जिम्बावेमाथि पाकिस्तानको क्लिनस्विप

कराँची ।  पाकिस्तानले जिम्बावेसँगको दुई टेष्ट सिरिज क्लिनस्विप गरेको छ । दोस्रो टेष्ट खेलमा जिम्बावेलाई १ सय ४७ रनको इनिङ अन्तरले पराजित गर्दै पाकिस्तानले सिरिजमा क्लिनस्विप गरेको हो । फलोअनमा परेको जिम्बावेले दोस्रो इनिङमा चौथो दिन २ सय ३१ रनमा अल आउट भएको थियो ।

जिम्बावेका ल्यूक जोंगवे ७० बलमा ७ चौका सहित ३७ रनमा अविजित छन् । मुर्जाबानीले २४ बल खेल्दै ४ रनमा अविजित रहे । जिम्बावेका विकेटकिपर ब्याट्सम्यान रेगिस चकब्वा १ सय ३७ बलमा १३ चौका र २ छक्का सहित सर्वाधिक ८० रनको योगदान दिए ।

कप्तान ब्रेन्डन टेलरले ३१ बलमा १० चौका सहित ४९ रन बनाए । अन्यले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका स्पिनर नौमान अलीले २१ ओभरमा ३ मेडन सहित ८६ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर शाहिन अफ्रिदीले २० ओभरमा ५ मेडन सहित ५२ रन खर्चेर ५ विकेट लिए ।

पहिलो इनिङमा जिम्बावे १ सय ३२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । सम्रगमा जिम्बावे पहिलो इनिङमा ३ सय ७८ रनले पछि परेपछि पाकिस्तानले पुन ब्याटिङको लागि बोलाएको थियो । जिम्बावेका विकेटकिपर रेगिस चकब्वाले ९२ बलमा ५ चौका सहित सर्वाधिक ३३ रनको योगदान दिए । डोनाल्ड तिरिपानो २३, ल्यूक जोंगवे १९ र रिचर्ड नगारावा १५ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले १३ ओभरमा ४ मेडन सहित २७ रन खर्चेर ५ विकेट लिए । सजिद खानले २ र तबिस खान र शाहिन अफ्रिदीले १–१ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले दोस्रो दिन पहिलो इनिङ १४७।१ ओभरमा ८ विकेटको क्षतिमा ५ सय १० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका ओपनर आबिद अली ४ सय ७ बलमा २९ चौका सहित २ सय १५ रनमा अविजित रहेका थिए । आबिदको यो टेष्ट करिअरको पहिलो दोहोरो शतक हो । आबिद पाकिस्तानबाट जिम्बावेविरुद्ध टेष्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यसअघि पाकिस्तानबाट जिम्बावेविरुद्ध सर्वाधिक रन युनिस खानले २ सय अविजित इनिङ खेलेका थिए ।

दोस्रो दिन आबिद अलि र स्पिनर नौमान अलीले आठौं विकेटका लागि १ सय ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आक्रामक ब्याटिङ गरेका नौमानले १ सय ४ बलमा ९ चौका र ५ छक्का सहित ९७ रनको इनिङ खेलेका थिए । स्टम्पिङ आउट हुँदा आफ्नो करिअरकै पहिलो शतक बनाउन तीन रनले चुकेका थिए ।

त्यसअघि पहिलो दिन अजहर अलीले २ सय ४० बलमा १७ चौका र १ छक्का सहित १ सय २६ रन बनाउँदै क्याच आउट भएका थिए । अजहरको यो टेष्ट करिअरको १८ औं टेष्ट शतक हो । १२ रन जोड्दानै पहिलो विकेट गुमाएको पाकिस्तानलाई दोस्रो विकेटका लागी अजहर र आबिदले २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।

पाकिस्तानको मध्यक्रम ब्याटिङ भने चल्न सकेन । ओपनर इमरान बुट र कप्तान बाबर आजम भने २–२ रनमै क्याच आउट हुन पुगे । फवाद आलमलाई मुर्जाबानीले ५ रनमा बोल्ड आउट गरे । सजिद खान २० र मोहम्मद रिजवान २१ रनमा आउट भए । जिम्बावेका तीव्र गतिका बलर मुर्जाबानीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै टेन्डाई चिसोरोले २, डोनाल्ड तिरीपानो, ल्यूक जोंगवे र रिचर्ड नगारावा १(१ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान १ सय १६ रनको इनिङ अन्तरले विजयी भएको थियो ।

प्रतिक्रिया