राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै परिणाम सार्वजनिक गरिने

हेटौंडा । राष्ट्रियसभाको वाग्मती प्रदेशमा गराइएको उपनिर्वाचनमा ३३८ मत खसेको छ । बिहीबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका हुन् । स्थानीय तहका ५ र प्रदेशसभाका ५ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वाग्मती प्रदेशसभाका ११० सदस्य र पालिका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेकामा दश मत नखसेको हो ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो भने विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गरेका थिए । प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको १८ मतभार रहेकाले तीन उम्मेदवारले प्राप्त गरेको मतका आधारमा सबैभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।

निर्वाचनमा सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका माधव नेपाल पक्षतर्फबाट डा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन । मतदानका लागि विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । मतगणना सकाएर आजै परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया