नेपाल समूहले ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीमा देखिएको विवाद मिलाउनका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि (सोमबार) बिहान ९ बजेसम्म पर्खिने भएको छ । आइतवार साँझ सिंहदरबारस्थित संसद सचिवालयको हलमा भएको नेपाल पक्षीय करिब २० जना सांसदहरुको बैठकले विवाद समाधानका लागि ओलीलाई भोलि बिहान ९ बजेसम्म पर्खिने भएको हो।

आजै सांसदबाट राजीनामा दिने भन्दै संसद सचिवालयमा जम्मा भएका नेपाल पक्षका सांसदबीच करिब ३ घण्टा लामो बैठक भएको हो। नेपाल पक्षले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुलाई पद छाड्न लगाएर भोलि हुने विश्वासको मतमा ओलीलाई असफल बनाउने योजना लिएको छ। सामूहिक राजीनामा दिन संसद सचिवालय पुगेका माधव नेपालसहितका सांसदहरु अझै एक दिन कुर्न तयार भएका हुन्। ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबारमै माधव नेपाललाई भेट्न गएपछि आज हुने भनिएको राजीनामा गोजीमा हालेर उनीहरु फर्किएका हुन्।

ओली २०७५ जेठ २ मा फर्कने गरी फागुन २८ गतेको निर्णय खारेज भएमा आफूहरुले राजीनामा नदिने नेता योगेश भट्टराईले बताए। उनले आफूहरुले राखेको मागअनुसार ओली प्रतिवद्ध भएमा भोलि नै विश्वासको मतको पक्षमा उभिने पनि जानकारी दिएका छन्। भोलि बिहान ९ बजेसम्म पनि आफूहरुको मागमा ओलीबाट प्रतिवद्धता नआए कठोर निर्णय लिन बाध्य हुने नेता भट्टराईले बताएका छन्। ओलीले पार्टी अध्यक्षको दायित्व पूरा नगरेको आफूहरुको निश्कर्ष रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया