चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाइँने

काठमाडौं । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ । पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता थिए ।

चौलागाईँको जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । पढाइमा स्नातकोत्तर गरेका उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनले पटक–पटक गरी ६ महिना बन्दी जीवन बिताएका थिए । विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगाल्नुभएका चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन् । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

प्रतिक्रिया