एमाले बन्न कसैले रोक्न सकेन

चमिना भट्टराई

म धेरै पहिलाको कुरा गर्दिनँ, जीवनमा कम्युनिस्टबाहेक केही भएको छैन, अरू हुन पनि कठिन छ । ०४६ को आन्दोलनमा यी हातले चार तारे झण्डा बोकेकै हो । ०६२/६३ को आन्दोलनमा पनि हँसिया हथौडासँगै चार तारे झण्डा बोकेकै हो । तर, खोइ त म कांग्रेस भएको ? त्यो दुवै आन्दोलन संयुक्त थिए, त्यसैले आवश्यकताअनुसार झण्डा बोकियो परिवर्तका लागि । पछिल्लो ०७४ को निर्वाचनमा पार्टीकै निर्देशनमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हका तत्कालीन माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेकै हो । तर, फेरि पनि म माओवादी हुन सकिनँ त !

यति बेला केही एमाले हुँ भन्नेहरूलाई लागेको छ, सूर्य चिन्हविना पनि एमाले हुन्छ ! अझ केसम्म पनि भन्दैछन् भने, फलानो नेतासहित पनि एमाले हुन्छ ! यो अतिवादी सोच हो । एमालेलाई सूर्य चिन्हले संसदीय मोर्चामा स्थापित गराएकै हो । तर, कम्युनिस्ट आन्दोलनको इतिहास हेर्ने हो भने संसदीय मोर्चा जनताका हितमा उपयोग गर्ने एउटा थलो हो । यसलाई कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजले पनि प्रष्ट्याएको छ । जबजका १४ वटा बुँदा दोहो¥याएर हेरे हुन्छ । त्यसले निर्वाचन उपयोगिताका बारेमा धेरै कुरा छर्लंग बनाएको छ ।

आज पार्टी र विचारभन्दा जुन सूर्यमा हामी गौरब गर्दै छौँ त्यो बनाउन अहिलेको अघिल्लो दस्तामा रहेका नेतृत्वको महत्वपूर्ण लगानी छ । झापा विद्रोह, कोओर्डिसन कमिटी, पूर्वप्रान्तीय कमिटी, रातो झण्डा, पुष्पलाल समूह, माले, माक्र्सवादी, हुँदै एमाले बनाउन जीवनका महत्वपूर्ण समय खर्चिएका कमरेडहरूले ०४८ यता एउटा हातमा हँसिया हथोडा अर्को हातमा सूर्यको झण्डा बोकेर संसदीयमा मोर्चामा उभिएको चिन्ह को हो यो । सूर्यले एमाले वा कम्युनिस्ट पार्टी जन्माएको होइन त्यसमा हेक्का होस् । एमाले पार्टीले रोजेर पाएको र विधि, विचार र नेतृत्वले स्थापित गरेको हो सूर्यलाई त्यसमा लाखौँ कार्यकर्ता र शुभचिन्तकको लगानी छ ।

आज एक खाले मान्छेलाई लागेको छ, ०४८ पछिको निर्वाचनमा एमालेले चुनावी प्रयोजनका लागि लिएको चिन्ह सूर्य नै कम्युनिस्ट हो । यसमा नेतृत्वको पनि केही कमीकमजोरी छ । पार्टीले माथिदेखि तलसम्मका नेता कार्यकर्तालाई सूर्य के का लागि भन्ने प्रष्ट्याउन सकेन । आज त्यसको परिणाम एक थरी एमाले भनेकै सूर्य हो भन्नेमा पुगेका छन् । मलाई सम्झना छ । ०४२ मा भएको राष्ट्रिय पञ्चायत र ०४३ मा भएको स्थानीय तहको निर्वाचनमा जनपक्षीय निर्वाचनमा जनपक्षीय उम्मेदवार भनेर तत्कालीन मालेका उम्मेदवारले रेडियो, घडी, मान्छे, घरजस्ता चिन्ह लिएर निर्वाचन जितेका थिए । हामी गोजीमा हालेर ती चुनावी पर्चा यताउति पुर्याउँथ्यौँ । जनताले त्यही चिन्हमा भोट हालेर कम्युनिस्ट पार्टीको उम्मेदवारलाई जिताएका थिए र जित्ने कम्युनिस्ट नै थिए ।

विश्वका कम्युनिस्टहरूले श्रद्धा र सम्मानका रूपमा लिइने हँसिया हथौडा आज गौण भएको छ । सूर्य नै कम्युनिस्ट पार्टी हो भन्ने मान्यता जवर्जस्त खडा गरिएको छ । यसले कुनै पनि कम्युनिस्ट आन्दोलनलाइ हित गर्दैन । त्यसैले हरेक कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्ताको बीचमा चुनाव चिन्ह चुनावी प्रयोजनका लागि हो । यो कम्युनिस्ट पार्टीको चिन्ह होइन, भन्ने कुरा स्थापित गर्नुपर्छ । म धेरै पहिलाको कुरा गर्दिनँ, जीवनमा कम्युनिस्ट बाहेक केही भएको छैन, अरू हुन पनि कठिन छ । ०४६ को आन्दोलनमा यी हातले चार तारे झण्डा बोकेकै हो । ०६२÷६३ को आन्दोलनमा पनि हँसिया हथौडासँगै चार तारे झण्डा बोकेकै हो । तर, खोइ त म कांग्रेस भएको ? त्यो दुवै आन्दोलन संयुक्त थिए, त्यसैले आवश्यकताअनुसार झण्डा बोकियो परिवर्तनका लागि । पछिल्लो ०७४ को निर्वाचनमा पार्टीकै निर्देशनमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हका तत्कालीन माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेकै हो । तर, फेरि पनि म माओवादी हुन सकिनँ त ! त्यो हिजोका लागि आवश्यकता थियो, इमानदार कार्यकर्ताका रूपमा पूरा गरियो । र आजका दिनसम्म मलाई एमाले बन्न कसैले रोक्न सकेको छैन । त्यसैले माधव नेपाल समूहका कोही कांग्रेस बन्न सक्छन् न माओवादी यसमा प्रष्ट हुँदा हुन्छ ।

आज हामी पार्टी फुट वा जुटको दोसाँधमा छौँ । यस्तो अवस्थामा भावनात्मक रूपमा एक भएको एमाले हामी सबैको चाहना हो । नेकपा एमाले हुन जीवनमा महत्वपूर्ण समय लगानी गरिएको छ । जनताका हितमा मुलुक परिवर्तनका नारा धेरै घोकियो । क्षेत्रीय प्रभूत्ववाद र साम्राज्यवादका विरोधमा धेरै नारा लगाइयो । सामन्तवाद र दलाल पुँजीवादका विरोधमा मुठी कसियो । तर, आज हामी कहाँ छौँ ? कहाँ गए हामीले लगाएको नाराको उद्देश्य ? अब नेपाली जनताले पाउन पर्ने सबै प्रकारका परिवर्तन पाएकै हो त ? हाम्रा समाजवादको यात्रामा पूर्णविराम लागेको हो या हामीले चाहेको समाजवादको यात्रा यही हो ? प्रश्न पेचिलो लाग्न सक्छ, तर, कुरो त्यही हो । एमाले पार्टी मात्रै होइन, नेपालका सबै कम्युनिस्ट पार्टी एक भएर जनतालाई बेला बेला बाँडेका सुन्दर सपना पूरा गर्नुपर्छ । त्यो दायित्व सबै कम्युनिस्ट पार्टीको सदस्यको हो । तर, क्षणिक स्वार्थ र सत्ताका लागि कम्युनिस्ट पार्टीको झण्डामुनि बसेर अनेकन आवरणमा गरिने कुनै पनि प्रकारका सौदावाजी सह्य हुँदैन ।

सीमित चौघेरामा बस्नेलाई सजिलो होला । जनताले सोधेका प्रश्नहरू चौघेराका पर्खालमा ठोकिएला । त, जनस्तरमा रहेको भुइँ मान्छेसँग जनताले सोध्ने ती सुन्दर सपनाका प्रश्नको जवाफ कसले दिने ? कहाँ गए हाम्रो रगत उमाल्ने गरी भारतीय क्षेत्रीय प्रभूत्ववादका विरुद्ध नारा लगाउन लगाएका दिन ? आज सत्ताका लागि नागरिकता विधेयक र एमसिसीजस्ता राष्ट्रघातक विधेयक ल्याउने तपाइ ! नेतृत्व कहाँ गए हामीलाई सिकाएको अमेरिकी साम्राज्यवाद । हामीलाई भन्नुहोस् सबै समाजवादी भइसके ? वा उनीहरू हामीले चाहेको जसरी सुध्रिए ? तर्कले पुष्टी गर्नुहोस् ।

कम्युनिस्ट पार्टीको सदस्य बनेर मन्दिर पस्न हिचकिचाउने हामी आज तपाईंको पशुपति भक्ति र राम भक्तिले शिर झुकाउँदै छाैं । कहाँ गए तपाईंको ती निष्ठा ? कहाँ गए तपाईंको संस्कृति क्रान्ति ? किन बदलिए तपाईंहरूका ती आचरण, व्यवहार र शैली ? तपाईंका सहयोद्धा र सहिद पनि आज तपाईंका गैरकम्युनिस्ट आचरणले लजाउँदै छन् । तर, तपाईं त गर्वले प्रफूल्लित देखिनुभएको छ ! कसैलाई टेर्न नपरेका कारण, विधि, नियम र कम्युनिस्ट आचरण उल्लंघन गरेका कारण ।

यति बेला कुरा एमालेमा देखिएको विचलन रोक्ने मौन स्वीकृत दिने कि विद्रोह भन्ने छ । हो एमाले भित्रका एक तप्काका नेता पार्टीमा देखिएको असहज अवस्था रोकी एक ढिक्का बनाउनु पर्छ भन्दै छन्, त्यो राम्रा हो । तर, लचकता कतिसम्म ! अर्को थरी पार्टीमा देखिएको विचलन रोक्न सबै प्रकारका जोखिम मोल्न तयार छन् । अब पार्टीलाई विधि, विधानसहित सैद्धान्तिक र वैचारिक रूपमा अगाडि बढाउन सकिएन भने इतिहासका कालखण्डमा तपाईंहरूका कारण मुलुकले बेहोरेको क्षतिको जवाफ हामीले दिन नपरे पनि आउने सन्ततिले दिनुपर्नेछ । कम्युनिस्ट पार्टी सत्तामा भएका बेला मुलुकको अहित भएका सबै प्रकारका अराजकताका जवाफ कसले दिने ? कम्युनिस्ट पार्टी सत्तामा जानु भनेको आसोपासे पोस्नु, सत्ता टिकाउन विदेशीसँग साँठगाँठ गर्नु, विदेशीलाई हित हुने गरी उसैको इसारामा अध्यादेशको हथकण्डा अपनाउनु, आफ्नै पार्टीको बहुमतको सरकार हुँदाहुँदै मध्यावधिको नौटंकी गर्नु, जनताका आधारभूत समस्यालाई कथा प्रवचन भनेर उडाउँदै मठ मन्दिरतिर लाग्नु हो ?

अहिले एमालेका नेता झलनाथ माधव लगायतलाई आफ्नै पार्टीका विरुद्ध कांग्रेस बोकेको आरोप छ । जनताको त्याग र बलिदानीले ल्याएको व्यवस्था खतरामा प¥यो, इतिहासमा जनताले लेखेको संविधान संकटमा प¥यो र त्यसमा विदेशी चलखेल भयो भने मुलुकभित्र रहेका सबै प्रकारका परिवर्तनकामी एक हुनै पर्छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले पनि सिकाएको एउटा पाठ हो । चिनियाँ कम्युनिस्ट आन्दोलन अघि बढिरहँदा जापानले गरेको हमलाका विरुद्ध त्यहाँ पनि च्याङकाइ सेकसँग कमरेड माओले कार्यगत एकता गरेर जापानी अतिक्रमणका विरुद्ध लगेका थिए । त्यसैले त्यो पात्र को हो ? कुन झण्डा बोकेको छ त्यसले केही अर्थ राख्दैन । उसले मुलुकका लागि के गर्दै छ कुरो त्यसमा अर्थ राख्छ । त्यसैले यति बेला मुलुकको हितमा कांग्रेस कम्युनिस्ट वा अरूसँग कार्यगत एकता हुुनुलाई अनौठो न ठान्दा हुन्छ । यो अहिलेको लागि आवश्यकता हो ।

प्रतिक्रिया