कोरोना महामारीमा पत्रकारका समस्या सहजीकरण गर्न सिसिटी गठन

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सिसिटी) गठन भएको छ । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सहसंयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा पाँच सदस्यीय सिसिटी गठन गरेको हो । सिसिटीलाई सङ्क्रमित पत्रकारको सूचना सङ्कलन र विवरण एकीकृत गर्ने, सङ्क्रमितलाई परेको समस्या बुझ्ने र समाधानका लागि नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

सिसिटीले कोरोनाका कारण समस्यामा परेका, अस्पतालमा अक्सिजन नपाएर अलमलमा परेका, कार्यक्षेत्रमा तलब नपाएर जीविकोपार्जनमा समस्या भएका, जागिरबाट बिनाकारण निकालिएका पत्रकारको समस्या समाधानमा समेत सहजीकरण गर्ने प्रेस सङ्गठन नेपालका उपाध्यक्ष गोविन्द (सचिन) रोकाले बताए । बैठकमा सङ्गठन नेपालका उपाध्यक्ष कमल गिरीले पत्रकार स्वमंले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्ने बताए । महामारीमा सहयोगका नाममा पैसा उठाएर दुरुपयोग गर्ने प्रवृत्तितर्फ पत्रकारले चनाखो भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्काले सबै मिलेर मात्रै महामारीसँग जुध्न सकिने बताए । प्रतिष्ठान प्रदेशका संयोजक वीरेन्द्र वलीले सिसिटीले पत्रकारको समस्या सहजीकरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने बताउनुभयो । बैठकले पत्रकारलाई सङ्क्रमित बिरामी र बिरामीका आफन्तलाई मनोवैज्ञानिक असर नपर्ने ढङ्गले समाचार सम्प्रेषण गर्ने विषयमा सचेत रहन र सुरक्षाका मापदण्ड अपनाएर पत्रकारिता गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया