कोरोना फैलिएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माणमा चुनौती

लमजुङ । लमजुङको दोर्दी खोला करिडोरमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत तीन दर्जन बढी कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि आयोजनाको निर्माण कार्यमा चुनौती थपिएको छ । जिल्लाको पूर्वी क्षेत्रमा बहने दोर्दीखोलामा निर्माण गरिएको उक्त आयोजनाको उत्पादन क्षमता २५ मेगावाट रहेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाको ९९ प्रतिशत निर्माण काम सकिएको छ । आयोजनाको छिटफुट र केही फिनिसिङको काम मात्र बाँकी रहेको उक्त जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताएका छन । उनका अनुसार आयोजनको निर्माण कार्यमा १ सय २५ जना कामदार खटिएका छन् । सो आयोजनाका कामदारमा एक साताअघि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो चरणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले बताएको छ ।

उक्त आयोजनाको ४८ जना कामदारको स्वाबमा संकलन गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । तर, अस्पताल भर्ना गर्नुपर्ने स्थिति कसैको पनि नभएको उक्त जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार पहिलो चरणमा संक्रमण देखिएकाहरू ठीक भइसकेका छन । दोश्रो चरणमा संक्रमितहरुलाई अहिलेसम्म असहज अवस्था आएको छैन ।
दोर्दी गाउँपालिका–६ को कीर्तिपुरबेंसीमा सबस्टेसन रहेको उक्त आयोजनाका ३३ जना कामदारमा संक्रमण पुष्टि भएको खबर गाउँमा पुग्दा गाउँलेहरू निकै त्रस्त भएको कीर्तिपुर गाउँमा स्थायी बसोबाससमेत रहेका सोही गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताए । उनका अनुसार विकास निर्माणको काम नरोक्ने भन्ने सरकारको नीति छ, काम रोक भन्न पनि सकिएको छैन । आयोजनामा काम गर्ने कामदारहरू एक वर्षअघिदेखि नै बसेको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाका सञ्चालक वस्तीको भनाइ छ ।

यसअघि सो आयोजनाको गत चैत ३० गतेसम्म बिजुलीको परीक्षण उत्पादन हुने लक्ष्य थियो । विद्युत् प्रशारण लाइन निर्माणमा समेत ढिलाइ भएका कारणले गर्दा यो आयोजनाको पनि उत्पादनमा ढिलाइ गरिएको उनको भनाइ छ । दोर्दी गाउँपालिका–६ र ७ साबिकका ढोडेनी र फलेन गाविसमा निर्माण गरिएको आयोजनाले तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा बाँध निर्माण गरिएको आयोजनाका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । उनका अनुसार आयोजनाको २ हजार ६ सय २३ मिटर लम्बाइको सुरुङ छ । आयोजनामा विद्युत् उत्पादनका लागि १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा टर्बाइन जडान गरिएको छ । उक्त आयोजना निर्माणका लागि ४ अर्ब ६३ करोड रूपैयाँ लाग्ने आकलन गरिएको छ ।

नदीको वहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ । आयोजनाको लागत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रूपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । सो आयोजनाले २०७१ वैशाख १५ मा नै विद्युत उत्पादन अनुमति पाएको थियो । तर, भूकम्प, कोभिड–१९ को संक्रमणले सिर्जिएको बन्दाबन्दी, विद्युत् प्राधिकरणको ट्रान्समिसन लाइन निर्माणमा ढिलाइ आदि कारणले गर्दा उत्पादन मिति सर्दै आएको आयोजनाका सञ्चालक वस्तीले जानकारी दिए ।

प्रतिक्रिया