ठाकुरले नेतृत्वको अवसर पाएनन् कि लिन सकेनन् ?

ललितकुमार यादव

जसपाले नेतृत्व पाए भाबी प्रधानमन्त्रीको रूपमा हेरिएका महन्थ ठाकुर नै अहिले ओलीको प्रतिगामी कदमाको साक्षी बसेका छन् । ठाकुरको औपचारिक सहयोग पाएका कारण पनि ओलीलाई दोस्रोपटक संसद् विघटन गर्न सहज भयो । ठाकुरले आफ्नो निष्ठाको राजनीति र संघीयता सहितको गणतन्त्रको प्राथमिकतालाई दाउमा राखेका छन् ।

मधेस र मधेसी नेताहरूले धेरैलाई सत्ताको नेतृत्वमा पु¥याएको इतिहास छ । तर मधेसी नेताहरू जहिले पनि अरूको सारथी मात्र बने । नेतृत्वमा पुग्न लिन कहिल्यै सफल हुन सकेनन् । महेन्द्रनारायण निधिलाई अपवादमा छाड्ने हो भने नेतृत्व लिने दावी र प्रयाससमेत गर्न सकेको देखिँदैन । मधेसी नेताहरू सधँैभरि सत्ताकै वरिपरि घुम्ने गरेका छन् । तर सत्ताको नेतृत्व नै लिन सक्ने क्षमतालाई बिर्सेका छन् । मधेस केन्द्रित दलका नेताहरूको त देशव्यापी सञ्जाल नहुने भएकोले सत्ताको नेतृत्वमा पुग्ने संभावना यसै पनि कमजोर हुने नै भयो । चाहे ठूला तीन दलमा क्रियाशील मधेसी नेताहरू पनि केही अपवादबाहेक नेतृत्वमा हस्तक्षेप गर्ने अवस्थामा पुगेका छैनन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई अपवाद मान्ने हो भने कुनै पनि ठूला पार्टीका कुनै पनि मधेसी नेताहरूले पार्टीको नीति निर्माण तहमा प्रभावशाली भूमिका निर्वाह गर्न सकेको देखिन्न ।

मधेसी नेताहरूले जे जति फुर्ती लगाएर हिँडे पनि उनीहरूले आफ्नो पहिचान मधेसको नेताभन्दा विस्तार गर्न नसकेका तथ्य स्वीकार गर्न बाध्य नै छन् । पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रका कारण सत्ताको नेतृत्व लिन सक्ने अवसर मधेसले पाएको थियो । तर, सत्ताको साँचोलाई आफ्नो पक्षमा सदुपयोग गर्न जसपा आफैँ एकढिक्का भएर अगाडि बढ्न सकेन ।

०१५ सालदेखि नै नेपालमा मधेसकेन्द्रित राजनीति सुरु भएको हो । बेदानन्द झा, रामजनम तिवारी, रघुनाथ ठाकुर, गजेन्द्रनारायण सिंहहरूले नै मधेसको समस्या र मुद्दाको उठान गर्न सुरु गरेका हुन् । त्यसबेलादेखि नै मधेसको मुद्दा उठ्दै आएको भए पनि नेतृत्व स्थापित हुन नसकेको कारण मधेसको मुद्दा स्थापित हुन सकेको थिएन । ०६२÷६३ को जनआन्दोलन भएको केही समयमै मधेसमा आन्दोलन भयो । मधेस आन्दोलनले मधेसको मुद्दा स्थापित ग¥यो । मधेसी जनता आफ्ना राजनीतिक अधिकार प्राप्त गर्न राजनीतिक बहस र आन्दोलनलाई व्यापक रूपमा अगाडि बढाए । नेपालले गणतन्त्रको अभ्यास गर्न सुरु गरेको एकदशककै अवधिमा मधेसमा तीन वटा आन्दोलन भए । मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले मधेसकेन्द्रित दलहरूसँग २२ बुँदे र ८ बुँदे सम्झौता गरेको थियो । मधेसको लगभग सबै मुद्दा २२ बुँदे र ८ बुँदे सम्झौतामा समेटिएको छ । सम्झौता कार्यवन्यन गराउने विषय मधेसकेन्द्रित दलहरूको लागि सत्तामा जाने भ¥याङ मात्र बन्दै आएको छ । तर सम्झौताको पूर्ण कार्यान्वयन अहिलेसम्म भएको छैन ।

०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भयो । आन्दोलनको तयारीमा रहेको फोरम नेपालले उपेन्द्र यादवको नेतृत्वमा भोलिपल्ट काठमाडौंको माइतीघरमा अन्तरिम संविधान जलायो । अन्तरिम संविधान जलाएर फोरमले संविधानप्रति मधेसको असन्तुष्टि रहेको सन्देश दिन र मधेसमा आन्दोलनको आधार तयार पार्न सफल भयो । सँगै मधेस मुद्दाको नेतृत्व गर्दै मधेसलाई आन्दोलनमा लान सफल भयो । पहिलो मधेस आन्दोलनपश्चात ०६४ साल मंसिरमा मात्र महन्थ ठाकुर नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष र नेपाल सरकारको मन्त्री पद त्याग गर्दै मधेसकेन्द्रित राजनीतिमा सक्रिय भए । अन्तरिम संविधान संशोधन गरेर मधेसको असन्तुष्टीलाई समेटन कांग्रेस सहमत नभएका कारण कांग्रेस छोडेको ठाकुरले बताएका थिए । तर, कारण त्यति मात्र थिएन कारण अर्को पनि थियो ।

कांग्रेसमा ठाकुरभन्दा बढी हावी हुने क्रममा मधेसबाटै प्रतिनिधित्व गर्ने डा.रामवरण यादव थिए । यादवको बढ्दै गरेको प्रभावका कारण कांग्रेसमा आपूm छायामा पर्न सक्ने देखेर पनि ठाकुर कांग्रेसबाट अलग हुने निर्णयमा पुगेका थिए । ठाकुर ०६४ साल माघ ६ मा मधेस आन्दोलनमा जोडिए । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको संयुक्त मधेसी मोर्चामा महन्थ ठाकुर नेतृत्वको तमलोपा पनि सहभागी भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गठन भयो । मोर्चाको आब्हानमा २०६४ फागुन १ गतेदेखि अनिश्चितकालीन दोस्रो मधेस आन्दोलन सुरु भयो । आन्दोलन सुरु भएको १६औँ दिनमा अर्थात फागुण १६ मा नेपाल सरकार र मोर्चाबीच ८ बुँदे सहमति भयो । अनि मात्र संविधानसभाको निर्वाचन हुने वातावरण मधेसमा बन्यो र निर्वाचन भयो ।

आन्दोलन सहमतिमा टुंगिएसँगै मोर्चामा सहभागी तीन दलले पनि सहकार्यको यात्रालाई टुंग्याएर अलग भए । कांग्रेस छोडेर विजय गच्छदार र जयप्रकाश गुप्ताको समूह पनि मधेस केन्द्रित राजनीतिमा सक्रिय भए । ठाकुरले आफ्ना पुराना कांग्रेसी साथीहरूलाई आफ्नो नेतृत्वको तमलोपामा ल्याउन सकेनन् । उनीहरू उपेन्द्र नेतृत्वको फोरममा प्रवेश गरे । ठाकुर कांग्रेसबाट लगातार तीन वटा निर्वाचनमा सर्लाहीबाट विजय प्राप्त गर्दै आएका थिए । ०६४ को संविधानसभाको निर्वाचनमा आफ्नै नेतृत्वको तमलोपाबाट उम्मेदवारी दिएका ठाकुर सर्लाहीबाटै पराजयको सामना गर्नुप¥यो । पछि मन्त्रिपरिषद्बाट मनोनीत भएर संविधानसभामा गएका थिए । ०७० सालको संविधानसभाको निर्वाचनमा पनि ठाकुर निर्वाचित हुन सकेनन् । अहिले विघटन भएको संसद्मा निर्वाचित हुन ठाकुरलाई कर्मथलो सर्लाही छाडेर आपूm जन्मेको जिल्ला महोत्तरीको निर्वाचन क्षेत्रमा गएर कांग्रेसको सहयोग माग्नुपरेको थियो ।

हाल ७९ वसन्त पार गरिसकेका ठाकुरको जन्म १९९८ साल फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका स्थित एकरहियामा भएको हो । ठाकुरले ०१६ सालमा नै विद्यार्थी राजनीति सुरु गरे । उनी विद्यार्थीकालमा ०१७ साल पुस १ मा राजा महेन्द्रले गरेको कु विरुद्धको आन्दोलनमा पक्राउ परे । त्यतिवेला ठाकुरमाथि राजकाजको मुद्दा लगाइएको थियो । उनले जेलबाटै स्नाकोत्तरसम्मको अध्ययन गरे । उनी विभिन्न ठाउँमा प्राध्यापन गराउनेसँगै ०२९ सालदेखि कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय भए । पछि कानुन व्यवसायीका रूपमा सर्लाही छिरेका ठाकुर राजनीतिमा पनि सक्रिय भए । सर्लाहीलाई नै कर्मथलो बनाए र सर्लाहीबाटै नेता भए । उनी शालीन र स्थिर स्वभावका हुन् । कम बोल्ने र हरेक कुरालाई गम्भीरतापूर्वक लिने ठाकुरको स्वभाव छ । कांग्रेसमा रहँदा ठाकुर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरलाका विश्वासपात्र र प्रियपात्रको छबि बनाएका थिए । ०४८ सालमा उपसभामुख र त्यसपछि कांग्रेस नछाड्दासम्म लगातार सांसद तथा मन्त्री भइरहँदा पनि ठाकुरले आफ्नो छबीमा दाग लाग्न दिएनन् ।

गत ५ पुसमा विघटन भएको संसद् फागुन ११ गते पुनस्र्थापना भएसँगै जसपा विपक्षी गठबन्धनमा सहभागी भएर ओलीको विकल्पमा सरकार बनाउने र संसद्लाई निकास दिने आँकलन गरिएको थियो । तर जसपाभित्र विवाद सुरु भयो । संसद् विघटनको विरोध गर्दै प्रतिनिधिसभाको पुनस्र्थापनाको माग गर्ने जसपाको ठाकुर र महतो समूह संसद् विघटन गर्ने उनै प्रधानमन्त्री ओलीसँग नजिकियो । तुलनात्मकरूपमा मधेसलाई अलि बढी उपेक्षा गर्ने नेताको आरोप लाग्ने गरेका उनै ओलीसँग ठाकुर–महतो समूहको उठबस बाक्लिन थाल्यो । जसपाको ठाकुर–महतो समूह कार्यदल नै गठन गरी ओलीसँगको सहकार्यको रूपरेखा कोर्न सक्रिय भए । जसपाकै यादव–भट्टराई समूह विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बनाउन प्रयास गर्न सक्रिय भयो । जसपाले विवादकै कारण औपचारिक निर्णय लिन सकेन । जसपाको अनिर्णयका कारण पनि सत्तापक्ष र विपक्ष कसैले बहुमत पु¥याउन सकेनन् । यससँगै जसपाको पनि विभाजनको दिनगिन्ती सुरु भयो ।

मधेस केन्द्रित दलको विवाद सतहमा हेर्दा मधेसका मुद्दाहरूमा केन्द्रित रहेको देखिन्छ । तर गहरिएर हेर्दा सत्ता केन्द्रित देखिन्छ । जसपाले पनि नेतृत्वको लागि दावी गर्ने चर्चा पनि चल्यो । तर, जसपाले नेतृत्व पाए भावी प्रधानमन्त्रीको रूपमा हेरिएका महन्थ ठाकुर नै अहिले ओलीको प्रतिगामि कदमाको साक्षी बसेका छन् । ठाकुरको औपचारिक सहयोग पाएका कारण पनि ओलीलाई दोस्रोपटक संसद् विघटन गर्न सहज भयो । संसद् विघटनको मुद्दा फेरि सम्मानित सर्चोच्च अदालतमा पुगेको छ । मुद्दाको टुंगो अदालतको फैसलाबाटै हुनेछ । तर, ठाकुरले आफ्नो निष्ठाको राजनीति र संघीयता सहितको गणतन्त्रको प्राथमिकतालाई दाउमा राखेका छन् ।

०६४ सालमा कांग्रेस नछाडेको भए गणतन्त्र नेपालको प्रथम राष्ट्रपति ठाकुर नै हुने थिए पनि भनिन्छ । कांग्रेसमा ठाकुर जति अवसर पाउने नेताहरू कमै छन् । उदाहरणका लागि ठाकुर कांग्रेसको सामान्य कार्यकर्ता रहँदै गर्दा विमलेन्द्र निधि नेविसंघको अध्यक्ष भइसकेका थिए । महेन्द्रनारायण निधि त ०१५ सालमै उपसभामुख भइसकेका थिए । बिपीलाई समेत प्रभावित पार्न सक्ने उचाइ र क्षमता महेन्द्रनारायण निधिको थियो तर गिरिजाप्रसादको रोजाइमा ठाकुर पर्दै आए । तर कांग्रेसबाट अलग भई मधेस केन्द्रित राजनीतिमा लागेका ठाकुर लगातार दुईपटक निर्वाचनमा पराजित भए । तेस्रोपटक निर्वाचन जित्न कांग्रेसकै सहयोग लिनुप¥यो । अहिले ओलीको पछि लागेर कांग्रेसलाई नचिढ्याएको भए ठाकुर प्रधानमन्त्री बन्ने संभावना थियो ।

वैशाख २७ संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि संसद्मा बोल्दै ठाकुरले जुन रूपमा ओलीको प्रशंसा गरे, सुन्नेहरूले समेत लाजले शिर निहु¥याएका थिए । आफ्नै नेतृत्वको सरकार बनाउने सहमति विपरीत ठाकुर–महतो ओलीको पक्षमा उभिए । संसदीय दलमा बहुमतमा रहेका ठाकुर र कार्यकारणी समितिमा बहुमतमा रहेका यादव अहिले स्पष्टीकरण खेल्दै छन् । जसपाको औपचारिक विभाजनपश्चात मात्र खेलको समापन हुनेछ । सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएर ठाकुर–महतो समूहलाई सरकारमा सहभागी हुने वातावरण बनाउन खोजेको छ । नागरिकता समस्या समाधान हुनै पर्छ । यसमा सबै दल सहमत हुनै पर्छ । यो अध्यादेश कार्यन्वयन हुने नहुने कुनै टुंगो छैन । यसको कार्यान्वयनमा आफ्नै समस्या छन् ।

प्रतिक्रिया