘राजनीतिक उक्साहट’ भएको टिप्पणी गरे । युक्रेनियन फुटबल एसोसिएसनका प्रमुख आन्ड्री पभेल्कोले आइतबार आफ्नो फेसबुक पेजमा भिडियोमार्फत उक्त जर्सी सार्वजनिक गरेका थिए ।

भिडियोमा पहेँलो रंगको जर्सीमा सेतो रंगमा युक्रेनको नक्सा देखाइएको छ जसमा क्रिमियालाई युक्रेनको हिस्साको रुपमा देखाइएको छ । जर्सीको पछाडि ‘ग्लोरी टू युक्रेन’ को नारा लेखिएको छ जुन सन् २०१४ मा मस्को निकट मानिएका राष्ट्रपति भिक्टोर यानुकोभिचविरुद्ध प्रदर्शनकारीहरूले लगाएका थिए ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले जर्सीको आलोचना गर्दै रुसको क्रिमियालाई युक्रेनको क्षेत्रमा जोडिएको देखाइएको बताइन् । उनले जर्सीमा लेखिएको नारालाई नाजीहरुको नारासँग तुलनासमेत गरिन् । यता, सांसद दिमित्री सिभिस्चेभले जर्सीप्रति आपत्ति जनाउँदै युरो २०२० का आयोजकलाई युक्रेनमाथि कारवाही गर्न माग गरे । कोरोनाका कारण स्थगित भएको युरो २०२० आगामी जुन ११ बाट शुरु हुँदैछ ।

प्रतिक्रिया