शरीर फतक्कै गलेको छ

चमिना भट्टराई

हामी सबै एउटा दुःखद् युद्ध लडिरहेका छौँ जस्तै लाग्छ । मनमा डर, शरीरमा आलस्यता, समाजमा फैलिएको डरलाग्दो संक्रमणले आफूलाई पनि मृत्युको नजिक पुगेको बेलाबेलामा ठानिँदो रहेछ । मान्छेलाई मृत्युसँग डर त लाग्दो रहेछ नि ! कुनै बेला बन्दुकको नालको अघि उभिएर लड्न लयार हुँदा न डराएको शरीर यति बेला डराउँदोरहेछ । किनकी क्रान्ति र महामारी फरक कुरा हो । क्रान्तिमा जोस, आक्रोश, बलिदानी र उद्देश्य हुन्छ । महामारीमा केबल मुत्यु सिवाय केही हुँदैन

मृत्यु मान्छेको सबैभन्दा ठूलो डर रहेछ । मैले पनि त्यसको अनुभूत गरेँ । विद्यार्थी हुँदा क्रान्तिकारी पुलिसका बन्दुकका अघि बुरुक्क उफ्रँदै नारा जुलुस गरियो । एकातिर बन्दुक पड्कदै गथ्र्यो अर्कातर्फ हमी उफ्रन्थ्याैं, ‘हारेमा यो ज्यान जिते संसार,’ भन्दै । डर रतीभर लाग्दैनथ्यो । तर, क्रान्तिमा मृत्यु क्षणभरमा हुन्छ । न अस्पताल न उपचार सिधै झण्डा ओडाउँछन् नेताले । हामी अगिल्लो वर्षको चैतदेखि विश्वव्यापी फैलिएको कोरोना भाइरससँग बाँच्ने प्रयास गरिरहेका छौँ । विश्वका शक्तिशाली भनिएका देशलाई कोरोनाले हाइकाइ बनाएको छ । गत वर्षको लकडाउन र त्यस यता पनि धेरै मान्छेलाई कोरोना भाइरस केही होइन, भइहाले पचाइन्छ भन्ने लाग्यो । यही बीचमा जसले कोरोनासँग प्रत्यक्ष जम्काभेट भएर संघर्ष गरे उनैलाइ मात्रै त्यसको पीडा कस्तो हुन्छ अनुभूति छ । अन्य केहीलाई कोरोना केही होइन भन्ने परेको छ ।

पछिल्लो कोरोना भाइरस संक्रमण डडेलो लागेजस्तै भएको छ । मान्छे सामाजिक सञ्जालमा पोस्ट हुने हरेक नयाँ तस्बिरबाट झस्किन थालेका छन् । लाग्न थालेको छ कोरोनाले हामीलाई यसरी दपेटेको छ कि, सोच्नै सकिन्न । पहिला कोरोना लाग्नु उपचार गरेर स्वस्थ्य हुनु सामान्यजस्तै भएको थियो । अहिले मान्छेमा त्रास बढ्नुको प्रमुख कारण हो बढदो मृत्युदर र उपचारमा देखिएको अस्तव्यतता । कोरोना संक्रमितको आफन्तले अक्सिजन र बेड नपाएका कारण मत्युवरण गरेको हृदयविदारक भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका हेर्दा आङ नै सिरिंङ हुन्छ ।

कोरोनाकै बारेमा अनुभव सुनाउने हो भने, अस्पताल जान नपरे हुन्थ्यो । अस्पतालमा छटपटाएर मर्नुभन्दा घरमा नै मरौँला भन्ने मानसिकता धेरैमा देखिएको छ । यो लेखिरहँदा मैले र मेरो परिवारले पनि त्यसबाट अछुतो हुन परेन । वैशाखको रुखोपनसँगै नेपालमा कोरोना त्रास बढ्यो । चैतको अन्तिम हप्ता तराई बसेर काठमाडौं आएपछि कोरोना त्रास अलि बढेको थियो । तराईमा रहँदा सकेसम्म सजग भएर हिँडडुल गरिएको थियो । काठमाडौं आएपछि अझै सचेत हुँदै भेटघाट भए । आफूभन्दा परिवारमा चिन्ता थियो । पतिको दीर्घ रोग, आफू थाइराइडको बिरामी भएका कारण पनि सजग रहनु आवश्यक थियो ।

एकाएक भारतमा बढेको कोरोनाको लहर र त्यसबाट भएका मानवीय क्षतिका दृश्यहरू देखिन थाले । मान्छेले अनुभूत नगर्दा र नदेख्दासम्म हरेक चिजलाई सामान्य रूपमा लिन्छ । जब आफ्नै नजिक मान्छेले छट्पटाउँदै जीवन लीला समाप्त पार्न बाध्य भएका दृश्यहरू देखिन थाल्छ अनि मन काँप्दोरहेछ । वैशाखको दोस्रो हप्ता सुरु हुँदा पतिलाई ज्वरो आयो । घरमै रहेर सिटामोल प्रयोग गर्दै ज्वरो नाप्न थालियो । ज्वरोले सय नाघ्यो, परिवारका तीन सदस्य अलगअलग बस्ने शौचालयमा सेनिटाइजर प्रयोग गर्ने र जाने र बुझेसम्मका घरेलु औषधि प्रयोग गर्दै सचेत हुने काम गरियो । तैपनि कताकता मनको कुनमा त्रासले भने बेलाबेलामा झस्काउँथ्यो । कल्पना नै नगरिएका मानवीय क्षति र संक्रमणको बढोत्तरीले हामीलाई पनि त्रसित नबनाएको होइन ।

पतिलाई बिस्तारै खान रुची कम हुँदै थियो । ज्वरोले छोरालाई आक्रमण ग¥यो । सबैमा खोकी लाग्ने छाती दुखेको महसुस हुँदै गर्दा औषधि र सचेत बढी नै भइयो । यही बीचमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलसँग नगरपालिकाले बनाएको आइसोलेसनका बारेमा बुझ्दा उहाँले नगरपालिकाको जनस्वास्थ्य अधिकृतको नम्बर दिनुभयो । जनस्वास्थ्य अधिकृतसँगको परामर्शमा घरमा नै सुरक्षित बस्ने गाह्रो भएमा भन्नुहोला भनेपछि केही राहत मिल्यो । हाम्रो सबै समस्या सुनेपछि उहाँले भन्नुभयो, ‘अब तपाईंहरूले पिसिआर गर्नु पर्दैन तपाईंहरूलाई संक्रमण भएको भए पनि अहिले स्वस्थ्य भइसक्नुभयो ।’ उहाँले त्यसो भनिरहँदा पनि हामी केही दिन सुरक्षित बस्यौँ ।

हाम्रो जस्तै भोगाइ ६० प्रतिशतभन्दा बढी मान्छेको रहेछ । मैले चिनेजानेको धेरै मान्छेसँग फोन र सामाजिक सञ्जालमा कुरा भए । कतिले पिसिआर गराइ पोजेटिभ देखिएर पनि चुपचाप होम आइसोलेसन बसेको कतिले शंका लागेर पनि पिसिआर नगराई होम आइसोलेसन बसेको सुनाउनुभयो । अरू बेलाजस्तो रुघाखोकी जसलाई लाग्यो उनले सरकारले भनेजस्तै बेसार पानीको भरमा घरबाटै कोरोना भगाउनुभयो । जसलाई निकै कष्ठ भयो अस्पताल गएर पाए सेवा लिनु भयो नपाए छटपटाएर कोरोनासँग हार्नुभयो । अहिलेको अवस्था यही हो ।

तर, जे भए पनि शारीरिक अवस्था भने निकै कमजोर बनाउँदोरहेछ । पोजेटिभ प्रमाणित भएका साथीहरूसँग कुरा गर्दा उहाँहरूले सुनाउनुहुन्थ्यो, ‘कर्कलोजस्तै गलेको छ शरीर । आफ्नो र अरूको छुट्याउनै नसकिने भएको छ ।’ अघिल्लोपटक पोजेटिभ देखिनुभएकोे एमाले केन्द्रीय सदस्य सावित्रा भुसालले वैशाखको पहिलो हप्ता सुनाउनुभयो, ‘सचेत रहनु है मेरो त अहिले पनि जिउ फतक्क गल्छ हिँडन गाह्रो हुन्छ ।’ यस्तै होम आइसोलेसनमा बसेर कोरोना जित्नुभएको एमालेका अर्का केन्द्रीय सदस्य दिलु पन्तले शारीरिक बल निकै कमजोर हुने अनुभव सुनाउनुभयो । कोरोना शरीरबाट निष्कृय भए पनि त्यसले आफ्नो छाप भने छोड्दो रहेछ । मलाई र मेरो परिवारलाई पोजेटिभ वा नेगेटिभ के हो परीक्षण गराएनौँ, त्यसैले यसै भन्न सकिन्न । पोजेटिभ भएकाका अनुभव र चिकित्सकले समाजिक सञ्जालमा दिएका सुझावका आधारमा हामीले पनि कोरोना भोगेनौँ भन्न सकिन्न । तर, कताकता त्यसको असर परेको अनुभूति भने अहिले पनि हुन्छ । उहाँहरूले सुनाए जस्तै, ‘शरीर अहिले पनि फतक्क गलेका छ ।’

अरूको अनुभव र चित्सिकको भनाइमा हामीले कोरोना भोगेको हुनपर्छ । यो बीचमा बिहे भोज, निम्ता मान्न कहीँ गइनँ । एकान्त बसेर आफूलाई स्वस्थ्य बनाउन पर्छ भन्ने सोचियो । धेरै साथीहरूले संक्रमण भएर पनि सार्वजनिक नगरी होम आइसोलेसनमा बस्नुभएको रहेछ । यसलाई प्रपोकाण्ड बनाउनुभन्दा आफू सुरक्षित रहने र अरूलाई पनि सुरक्षित राख्नु उचित हो । त्यसमा सबैले सोच्नुपर्ने बेला भएको छ । हामी सबै एउटा दुःखद् युद्ध लडिरहेका छौँ जस्तै लाग्छ । मनमा डर, शरीरमा आलस्यता, समाजमा फैलिएको डरलाग्दो संक्रमणले आफूलाई पनि मृत्युको नजिक पुगेको बेला ठानिँदो रहेछ । मान्छेलाई मृत्युसँग डर त लाग्दो रहेछ नि ! कुनै बेला बन्दुकको नालको अघि उभिएर लड्न तयार हुँदा न डराएको शरीर यति बेला डराउँदो रहेछ । किनकी क्रान्ति र महामारी फरक कुरा हो । क्रान्तिमा जोस, आक्रोश, बलिदानी र उद्देश्य हुन्छ । महामारीमा केवल मुत्यु सिवाय केही हुँदैन ।

यो हाम्रो मात्रै भोगाइ होइन, धेरैले सुनाउँछन् । कोरोनाले हाम्रो नाडी छामेर गइसकेकै हो । यतिसम्म त ठिकै छ, नाडी छामेर जानु दुई÷चार दिन भोक हराउनु, खानाको स्वाद नपाउनु, हल्का ज्वरो आउनु, खोकी लाग्नु । तर, मान्छेको जीवन लीला नै समाप्त पार्ने गरी किन आइस कोरोना ? एकातिर रोगले मान्छे गलाएको छ अर्कोतर्फ त्रासले सताएको छ । ंआखिर हामी मानव जातिलाई कहिलेसम्म हो यसले सताउने ? कसैले जवाफ दिन सक्ने अवस्था छैन ।

नागरिक यतिबेला मुलुकमा सरकार छ कि छैन प्रश्न गर्न थालेका छन् । हो मलाई पनि त्यस्तै लागिरहेको छ । आफैँ घरमा थुनिँदाका सुरुका दिनमा केही भए अस्पताल छ, चिनेजानेका साथी सहयोगी छन्, भन्ने दम्भ थियो । बिस्तारै त्यो दम्भ सेलाएर गयो । जब संसदहरू निरीह भएर आफन्त आइसियु र अक्सिजन नपाएर ज्यान गुमाएका दुःखेसोहरू सामाजिक सञ्जालमा पोख्न थाल्यो अनि त्रास अझै मडारिन थाल्यो । नजिकका चिनेका साथीहरू गुमाएका समाचार नचाहँदा नचाहँदै सुन्न प¥यो । न आफन्त र साथीभाइको मृत्युमा दुःख साट्न सहभागी हुन पाइएको छ न मृत्युसँग जुधिरहेका साथीलाई सान्त्वना दिन पाएको छ । घरको चार दिवारभित्र थुनिएर बस्दा पनि मृत्युसँग जुधिरहेको अनुभूतले डराइ रहनुपरेको छ ।

प्रतिक्रिया