सुनसान भयो भलिबल दिवस

काठमाडौं । जेठ ८ गते, भलिबल दिवस । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा नेपाल भलिबल संघले दिवस मनाउन सुरु गरेको हो । तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।

तर,यस वर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम भएनन् । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको थियो । कोरोनाकै कारण संघले गत महिनाबाटै सम्पूर्ण भलिबल गतिविधि स्थगित गरेको छ । यस्तै गत वर्ष पनि संघले दिवसको अवसरमा औपचारिक कार्यक्रम गरेको थिएन । तर, कोरोनको महामारी कम भएपछि संघले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । नेपालको राष्ट्रिय खेलको रुपमा भलिबल हुने व्यवस्था विधेयकमा उल्लेख गरिएका छ । सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट समेत प्रमाणिकरण भएको छ । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ । भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल संघले समेत तिव्र लबिङ गरेको थियो ।

प्रतिक्रिया