समन्वयको अभावमा उपचारमा समस्या

सर्लाही । कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरूले थप चासोका साथ व्यावस्थापकीय काम सुरु गरेका छन् । भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरूले कोरोना संक्रमण समुदायस्तरमा नफैलियोस् भनेर उच्च सतर्कताका साथ व्यवस्थापकीय काम सुरु गरेका हुन् ।

लालबन्दी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना संक्रमितका लागि उपचारका गर्न भन्दै अक्सिजनसहितका ३० वटा शय्या तयारी अवस्थामा राखिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले पिसिआर परीक्षणका लागि स्वाब संकलन, आरडिटीबाट परीक्षण, रुघाखोकी, ज्वरोको उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

चौबिसै घण्टा स्वास्थ्य सेवा प्रवाह गरिरहेको यस स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा पिपिई, मास्क, स्यानिटाइजर, फेस सिल्ड र पञ्जाका साथै आवश्यक मात्रामा औषधिको अभाव रहेको चिकित्सकहरूले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना चिकित्सकसहित १४÷१५ जना कर्मचारी कार्यरत छन् । केन्द्रबाट आकस्मिक सेवा, गर्भपतन सेवा, बहिरङ सेवा, अल्ट्रासाउन्ड, भिडियो एक्सरे, इसिजी र टिबी रोगको विशेष परीक्षण प्रयोगशालासमेत सञ्चालनमा रहेको छ ।

स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख डा.प्रगति रानाले लालबन्दीमा कोरोना संक्रमितहरूको उपचारसमेत भइरहेको अवस्थामा अक्सिजनसहितका अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको अभावका कारण सेवा प्रवाहमा समस्या आएको बताइन् । मागफारम भरेर नगरपालिकालाई बुझाएको भए पनि आवश्यक मात्रामा स्वास्थ्य सामग्री र औषधिहरू पाउन नसकेको उनको भनाइ छ । यता सो केन्द्रबाट कुनै माग भइ नआएकाले औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया