पार्टीले एक असल र निष्ठावान् नेता गुमायो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् ।

कोरोनाको संक्रमणले मङ्गलबार उनको निधन भएको थियो । उनले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेका छन् ।

‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ’, विज्ञप्तिमा उनले भनेका छन् । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्षसमेत थिए ।

प्रतिक्रिया