अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रिया : अनियमितता भएको भन्दै छानविन समिति गठन

सल्यान । सल्यान अस्पतालमा अक्सिजन प्लान्ट खरिद गर्ने भनेर टेण्डर आह्वान गरेको चार महिनापछि अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । अक्सिजन प्लान्टका ठाउँमा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर अनियमितता गर्न खोजेको भन्दै उजुरी परेपछि घटनाको पर्दाफास भएको छ । गएको पुस १३ गते एक राष्ट्रिय पत्रिकामा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गर्ने भन्दै टेन्डर आह्वान गरिएको थियो । जिल्लामा कोरोना संक्रमणले महामारीको रूप लिएकै समयमा स्वास्थ्य कार्यालय सल्यानले नै अक्सिजन प्लान्ट भनेर प्रतिमिनेट ४० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर शनिबार मात्रै जडान गरी उद्घाटन गरेको थियो ।

तर, सल्यान अस्पतालमा शनिबार जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरमा अनियमितता भएको भन्दै छानविन समिति गठन गरिएको छ । स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन प्लान्ट भनेर झुक्याएर अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा लिखित उजुरी परेको थियो ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले अनियमता भएको सम्बन्धमा छानविन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा शारदा नगरपालिकाको स्वास्थ्यप्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको तीन सदस्य छानविन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

छानविनका क्रममा दोषी पाइएमा जो कोहीलाई पनि कानुनी दायराभित्र ल्याइने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले छानविन नहँुदा सम्मका लागि भुक्तानी रोक्का गरिएको र कम्पनीले नै बदमासी गरेको पाइएमा कम्पनीलाई कालोसूचीमा राखिने प्रमुख जिल्ला अधिकारी हुमागाईंले जानकारी दिइन् ।

यता स्वास्थ्य कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले भने अक्सिजन प्लान्ट भनेर गत पुस महिनामा टेन्डर आह्वान गरेको तर कम्पनीले अक्सिजन कन्सन्ट्रेटर पठाएको बताएका छन् । आपूmलाई प्राविधिक विषयमा जानकारी नभएको र टेन्डर अनुसारको सामान नआएकोमा आपूmले पनि आपूर्तिकर्तासँग छलफल गर्ने जानकारी दिए । खरिद समितिका संयोजक तारा रिजालले पनि आपूmहरूले अक्सिजन प्लान्ट नै भनेर टेन्डर आह्वान गरेको तर कम्पनीको बदमासीले अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि मात्रै थाहा पाएको प्रतिक्रिया दिएका छन् । कार्यालयमा बायो इन्जिनियर नभएकोले यस्तो समस्या आएको संयोजक रिजालको भनाइ छ ।

अस्पतालमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर चिनियाँ कम्पनी अलिबाबाको रहेको छ । जेएवाइ–४० मोडलको रहेको र यसको मूल्य २ हजार १ सय डलरदेखि २ हजार ४ सयसम्म रहेको देखिन्छ । जसको नेपाली मूल्य २ लाख ४० हजारदेखि २ लाख ८१ हजार रुपैयाँसम्म पर्ने देखिन्छ ।

सल्यान अस्पतालमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरले प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्छ । यसबाट एकैपटक प्रतिमिनेट पाँच लिटर अक्सिजन दिनुपर्ने आवश्यक भएका आठ जनासम्म बिरामीलाई अक्सिजन दिन मिल्ने अस्पतालका डाक्टर भीमकान्त जैशी बताउँछन् ।
कर्णाली प्रदेश सरकारले अक्सिजन प्लान्ट जडानका लागि ५१ लाख रुपैयाँ अस्पताललाई हस्तान्तरण गरिएको थियो । यसका लागि स्वास्थ्य कार्यालय सल्यानले ड्रायोजन मेडिटेक प्रालि सुर्खेतलाई प्लान्ट खरिद गरी जडान गर्नेगरी ठेक्का प्रदान गरेको थियो ।

सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको जानकारी दिइएको थियो । तर, जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर रहेको खुलेपछि छानविनका लागि भन्दै प्रशासन कार्यालयमा उजुरी परेको थियो । उजुरी परेपछि अस्पतालका कर्मचारीहरूलाई प्रशासनले कार्यालयमा उपस्थिति गराएर छलफलसमेत गरेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेको बेला अक्सिजन प्लान्ट जडान भएको भन्दै खुसीभएका स्थानीयहरूले महामारीमा समेत अनियमितता गरेको भन्दै स्वास्थ्य कार्यालयको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया