एन्ड्रिया बनिन् मिस युनिभर्स

न्युयोर्क । मेक्सिकोकी २६ वर्षीया एन्ड्रिया मेजाले ७३ देशका सुन्दरीलाई पछि पार्दै २०२० को मिस युनिभर्सको उपाधि हात पारेकी छन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा उनलाई पूर्वमिस युनिभर्स जोजिबिनी टुन्जीले ताज पहि¥याइदिएकी हुन् । सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी एन्ड्रियालाई ‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्न साधिएको थियो । त्यस उत्कृष्ट जवाफ दिएको भन्दै उनलाई उपाधि प्रदान गरिएको हो । प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट रनरअप र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका छन् । यस प्रतियोगितामा नेपालबाट अंशिका शर्माले भाग लिएकी थिइन् । तर, उनी उत्कृष्ट २१ मा पनि पर्न सकिनन् ।

मिस युनिभर्स एन्ड्रियाको जन्म मेक्सिकोको चिहुवाहुवा सहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् । एन्ड्रिया मोडलका साथै सफ्टवेयर इन्जिनियर पनि हुन् । उनले सन् २०१७ मा चिहुवाहुवाबाट सफ्टवेयर इन्जिनियरमा ग्राजुएट गरेकी थिइन् । यस्तै, उनी लैंगिक हिंसाको विषयमा सक्रिय छन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को उपाधि जितेकी थिइन् । यस्तै उनी मिस मेक्सिको २०१७ समेत बनिसकेकी छन् । उनले सन् २०१७ को विश्वसुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाउन सफल भएकी थिइन् ।

प्रतिक्रिया